विदेशी भन्नेबित्तिकै सबै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौं: प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
९ वैशाख २०८० १३:४३

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।

शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ।’

प्रधानमन्त्रीले नेपाल सापेक्ष अर्थतन्त्र निर्माण गर्न जोड दिए । उनले भने,  ‘अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल छन् । नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन । हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ । हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो । यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन ।’

उनले संविधान उत्कृष्ट रहेको बताउँदै यसको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘हाम्रो संविधान धेरै प्रगतिशील छ । यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ । यसको अन्तर्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ । प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ । हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु । हामीले खास बहस गर्नुपर्ने र हाम्रो बाटो तय गर्नुपर्ने विषय यहीँनेर छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए । ‘हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने संकल्प गरेका छौँ । तर, हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पूरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहेनत गर्न आवश्यक छ,’ उनले भने । ‘

उनले निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन नसकिँने बताउँदै त्यसका लागि बलियो सहकार्य जरूरी रहेको जिकिर गरे । ‘राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘राज्यले निजी क्षेत्रलाई सम्मान गरेको छ भन्ने नभएसम्म लगानीकर्तामा उत्साह आउँदैन, लगानीको वातावरण पनि बन्दैन । निजी क्षेत्रले पनि इमानदार भएर कर नतिरेसम्म राज्य यस क्षेत्रप्रति सकारात्मक र उदार हुँदैन । हाम्रो कानुन, संरचना र कार्यशैलीबाट अत्तालिएर लगानीकर्ता बाहिरिएका छन् । उद्यमशील युवा पनि प्रक्रियागत झन्झटले उद्यम छोडेर विदेसिएका छन् । यो परिस्थिति हामीले बदल्नैपर्छ ।’

उनले वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील रहेको जनाए । ‘सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक छ । वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील छ । पछिल्लोसमय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन् । सार्वजनिक सेवामा सुधार आएको छ, विदेशमा रहेका लाखौं नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिँदैछन् । विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स बढेको छ । तर ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको छैन । त्यसका निम्ति अझै मेहेनत आवश्यक छ ।’

कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *