बारा दुईमा ८२ मध्ये ६५ मतदान स्थल अति संवेदनशील, १७ सामान्य

डिसी नेपाल
९ वैशाख २०८० २१:१७

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ । बारा क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनको लागि ८२ वटा मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत सरोज चौधरीले बताए ।

‘छ वटा निर्वाचन क्षेत्रको चौवालीस वटा वडाहरुमा उप– निर्वाचन हुँदै छ । जसमध्ये कोहल्वी नगरपालिकाको एउटा वडा,पचरौता नगरपालिकाको नौ वटा वडा,स्वर्णगाउँपालिकाको आठ वडा, देवताल गाउँपालिकाको सात वडा,कलैयामाई गाउँपालिकाको आठ वडा र महागढीमाई नगरपालिकाको एघार वडामा एकलाख पाँच हजार दुई सय अड्चालीस मतदाता रहेका छन् ।’ चौधरीले बताए ।

आइतवार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ बारामा ६५ मतदानस्थल अतिसंवेदनशील र १७ सामान्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन हुने बारा क्षेत्र नम्बर २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।

जसमा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सोझै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

निर्वाचनमा गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको तथा निर्वाचनलाई असर पु¥याउने नियतले हुनसक्ने कुनैपनि शसंकित गतिविधि प्रति कठोर रुपमा सुरक्षा संयन्त्र प्रस्तुत हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा केही उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । उप–निर्वाचनमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन लगत्तै कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणना गरिने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *