पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते

डिसी नेपाल
१० वैशाख २०८० १९:१९
456
Shares

रामपुर (पाल्पा)। पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

बुटवलबाट बाग्लुङको बुर्तिवाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नंको बस आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको हो । चालकसहित ३८ जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । चालक अर्घाखाँचीका ४० वर्षीय तुल्सीराम पाण्डेसहित सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ ।

बस राजमार्गभन्दा करिब एक सय मिटर तल भिरमा खसेर अड्किएको अवस्थामा छ । बायाँतर्फबाट आएको बस दायाँतर्फ भिरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *