सुडानमा ७२ घण्टाको युद्धविराम, अहिलेसम्म ४०० जनाको मृत्यु

डिसी नेपाल
१२ वैशाख २०८० १०:४७
160
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स युद्धविराम गर्न सहमत भएको बताएका छन् ।

सोमबार मध्यरातबाट युद्धविराम गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्धविरामको घोषणा गरेका छन् ।

सेना र र्यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्धविराममा सहमति भएको ब्लिन्केनले बताए ।

सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४०० जनाको मृत्यु भइसकेको छ । गत अप्रिल १५ मा दुवैबीच झडप सुरु भई सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा हिंसा बढेमा यो आगोले सम्पूर्ण क्षेत्रलाई आफ्नो चपेटामा लिने चेतावनी दिएका छन् । यसको ज्वाला बाहिर पनि फैलिनेछ।

द्वन्द्व सुरु हुनेबित्तिकै राजधानी खार्तुमबाट युद्ध प्रभावित क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो। त्यहाँ अहिले खाद्यान्न र पानीको आपूर्ति ह्वात्तै घटेको छ ।

युद्धविरामको घोषणापछि स्थितिमा केही सुधार आउने अपेक्षा गरिएको छ । युद्धका क्रममा खानेपानीको पाइपलगायत महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

खानेपानीको पाइप बिग्रिएपछि जनता नाइल नदीको पानी सिधै पिउन बाध्य छन् ।

युद्धविरामको घोषणापछि यहाँबाट सकुशल निस्किने आशा जनतामा छ । यसअघि धेरै देशले आफ्ना कूटनीतिज्ञ र अन्य कर्मचारीलाई त्यहाँबाट निकालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *