विपद्को पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ

डिसी नेपाल
१२ वैशाख २०८० २२:२५
32
Shares

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताएकी छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘पुनर्लाभबाट उत्थानशीलतासम्म नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणा कार्यान्वयन गर्ने’ सम्बन्धमा मंगलबारदेखि सुरु पहिलो राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्राधिकरणले पूर्वतयारीलाई आत्मसात् गर्दै कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सेवासहितको एकीकृत संरचना जरुरी रहेको र कुनै विपद् आइहालेमा तत्कालै त्यो संरचना परिचालन हुने गरी तयारी गर्नुपर्ने बताइन्। उनले धेरै लगानी गराएर विगतमा गरिएको पुनःनिर्माणका घर मनको घरजस्तो नभएकाले अब हिजोको कार्यशैलीलाई परिवर्तन गर्न जरुरी रहेको बताइन् । कतिपय प्रभावितलाई भुक्तानी दिन नसकिएको उल्लेख गर्दै उनले त्यस समस्याको छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सहरी विकास सचिव सुरेश आचार्यले भूकम्प र बाढीपहिरोका हिसाबले नेपाल उच्च जोखिमा रहेको उल्लेख गर्दै भोलि आउने विपद्लाई सामना गर्नसक्ने गरी तयारी गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अहिलेसम्म भएका प्रगति विवरणसमेत जानकारी गराएका थिए ।

कार्यशालाको उद्घाटन समारोहमा यसअघिको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसपटकको पुनःनिर्माणको काम अन्तर्राष्ट्रिय समुदायसमक्ष पुनःनिर्माणमा नमूनायोग्य काम भएको जिकिर गरे । अझै धेरै काम पूरा हुन बाँकी रहेकाले समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले इन्जिनियरिङ नभएका एवं ढुङ्गा माटाबाट बनेका घर बढी भत्किएको बताए । उनले आर्थिक अभावका कारण कतिपय काम गर्न नसकिएको बताए । भोलिसम्म चल्ने कार्यशालाको विज्ञका २२ वटा प्रस्तुति रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *