निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ: नारायणमान बिजुक्छेँ

डिसी नेपाल
१३ वैशाख २०८० २१:३८
36
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।

आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्रियामा उनले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताएका हुन् ।

बिजुक्छेँले भने, “चिकित्सक तथा नर्सले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्नसके बिरामीको मन जित्न सकिन्छ । चिकित्सक र कर्मचारीले आफ्नो पदीय दायित्वमात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको स्वार्थ भावनाले काम गर्न प्रेरित गर्नुपर्छ ।”

पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने बताउँदै उनले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने औँल्याए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढङ्गले चिकित्सक र कर्मचारीले काम गर्नुपर्ने बताए ।

अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले ख्वप अस्पतालबाट प्रवाहित सेवासुविधा र स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै बिरामी लाभान्वित भएको बताउँदै आगामी दिनमा अस्पतालले थप सुविधा प्रदान गर्दै जानुपर्ने सुझाव दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *