वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी

डिसी नेपाल
२० वैशाख २०८० १२:१३
252
Shares

रामपुर। खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन्।

रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन्। आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर्षको भए। प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिरहेका छन्। कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिएका उनी अहिले भने आर्थिक समस्याका कारण स्वदेशमै खेलबाट भविष्य नदेखेपछि वैदेशिक यात्रा तय गरेका छन्।

“खेल खेल्ने रुचि र इच्छा धेरै भएपनि आर्थिक सङ्कटले भलिबलमा जीवन बिताउन सक्छु भन्ने सपना देखिनँ”, उनले भने,“खेलाडी पैसाले भरिपूर्ण हुँदैन, आफैँले लगानी गर्नुपर्दा यस क्षेत्रलाई छाडेर वैदेशिक रोजगारको सपना बुनेको छु।”

राज्यले स्तर छुट्याएर राम्रो खेलाडी स्वदेशमै टिकाइराख्न भत्ताको व्यवस्था, रोजगारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उनको भनाइ छ। खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ। आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरेको छ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङका २२ वर्षीय देउबहादुर सिंजाली पाँचवर्षदेखि भलिबल खेल खेल्दै आएका छन्। कक्षा १२ सम्मको अध्ययन गरेका उनी खेल क्षेत्रबाट राम्रो गर्छु भन्ने सपना बोकेर सो क्षेत्रमा प्रवेश गरे। खेल खेल्दै जाँदा आर्थिक समस्याका कारण उनीपनि वैदेशिक रोजगारमा जाने तयारीमा छन्। प्रतियोगिता हुँदामात्रै खेल खेलाइने भएकाले अन्य समय खाली बस्नुपर्दा आर्थिक उपाजर्नमा समस्या परिरहेको उनको गुनासो छ ।

बाहिर प्रतिस्पर्धामा जाँदा खाने, बस्नेलगायतका क्षेत्रमा आफैँले लगानी गर्नुपर्दा खेलाडीलाई समस्या परेको तिनाउँ गाउँपालिका–५ बिस्कुनडाँडाका १७ वर्षीय रेशम विक बताउँछन्। उनी भविष्यमा खेलबाट पहिचान दिन भलिबलमा आकर्षित छन्। कक्षा ११ मा दमकडा माध्यमिक विद्यालयमा व्यवस्थापन समूहमा अध्ययनरत विकले अहिले पढाइसँगै खेललाई अगाडि बढाएका छन्। तीनवर्षदेखि विभिन्न जिल्ला तथा प्रदेशस्तरीय खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा राज्यले सहयोग गरी खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाइदिएमा यसैबाट राम्रो खेलाडी बनेर चिनिने उनको सोच छ।

खेलाडीलाई संरक्षण र रोजगार दिन सकियो भने खेलाडीले नेपालमा बसेर खेल उत्पादन गर्ने प्रक्रियालाई अझ बढावा दिनेछन्, राज्यले खेलाडीको संरक्षण गर्न नसकेको बताउँछन्, राष्ट्रिय भलिबल रेफ्री तथा प्रशिक्षक अनन्त श्रेष्ठ। उमेर हुँदासम्म खेल खेल्ने र खेल खेल्ने उमेर सकिएपछि घरपरिवारको गुजारा चलाउन राम्रो सम्भावना बोकेका खेलाडी विदेशतिर खेलाडी जान बाध्य रहेको श्रेष्ठले बताए।

उनी २०५२ देखि २०६५ सालसम्म निरन्तर भलिबल खेलमार्फत स्थानीय, जिल्ला हुँदै राष्ट्रियस्तरसम्मको खेलमा प्रतिस्पर्धामा पुगे। भलिबल खेल खेल्ने क्रममा धेरै अनुभव बटुलेका उनी हाल भलिवल रेफ्री तथा प्रशिक्षकको काम गर्दै आएका छन्।

“खेलको लागि राम्रो सम्भावना बोकेका खेलाडी उत्पादन छन्, तिनलाई जिल्लाले संवद्र्धन र संरक्षण गर्नुपर्ने हो, प्रदेशमा पुगेका खेलाडीलाई पहिचान हुने गरी एउटा रोजगारीको भूमिका निभाएर संरक्षण गरेर राख्नुपर्ने थियो”, उनले भने,“राज्यले पनि अन्तर्राष्ट्रियस्तरमा खेल खेलिसकेका खेलाडीलाई नेपालमै राखेर स्वदेशको खेलकुदको विकासका लागि गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन।”

राज्यले कुनैपनि समस्या समाधानका लागि योजना बनाएर खेल क्षेत्रका विकास गर्ने हो भने ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा पूरा हुनेछ। राज्यले खेल्नुपर्ने भूमिका सहज ढंगले खेलिदिएको खण्डमा विदेश पलायन हुने दर घट्नेछ। स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म जतिपनि खेलाडी उत्पादन हुन्छन् ती खेलाडीको रोजगारको तरिकाले जुनसुकै माध्यमले संरक्षण गर्न सकियो खेलकुद क्षेत्रको विकास हुनेछ। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *