किसानले बारी जोत्न ट्र्याक्टर छाडेर गोरुकै प्रयोग गर्दै
फाइल फोटो
सिन्धुपाल्चोक। परम्परागत कृषि कर्ममा अभिन्न अंग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ ।
तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।
बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसनालाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमख बस्नेतले जानकारी दिए। उनले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको बताए।
भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग ट्र्याक्टरले नखन्ने र मर्मत गरिरहुनपर्ने, तेल प्रयोगका कारण महङ्गो हुने जस्ता समस्याका कारण आफूहरुले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउँछन्। केही समय ट्र्याक्टरको प्रयोग गरेको र ट्र्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उनको भनाइ छ ।
राम्चेका किसान अटलबहादुर तामाङले भने ट्र्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउँछन्। गोरुले जोते जस्तै ट्र्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उनको अनुभव छ । ट्र्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उनी बताउँछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment