साहित्य

कथा : टुप्पी

खेमराज पोखरेल
२३ वैशाख २०८० ७:०५

सोच्दथेँ मेरो जीवनमा किन विपर्यास मात्र? त्यसैले म भट्टी धाउन थालेको थिएँ। यसै क्रममा भट्टीवाली साहुनीसँग मेरो माया बस्यो। साहुनी मलाई देखेर गुलाफझैँ फक्रिन्थिन्। मिठो र मायालु बोल्न थाल्थिन्। मेरो मन उरालिन्थ्यो।

हो, त्यो भट्टीमा मेरो साथी तामाङजीले पुर्याउनु भएको थियो मलाई। त्यो दिन हामी मस्त मातिएका थियौँ। साँच्चि भनेको त्यही बेला पहिलो पल्ट साहुनीलाई देखेको थिएँ। निकै राम्री देखिन्थिन्।

उमेर त्यस्तै ४०/४५ की होलिन् हौ। सोह्र शृङ्गारसहित मिजासिली भएर बसेकी थिइन्। स्वप्न सुन्दरी जस्तै उनको अनुहार, कमरको लचक तथा आँखानाकको इसारा ज्यादै मनमोहक थियो। सारी र ब्लाउजको बीचमा देखिने श्वेत नाइटो भागले आँखा नतानी छोड्दैन थियो।

त्योभन्दा मजाको कुरा त उनको ब्लाउज थियो। त्यो ब्लाउज विशेष खुला हुन्थ्यो। सारीको सप्कोले छोपेकी हुन्थिन्। तर त्यो सप्को घरीघरी झरिहाल्थ्यो। सारीको सप्को मिलाउन यसो निहुरिएको बेला देखिने शिखरीय दृश्यले लोग्नेमान्छे हुरुक्क भइ हाल्थे र ठाउँका ठाउँ रक्सी थप्थे र ढल्थे।

तामाङजी जुरुक्क उठेर साहुनीनजिक पुगेका थिए र साहुनीको गालामा हल्का चिमोटेर भनेका थिए, ‘यो साहुनी अहिले त यस्ती, बैँसमा कस्ती थिइन् होला हौँ?’  साहुनीले मसक्क मस्केर भनेकी थिइन्, ‘तामाङ माट्साबको हुतीसुती सबै जाँडले खाइसक्यो। तर मन भने अझै उर्लँदो छ है।’

मलाई पनि त्यो साहुनीका गालामा हल्का चिमोटिदिऊँ भन्ने नलागेको होइन। साहुनीका गोरा गालामा एक पल्ट म्वाइँ खाइदिऊँझैँ पनि लागेकै थियो। तर म सतर्क भएको थिएँ। हुन्थेँ। यो उमेरमा पनि साहुनी किन यस्तीविधि पट्ठी देखिएकी भन्ने लाग्न थालेको थियो।

हेर्दाहेर्दै उसको लोग्ने भने झुम्रे देख्न थालेको थिएँ र उसको लोग्नेले उसलाई सन्तुष्ट पार्न सक्दैन भन्ने निष्कर्ष पनि आफैँले निकालेको थिएँ। साहुनीलाई लिएर नगरकोट जानेसम्म सोच्न थालेको थिएँ। हुँदाहुँदा भगाएर बिहे नै गर्न पाए पनि हुन्थ्यो भन्ने तर्कना गर्न थालेको थिएँ।

तपार्इँ सायद त्यो भट्टीमा पुग्नु भएको छैन होला। किनकि तपाईँ भट्टीमा गएर मन लाग्दी पिउने क्याटोगरीको मान्छे होइन। तर पनि यदि तपाईँलाई कुनै दिन सुटुक्क त्यो भट्टीमा जान मन लाग्यो भने महाराजगञ्जको नारायण गोपाल चोकभन्दा पूर्वउत्तरको गल्छिँडोबाट छिर्नुस्।

त्यो बेला हाम्रो बिहे भएको ६ महिना पनि बितेको थिएन। दिल्लीमा एकाएक हिन्दुमुसलमान दङ्गा उठेको थियो। मेरा श्रीमान् हिन्दु भएकै कारणले अफिसअगाडिबाट समातिनु भयो। उहाँको कसैसँग वैरभाव थिएन। भगवान्को अनुकम्पा। उनीहरूले मेरा श्रीमान्को ज्यान त लिएनन्। तर हिन्दु उत्पादन गर्न नसकून भनेर तल्लो टुप्पी चाहिँ काटी दिए।

अलिकति भित्र पसेपछि दुईटा सटरको दोकान आउँछ। एउटा बन्द सटरमा मयुर सिमेन्टको विज्ञापन देख्नुहुन्छ। अर्को खुला सटरमा नीलो पर्दा लगाइएको हुन्छ। त्यो पारदर्शी नीलो पर्दालाई पन्छाउँदै भित्र पस्नुस्। त्यो भट्टी हो।

भट्टीभित्र एउटा पूरै संसार हुन्छ। हुन ता त्यो संसार पनि ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ जस्तै हो। त्यो भट्टीमा मान्छे हाँसेर पिउँछन्। सांसारिक पीडाले कराउँछन्। जमेको भडाँस उकेल्छन्। रकम तिर्छन्। रित्तिन्छन् र भोलि आउने वाचाका साथ बाहिरिन्छन्।

भट्टीभित्र कुनै विभेद थिएन। त्यो चार वर्ण छत्तीस जातको साझा फूलबारी थियो। तर बाहिर सडकमा गञ्जागोल थियो। सरकारले साम्प्रदायिक दङ्गा हुनसक्ने विषयमा सचेत रहन सूचना जारी गरेको थियो। किनभने नेपालका एक सय पच्चीस सम्प्रदाय नै आफ्नो नाउँको राज्य खोज्दै थिए।

सम्प्रदाय/सम्प्रदाय आफैँमा जुधिरहेका थिए। साम्प्रदायिक समूहले ननभेज आन्दोलन गर्ने घोषणा गरेका थिए। सुरक्षित रहनु जरुरी थियो। त्यसैले म त्यो दिन सूर्य अस्ताउनुभन्दा पहिले नै पुगेको थिएँ भट्टीमा।

सधैँझैँ साहुनी काउन्टरमा थिइन्। मलाई देख्नेबित्तिकै साहुनीले आफ्ना श्रीमान्लाई अह्राइन्, ‘बाबुसाहेब हाम्रो सधैँ आउने ग्राहक। के सोध्नुपर्छ र? एक क्वार्टर एन्टिक्युटी, खसीको सेकुवा, चिकेन चिली, सलाद र भटमास ल्याइदिनुस् न।’

खोइ किन हो मलाई साहुनीले विशेष चासो गर्दै थिइन्। याने कि स्वास्नीले जस्तो हेरचाह गर्दै थिइन्। साहुनी कस्तो गरी मलाई लोभ लाग्दो तरिकाले हेरिरहेकी थिइन्। उनलाई म पनि गौर गरेर हेरिरहेको थिएँ।

तामाङजीले पहिले नै मलाई बताउनु भएको थियो, ‘होस् गर्नुस् है बाबुसाहेब। भट्टीका नखरमाउली साहुनीले त तपार्इँको बुच्चो छिनाइदिन्छन् नि। म पो बोलेको भरमा जग्गा भिडाएर मान्छेलाई मुर्गा बनाउँछु र दसबीस हजारको केही फरक पर्दैन। तर तपाईँ त वेतनजीवी।’

साहुनीले काउन्टरसँगै जोडिएको एउटा सानो एकजना मात्र बस्ने कुर्सीटेबुलमा मलाई राखिन्। आज किन हो किन जति सतर्क भए पनि म ती साहुनीप्रति मोहित भइरहेको छ। भट्टीभरि कल्याङमल्याङ छ। म भने मातेको भए पनि शान्त छु। खोइ किन हो साहुनीले मलाई सोधिन्, ‘तपाईँ पहिलोपल्ट तामाङ माट्साबसँग आउनुभएको थियो हगि।

मैले छोटो उत्तर दिएँ, ‘हो।’

फेरि साहुनी बोलिन्, ‘त्यो तामाङ माट्साब राम्रो मान्छे हो। तर मातेको बेलाचैँ अग्घोरै गर्छ। सधैँ एकपल्ट मेरो गाला चिमोटेरै ‘के गर्ने बाहुनी, आच्या साहुनी। उहिले भेट भएन अब त जिन्दगीको नेटो कटिसक्यो’ भन्नुहुन्छ। तर नमातेको बेला त तामाङ माटसाब गाईप्राणी।’

म केही बोलिनँ। बरु उनै बोलिन्, ‘बाबुसाहेब, छोराछोरी कति छन्?’
‘एक छोरा, एक छोरी।

‘कत्रा कत्रा?’

मैले पनि छोटो उत्तर दिएँ, ’छोरो पाहोर साल नै अमेरिकातिर पढ्न भनेर हिँड्यो। छोरी जेठी हो। बिहेदान भइसक्यो। आफ्नै घरमा छे।’
साहुनी बोल्न खोज्दै थिइन्।

यत्तिकैमा एउटा समूह भट्टीभित्र पस्यो र साहुनीलाई सोध्यो, ‘म कुखुराको लाटपाटै खान्न है साहुनी। उपाध्याय सेकुवा कर्नरमा खसीको परिकार मात्र पाइन्छ भनेर आएको नि।’

साहुनीले भनिन्, ‘कस्तो कुरा गर्नु हुन्छ हजुर? मान्छेले यो सेकुवा कर्नरमा खसी मात्र पाइने हुनाले यो बेनामे पसलको नामै उपाध्याय सेकुवा कर्नर राखेका छन्। सत्तेसत्ते, खसीबाहेक केही पाइन्न यहाँ। ढुक्क हुनुहोस्। एक दिनको मात्र व्यापार हो र?’

मैले आफ्नो भागमा हेरेँ त्यहाँ चिकेनचिली अझै बाँकी थियो। त्यो बाहुन ग्राहक भित्र पसेपछि साहुनीले मलाई भनिन्, ‘हेर्नुस् त बाबुसाहेब। भट्टीमा आउने। ठर्रा चढाएर जाने। अनि कुखुरा खान्न रे। दोकान मात्र थाप्नु पर्छ। कस्ताकस्ता हरिनासे बेहोरा सिद्धिएका मान्छे झेल्नु पर्छ।’

एक छिनपछि साहुनी शान्त भइन् अनि मलाई सोधिन्, ‘तपाईँकी श्रीमती जागिरे कि, हाउस वाइफ?’

मैले उत्तर दिन पाएकै थिएन। पल्लो कोठाबाट एक जनाले चिच्यायो, ‘ए साहुनी। खोइ यो खसी र कुखुराले त धितै मरेन। बङ्गुरसङ्गुर छैन?’
फेरि पल्लो सुकुले कोठाबाट एउटा मान्छे चिच्यायो, ‘मेरी स्वास्नी रणेसँग सल्केकी छे। कुरा बुझिस्, मेरी स्वास्नी रणेसँग सल्केकी छे। म कस्तो पीडामा छु, तिमीहरू हाँस्छौ साला। ल्या थप।’

म चुप र शान्त थिएँ। साहुनीले नै कुरा कोट्याइन्, ‘अँ त बाबुसाहेब, तपाईँ श्रीमतीको कुरा गर्दै हुनुहुन्थ्यो।’

अनि मैले मुख बाएर ‘मेरी श्रीमती’ मात्र भनेको थिएँ अर्को बेन्चवाला कोठाबाट पनि ठूलो स्वरले बोलेको प्रष्टै सुनियो। ऊ आफ्नै साथीलाई भन्दै थियो-कसैलाई नभन नि यार। तेरो त किलकिले नै छैन। जगवीरेकी स्वास्नीलाई त मैले सतोसत पहिले नै ओछ्यान बनाइ सकेको हो नि। अहिले भन्न पो भएन त।

यसै बेला एक हुल मान्छे पैसा तिर्न काउन्टरमा उभिए। एउटाले सोध्यो, ‘कति भयो?’

साहुनीले नम्र भएर भनिन्, ‘पच्चीस सय तेह्र हजुर।’

ऊ पैसा पनि तिर्दै थियो अनि आफ्ना साथीसँग बात पनि मार्दै थियो। भन्दै थियो, ‘मालको हाकिम खत्तम परेछ। यस्ता हाकिम भएपछि देश बन्दैन बुझिस्।’

उसकै अर्को साथीले जिज्ञाशा राखेको थियो, ‘होइन, तेरो के काम पर्यो माल कार्यालयमा?’

उसले उत्तर दिएथ्यो, ‘त्यो साँध जोडिएको अलिकति पर्तीजग्गा आफ्ना नाममा पार्नु भनेको, सबैतिर मिलाइ सकेँ। मालमा पुगेपछि रोकियो।’

पैसा तिरेर उनीहरू बाहिरिए। अनि साहुनीले मलाई भनिन्, ‘बाबुसाहेब, सुन्नु भयो नि। सरकारी पर्तीजग्गा मालको हाकिमले पास गरिदिएन भनेर ऊ देश नबन्ने ठोकुवा गर्छ। हो यो भने नेपालीको सक्कली बेहोराको मान्छे हो।’

अनि फेरि साहुनी मलाई भन्दै थिइन्, ‘कुरा सक्न नै दिएनन्। अँ त बाबुसाहेब, तपाईँकी श्रीमती….।’
प्रश्न नटुङ्गिई मैले भने, ‘मेरी श्रीमती परार साल क्यान्सरले बितिन्।’

साहुनीको अनुहारमा एकाएक विषादका रेखाहरू देखिए। उनको अनुहार हेर्दा लाग्दथ्यो कि उनी मभन्दा बढी दुखी भएकी छिन्। उनी मलाई सान्त्वनाका दुईचार शब्द भन्न खोज्दै थिइन्।

एउटा वयस्क मान्छे, सायद ऊ व्यापारी थियो, साहुजीलाई खुसुक्क भन्दै थियो, ‘साहुजी, यत्रो ठूलो घर छ, एकादुई कोठामा मालको पनि व्यवस्था गर्नु पर्‍याे भन्या।’

साहुजीे केही बोलेकै थिएनन्। साहुनीले सुनिहालिन् र भनिन्, ‘जड्याहा मोरा भोलि आइज, तेरै स्वास्नीलाई माल बनाएर राखिदिन्छु। हुन्छ?’

त्यो मान्छे भन्दै थियो, ‘कस्तो कलजिब्रे बिखालु बोली भएकी आइमाई हौ तपाईँ त साहुनी।’

त्यो मान्छे पैसा बुझाएर हिँडिसकेको थियो। साहुनी मलाई दुईचार सहानुभूति दिने मुडमा थिइन्। तत्काल अर्को कोठाको टेबुलकुर्सीबाट आवाज आयो, ‘भो त्यो मन्त्रीको कुरा नगर। त्यो मन्त्रीकी स्वास्नी गार्डसँग सल्केकी छे। के गर्ने आँखैले देखे पनि भन्न नहुने। जागिरको सवाल छ। ड्राइभर भएपछि आफैँले पुर्‍याइदिनु पर्छ।’

म भने एक शब्द बोलको थिइनँ। अनि साहुनीले भनिन्, ‘के गर्ने? हेर्नु त यी मान्छेको ताल? कस्ता कस्ता मान्छे हुन्छन् यो पृथ्वीमा? छिचरा मोरासँग पनि सङ्गत नगरी यो दोकान चल्दैन।’

म वातावरणलाई अर्कैतिर मोड्न चाहन्थेँ। त्यसैले भनेँ, ‘तामाङ माट्साबसँग भेट नभएको पनि धेरै भयो।’

साहुनीले मपट्टि हेरेर भनिन, ‘तामाङ माट्साब कहिलेकाहिँ आउनु हुन्छ। म उहाँसँग तपाईँको बारेमा सोधिरहन्छु। माट्साब भन्दै हुनुहुन्थ्यो कि तपाईँ निकै असल मान्छे हो रे। मेरा अनुभवी आँखाले पनि भन्छन् कि तपाईँ असल र भलाद्मी मान्छे हो। नत्र त यहाँ छिरेर एक सुरुप पारेका हुँदैनन्, छिल्लिएर खपि नसक्नु हुन्छ मान्छे। तपाईँ त स्थीर र शान्त।’

म चुप थिएँ। फेरि साहुनी भन्न थालिन्, ‘दैवको लीला। श्रीमती गुमाएका विधुरलाई जीवन बाँच्न एकदमै गाह्रो हुन्छ भन्छन्। लोग्ने मरेका श्रीमतीहरू त येनकेन एडजस्ट भइहाल्छन्। तर लोग्नेमान्छे चाहिँ काँतर हुँदो रहेछ बाबै। मैले मेरो बाघजस्तो मामालाई देखेको। माइजू बितेपछि त मामाको विजोग भयो।’

मैले भनेँ, ‘यसरी भट्टीमा बसेर टन्न पिउने मान्छे पनि असल हुन्छ र साहुनी ?’

साहुनी त झन् फरासिली देखिइन् र भनिन्, ‘को पिउँदैन र? यहाँ त मन्त्रीदेखि कुल्लीसम्म आउँछन्। पिउँछन्। मनभित्रको भडाँस पोख्छन् र घर जान्छन्। एक छिन् नै भए पनि यहाँ आएपछि मान्छे पीडा बिर्सन प्रयत्न भने गर्छ है बाबुसाहेब। मान्छेलाई एक जुनी बाँच्न पनि कति गाह्रो छ भन्ने कुरा यही भट्टीमा थाहा पाइन्छ।’

‘खोइ, हो कि होइन। थाहा छैन साहुनी। तर मेरी श्रीमती गुमेको पीडाचाहिँ यहाँ आए पनि समन भएको छैन मलाई।’ मैले अलि भावुक भएर भनेको थिएँ।

साहुनीले भनेकी थिइन्, ‘हो बाबुसाहेब। श्रीमान्श्रीमती भन्नु त एउटै ज्यान हो नि। अनि कसरी श्रीमती बितेको पीडा समन हुन्छ त? लोग्नेस्वास्नी विछोडको पीडा सबैभन्दा जटिल हुन्छ। के गर्ने यो कुरा संसारको नियमविहीन नियम हो। मर्ने मरेर गएपछि पनि बाँच्नेले बाँच्नै पर्छ। संसार हेरेरै चित्त बुझाउनु पर्छ।’

अनि मैले मातिएकै बेला उनलाई सोधेको थिएँ, ‘साहुनी, तपाईँहरूको घर कहाँ हो?’

‘खोइ घर कहाँ भन्नु र बाबुसाहेब? जहाँ लोग्नेस्वास्नी मिलेर बस्यो त्यहीँ घर। त्यसो त बेतिया रामनगरमा जन्मिएकी हुँ। मेरा श्रीमान्को घर भने सिन्धुली हो रे।’

म आफ्नो सिद्धिनै लागेको प्लेटलाई निखारनिखुर पार्दै थिएँ। तुर्दै थिएँ। अनि मैले साहुनीलाई अलिकति सेन्टिमेन्टल बनाउने मुडमा भनेँ, ‘दुर्भाग्य थियो मेरो। म विधुर भइहालेँ। ४५ वर्षको उमेरमा छु। जीवन असरल्ल छ। काल नआउञ्जेल बाँच्नु नै पर्छ। घर पुगेपछि एकदम शून्यशून्य लाग्छ। जागिर छ। घर छ। काम गरिदिने पनि मान्छे छन्। तर नियति। म त्यसैत्यसै सकिएको छु। सिक्रिएको छु। एक्लो छु।

‘होइन नि बाबुसाहेब। एक्लोदोक्लो भन्नु पनि बुझाइ मात्र हो। मलाई त लाग्छ कि तपाईँ जस्तै शान्त हुन पाए पो जिन्दगीसँग।’ साहुनीले भनिन्।

साहुनी आफ्नो कुरा भन्दै थिइन्, ‘मेरो बिहे हुँदा उहाँको जागिर दिल्लीमा रेल विभागमा थियो। हामी उतै थियौँ। आखिर जसरी पनि एक जुनी बाँच्ने त हो। बुझिस्यो बाबुसाहेब, जो जति उफ्रे पनि एक जुनी बाँच्नेबाहेक कसैले केही लछार्पाटो लाउँदैन नि?’

म के भनूँ भएको थिएँ। फेरि साहुनी नै बोलिन–बाबुसाहेब, यो लोग्नेस्वास्नीको सम्बन्ध पनि विचित्रको हुने रहेछ। एक पल्ट जोडिएपछि जे भए पनि छुट्टिन नसकिने। छुट्टिन नहुने।

अनि मेले भनेँ, ‘अचेल त छुट्टिन्छन् नि पारपाचुके गरेर। मन परेन भने सधैँ त्यहीसँग टाँसिएर पो किन बस्नु पर्छ र?’

उनले भनिन्, ‘आ बाबुसाहेब, ‘बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै’ भन्ने त आहान नै छ। फेरि नि बाबुसाहेब, यो पारपाचुके भनेको पश्चिमा चलन हो। पश्चिमाहरू त अलि चित्त बुझेन भने पनि छुट्टिहाल्छन्। उनीहरू सेक्सका लागि बिहे गर्छन्। तर हामी हिन्दुको कुरा अलग्गै हो नि। हामीले गर्ने बिहे भनेको त प्रणय हो। प्रणय भनेको जीवनभरि मात्र होइन जुनीजुनी एकअर्काप्रति समर्पण हो। विश्वास हो। सेक्स त गौण हो। समर्पणमा पारपाचुकेको स्थान नै हुँदैन। समर्पण भनेको त्याग हो। त्याग भनेको अधिकार होइन। अधिकार र कर्तव्यभन्दा धेरै माथिको कुरा हो समर्पण।’

साहुनीका कुरा सुनेर म अचम्म भइरहेको थिएँ। केही बोलिरहेको थिइनँ। चुप लागेको देखेर उनले भनिन्, ‘अहिले मलाई जुन रूपमा तपाईँले देखिरहनु भएको छ, यो भट्टी नामकोे एउटा खेलामा भूमिका निर्बाह गरेको मात्र त हो नि। पापी पेटको सबाल भएर हो। जिन्दगी त योभन्दा पृथक हुन्छ नि बाबुसाहेब।’

‘हो नि साहुनी यो जिन्दगीमा जति गरे पनि आफ्नो दुःख आफैँले सहनु पर्छ। दुःख मेटेर मेटिने कुरा होइन रहेछ।’ मैले पनि जबाफ दिएँ।

‘अब अर्को बिहे गर्नुस्। जीवनलाई फेरि नयाँ शिराबाट सुरु गर्नुहोस्।’ साहुनीले सुझाब दिएकी थिइन्।

‘बिहे कोसँग गर्नु साहुनी? जसलाई म मन पराउँछु, उसलाई म पाउन सक्दिनँ।’ अलिकति सेन्टिमेन्टल भएर भनेँ।

साहुनी एक छिन चुप लागिन्। यताउता हेरिन्। अनि भनिन्, ‘के गर्ने सबै प्रिय मान्छेलाई माया गर्न त सकिन्छ तर लोग्ने नै बनाउन भने सकिन्न बाबुसाहेब। हुने भए मिल्ने भए म बिहे गर्थेँ तपाईँ जस्तो असल मान्छेसँग।’

मैले आशामुखी भावमा उनीतिर हेरेँ। अनि भनेँ, ‘किन नमिल्ने र?’

साहुनीले एक पल्ट सिलिङतिर हेरिन्। फेरि उदाशीमिश्रित नयनका भावले तलतिर हेरिन् र भनिन्, ‘के गर्ने? मेरो लोग्ने हुनुहुन्छ। लोग्ने मात्र होइन उहाँ। निकै असल र मेरो जिन्दगीको लागि भरपर्दो साथी हुनुहुन्छ। उहाँजस्तो लोग्ने पाउनु मेरो सौभाग्य हो। पूर्व जन्ममा राम्रो काम गरेकी हुनाले मैले उहाँलाई पाएँ। पहिलेपहिले त उहाँ मलाई ‘रूपा, हाम्रा सन्तान नहुने भइहाले। तिमी अर्को बिहे गर। मेरा नाममा किन यो बैँस बेकार बनाउँछौ?’ भन्नुहुन्थ्यो।

साहुनीका कुरा सुनेर म स्तब्ध भएँ। अनि सोधेँ, ‘तपाईँहरूका छोराछोरी छैनन् र?’

साहुनीले उत्तर दिएकी थिइन्, ‘छैनन्। भएनन्। हुँदैनन्।’

मैले अनायासै सोधेको थिएँ, ‘किन? किन भएनन्? यत्रा डाक्टर छन्। देखाउनु भएन?’

यसपछि भने उनी गम्भीर देखिएकी थिइन्। बोलिनन्। मैले पनि फेरि केही कुरा थपिनँ। खाटा बसेको घाउमा किन नुनचुक लाउनु भन्ने सोच आयो।

बाहिर सडकमा साँझ उक्लँदै थियो। चक्रपथमा स्ट्रिट लाइट बलिरहेका थिए। पुलिस निकै सक्रिय थिए। पुलिस मात्र आफ्नो काममा सक्रिय नहुने हो भने अझ के के हुने थियो? यो देशै सकिन्थ्यो। पुलिसको सक्रियता दर्बिलो भए पनि भवितव्यका डरले दोकानहरू बन्द हुँदै थिए। सडकमा साम्प्रदायिक नारा लागिरहेका थिए। नाराको आवाज भट्टीसम्म आइरहेको थियो,

-‘यो राज्य नेवारको हो। नेवारइतर काठमाडौँ छोड्।’ एकथरी नारा लाउँदै थिए।

– ‘यो राज्य हाम्रा पुर्खाले बनाएको हो। तिमीहरूको बपौती होइन।’ नेवारइतर पनि नारा लाउँदै थिए।

दुवैतिरका जुलुसका मान्छेका हातमा लाठी, छुरा, भाला, खुकुरी तथा हतियार थिए। देशैभरि साम्प्रदायिक दङ्गा भडकिएको थियो। कतै हिन्दुमुसलमान दङ्गा थियो। कतै मधिसेपहाडे दङ्गा थियो। कतै खसअखस दङ्गा थियो।

म सोचिरहेको थिएँ। नेता बाउँठिएपछि देशलाई भाउँटो लाग्न कत्ति बेरै लाग्दैन। आधिव्याधिसँग त हरेस खाएको थिएन देशले। देश माने मैले। मैले माने नेपालीले। तर जब साम्प्रदायिकताको दङ्गा हुन थाल्यो मैले आफूलाई निरीह पाएँ।

आफ्नो जातथर र हैसियत आदिले आफ्नो जिन्दगी ‘यता न उता, जाइफलका जुत्ता’ भएको थियो। र पनि खुसी थिएँ। एउटा डुहुरे जागिर छँदै थियो। छोराछोरी दर्घदिशा लागिसकेका थिए। एउटा जुनी बाँच्ने हो। ठीकै छ भनी सोचिरहेको थिएँ। तर उफ, यो साम्प्रदायिक दङ्गा? दङ्गा सम्झेर मुटुफोक्सो खलाँती भएको थियो।

यो दङ्गाले म मात्र होइन, साहुनी झन मर्माहित भएकी थिइन्। लगलग कामिरहेकी थिइन्। सटर बन्द गरिसकिएको थियो। त्यही पनि साहुनीको डर कम भएको थिएन। उनले एकाएक मेरो हातलाई च्याप्प समाइन्। अँगालो हालिन्। उनी मसँग टाँसिएकी थिइन्। त्यो टँसाइले पुरुष महिलाको भेद राखेको थिएन।

उनले एकदम डराएर भनिन्, ‘बाबुसाहेब यो साम्प्रदायिक दंगा देखेपछि मलाई एकदम डर लाग्छ। अब मान्छेको सर्वस्व सकियो भनेझैँ लाग्छ। इन्डियामा त दङ्गा दालभात हो। यिनै आँखाले धेरैवटा दङ्गा देखे। दङ्गामा मारिन कारण चाहिँदैन बाबुसाहेब। अबोध बालबालिका भन्न पाइँदैन। टोलका टोल सफाया हुन्छ। छोरीचेली बलात्कारपछि मारिन्छन्। गर्नुबिराउनु केही पर्दैन। न्यायनिसाफ पाउने हुने त कुरै हुँदैन। त्यही दङ्गाको पिरले ज्यान जोगाउन यहाँ आएका हौँ हामी। फेरि यहाँ पनि दङ्गा सुरु भयो। अब पो के गर्ने होला?

साहुनीले अलि परतिर एउटा टेबुलको कुर्सीमा डराएर चुपचाप बसेका मोहम्मद मियाँ, जगमान डङ्गोल, हरिप्रसाद न्यौपाने, रवि चमार, सुन्दरमान लिम्बुलाई देखाउँदै भनिन्, हेर्नुस् त यी बिचरा मिलका मजदुर हुन्। सबैको एउटै भाग्य एउटै भविष्य। काम नपाएका दिन यिनको हात मुखमा पुग्दैन। यिनको के दोष? तर यिनीहरू अहिले बाहिर निस्किए भने बिनाबित्थामा काटिन्छन्।’

यो बेला म एकदम मुडअफ भएर भनेको थिएँ, ‘नडराउनुहोस्। म छु। फेरि यो सटरभित्र त कोही आउन्न नि। यस्ता दङ्गा भइरहन्छन् नि।’
उनले आत्तिएर भनेकी थिइन्, ‘होइन नि बाबुसाहेब। म त यसको भुक्तभोगी हुँ।’

वातावरण एकदम तनावग्रस्त थियो। उनले कराएर भनिन्, ‘बत्ती निभाइदिनु छिट्टो। नत्र आन्दोलनकारी यता आउन सक्छन्।’

बत्ती निभेपछि साहुनीका वक्षस्थलले मेरो पाखुरामा घर्षण गरिरहेका थिए। उनको श्वास मेरै नाकको प्वालले थाहा पाउँदै थिए। उनले लगाएको अत्तरको सुगन्धले म विभोर हुँदै थिएँ। अलिकति कामुकता पनि चढेको जस्तो भएको थियो। उनको एउटा हातले मलाई अँगालो हालेको थियो। मेरा हातले उनलाई अँगालो हालेको थियो। अनि मेरा गालामा म्वाइँ खाँदै भनिन्, ‘एक पल्टको जुनी हो। कुनै दिन मौका मिलाउँछु, साथ दिनुहोला। म तपाईँसँग वशीभूत भएकी छु।’

म अचम्ममा परेँ। एकातिर भोको थिएँ, अर्कोतिर अर्काकी स्वास्नी। अनि उनलाई सोधेँ, ‘अनि श्रीमान् ???’

उनले जबाफ दिइन्, ‘उहाँको अघोषित मौन स्विकृति छ।’

‘यस्तो कसरी सम्भव हुन्छ?’ मैले सुस्तरी भनेँ।

उनले जबाफ दिइन्, ‘बुझ्नुस् न बाबुसाहेब, सायद तपाईँले बुझिसक्नु भएको छ कि मानव जीवनमा बैँस आउँछ र मैथुन आवश्यक छ। मेरा श्रीमान्लाई पनि मैथुनको अपरिहार्यता थाहा छ, त्यसैले।’

मैले कुराको केही भेउ पाउन सकेको थिइनँ। यत्तिकैमा बाहिर बन्दुक पड्किएको आवाज आयो। अनि मबाट अलिकति छुट्टिँदै साहुनीले भनिन्, ‘म यस्तो साम्प्रदायिक दङ्गाको पीडित हुँ बाबुसाहेब। हाम्रो बिहे हुँदा म १६ वर्षकी थिएँ।

अहिले यही साउनमा ४४ पुगेर ४५ लागेकी छु। त्यो बेला हाम्रो बिहे भएको ६ महिना पनि बितेको थिएन। दिल्लीमा एकाएक हिन्दुमुसलमान दङ्गा उठेको थियो। मेरा श्रीमान् हिन्दु भएकै कारणले अफिसअगाडिबाट समातिनु भयो। उहाँको कसैसँग वैरभाव थिएन। भगवान्को अनुकम्पा। उनीहरूले मेरा श्रीमान्को ज्यान त लिएनन्। तर हिन्दु उत्पादन गर्न नसकून भनेर तल्लो टुप्पी चाहिँ काटी दिए।

 




प्रतिक्रिया

4 thoughts on “कथा : टुप्पी

  1. हार्दिक हार्दिक आभार व्यक्त गर्दछु . यहाँको प्रतिक्रियाले पुलकित भएको छु

  2. खेमसर,नमस्कार….!
    हैन,कसरी लेख्नुहुन्छहौ…यस्ता मीठाकथाहरु..?
    पीडाको कसौंडीबाट पनि पाठकलाई आफ्ना कलमरूपी पन्यौंले नयाँस्वादको मीठास पस्कनसक्नु तपाईंको विशेषताहो।भट्टीको जँड्याहा वातावरणबाट कथाको उठानगरेर दङ्गाले साहुनीको लोग्नेको ‘तल्लोटुप्पी’ काटिदिएको प्रसङ्गबाट कथाको पीडान्तक समापन गरीएको ‘टुप्पी’शीर्षकको यो सार्थक कथा पढेर म आनन्दले अभीभूत भएँ।
    धेरैधेरै बधाईछ सर।

  3. मीठो कथा !
    सरल र मिठास बाताबरणमा यथार्थ परक लेखनशैली !
    कलात्मक शृजनालाई नमन 🙏🌹💕
    बधाई तथा शुभकामना आगामी दिनमा यस्तै भावनाहरु प्रस्फुटित हुँदै गरुन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *