कृषिप्रधान देशको कृषिको दूरावस्था (भाग-१)

कपिल लोहनी
२३ वैशाख २०८० ७:२३

आजभन्दा केही दशक अघिसम्म पनि कैयन् प्रकारका कृषि उपजहरू निर्यात गर्ने हाम्रो कृषिप्रधान मुलुक आज अधिकांश खाद्य वस्तु आयात गर्ने अवस्थामा पुगेको छ।

जबकी राष्ट्रिय जनगणना २०७८ मुताविक नेपालमा १० वर्ष नाघेका व्यक्तिहरूमा करिव ५० प्रतिशत (झण्डै ७५ लाख) कृषिमा आधारित पेशा यानी कृषकको रूपमा नै कार्यरत छन् भने यो पेशामा सिधा आश्रित मानिस कुल जनसंख्याको ५७ प्रतिशत छन् अझै पनि।

सेवा र उद्योग क्षेत्रमा बढी आकर्षण भएकोले ती क्षेत्रमा मानिसको लगाव बढी हुँदै गएकोले कृषि क्षेत्रमा संलग्न मानिसहरूको सँख्या दिनानुदिन घट्दै छ। यसो हुनाले आज आएर नेपाल चामल र गहुँ जस्ता अनाज र प्याज, आलु जस्ता सब्जी तथा केरा, स्याउ, सुन्तला जस्ता फलफूल समेत भारी मात्रामा आयात गर्ने मुलुक हुन पुगेको छ।

माथि उल्लेखित अधिकांश वस्तु नेपालका प्रमुख उत्पादन तथा निर्यातका वस्तु थिए कुनैबेला। जनसङ्ख्याको तिव्र वृद्धि, खेतीयोग्य जमिनमा निर्माण तथा शहरीकरण, बसाईँ सराई, युवाहरूको विदेश पलायन तथा अन्य क्षेत्रमा बढ्दो आकर्षण, अव्यवस्थित बजार, पुरातन कृषि व्यवस्था, जलवायु परिवर्तन, आधुनिक सिचाईं र मलजलको कमी, खानपानमा आएको परिवर्तन, भारतीय कृषि उपज नेपालको भन्दा सस्तोमा पाइनु आदि नै हाम्रो कृषिको दूरावस्थाका प्रमुख कारण हुन्।

वंशानुगत रूपमा अंशवण्डा हुँदा भूमिको पनि बटवारा हुने भएकोले प्रत्येक पिँढीमा कृषियोग्य जमिनको आकार घट्दै गएको छ। यसरी ससाना चकलामा जमीन रहनाले एकातिर किसानलाई आफूसँग भएको जमीनमा उब्जेको अनाज र सागसब्जीले पूरा वर्ष खान पनि पुग्दैन भने अर्को तर्फ आधुनिक खेती गर्नसमेत त्यस्तो जमीन योग्य रहँदैन।

यस्तै कारणले गर्दा ऋण लिन बाध्य भएका विपन्न समुदायले ऋणको व्याजसमेत तिर्न नसकेर भएको जायजेथासमेत गुमाएर घरबारविहीन हुने क्रम बढ्दो छ।

एक थरी विचौलियाको उक्साहटमा समेत केही फाप हुन्छ कि भनेर विभिन्न वित्तीय संस्था तथा व्यक्तिबाट ऋण लिनेहरू आज बिचल्लीमा परेका छन् भने तिनको खोसिएको घरजग्गामा ठूला ठूला महलहरू खडा हुन थालेका छन्।

त्यस्तै सरकारले मुक्त कमैयाको घोषणा गरेको २ दशक बितिसक्दा पनि सबैलाई घर र खेतीको लागि जमीन बाँड्न नसकेकोले हजारौँ मुक्त कमैया खेतीपातीबाट अलग हुन परेको अवस्था छ।

जमीनको सिमाना छुट्याउने आलीहरूको क्षेत्रफलको मात्र हिसाब ग¥यो भने नेपालमा कति धेरै उर्वर जमीन खेर गइरहेको छ भन्ने कुराको अनुमान गर्न सकिन्छ। त्यसमाथि बेरोजगारीका कारण विदेश पलायन हुने युवाहरूका कारण गाउँघरमा कृषि पेशा गर्ने जनशक्तिको अभाव हुन गएर भएका थोरै खेतबारी पनि बाँझा हुन थालेका छन्।

कुनैबेला आजको नेपाल भएको अधिकांश क्षेत्र उर्वर माटो, यथेष्ट पानी बग्ने नदीनाला र अति नै अनुकूल मौसम र हरियालीका कारण कृषि र उद्यमको निम्ति एक स्वर्गसमान भूभाग थियो।

तर आज आएर जनसंख्याको चरम वृद्धि, अव्यवस्थित बसाईँसराई र शहरीकरण, वनजंगल, हरियाली र सिमसार क्षेत्रको अतिक्रमण, नदीनालाको दोहन र विकासको नाममा हुने विनासले गर्दा नेपालको पर्यावरण र भूमिको संरचना ज्यादै नै विकृत हुँदै गएको छ।

तर अझसम्म पनि राम्ररी सोचविचार र विवेकका साथ योजना तर्जुमा र गम्भीर रूपले कार्यान्वयन गर्न सकेमा नेपाललाई जोगाउने र हराभरा तथा कृषि र उद्यममा सफल एक हरित राष्ट्रको रूपमा विश्वसामु चिनाउन सकिने तथा कृषिबाटै समृद्धि ल्याउने कुरामा कुनै शंका छैन।

लिच्छवी तथा मल्ल शासन कालमा समेत नेपाल (खाल्डो)ले पहाडका विभिन्न राज्यहरूबाट खरिद गरेर ल्याएको उनी धागोबाट बनेका कपडा, ओड्ने-ओछ्याउने तथा अन्य कृषि उपज जस्तै अनाज तथा घ्यू-तेल, काठ तथा काठबाट बनेका कलाकृति, पशुपंक्षी तथा जडिबुटी र तामा, सुन, फलाम जस्ता खनिज र तिनबाट बनेका सामान हालको भारत तथा भोटमा बिक्री गरेर नाफा आर्जन गर्ने गरेको थियो भने आफूलाई चाहिने दैनिक उपभोगका सबैजसा सामान तथा लत्ता–कपडा र निर्माण सामग्रीमा नेपाल आत्मनिर्भर नै थियो। नुन जस्ता नेपालमा नपाइने वस्तु मात्र आयात गरे पुग्ने अवस्था थियो त्यतिबेला।

नेपालमा १०४ वर्षसम्म राणाशासन छँदा त्यतिबेलाका निरङ्कुश शासकहरूले आफ्नो ढुकुटी भर्न पनि नेपालबाट जे जे निर्यात गर्न सकिन्छ, त्यस्ता वस्तु अङ्ग्रेजले शासन गरेको भारतमा बिक्री गर्दथे।

सोबाट आएको आम्दानीको अधिकांश रकम राणा शासकको आफ्नो व्यक्तिगत ढुकुटीमा जम्मा हुने भएकोले यस्तो व्यापारको विवरण अत्यन्त गोप्य राखिन्थ्यो। सन् १९०० तिर नै प्रत्येक वर्ष नेपालले भारतसँगको व्यापारबाट त्यतिबेलाको करिव १ करोड रुपैयाँ भन्दा माथि नै नाफा कमाउँथ्यो।

१९औँ शताव्दीको पहिलो ५० वर्षमा भारतका विभिन्न भागमा ११ पटक भयानक अनिकाल लाग्दा कुल मिलाएर झण्डै ६० लाख मानिसको मृत्यु भयो भने सोही शताव्दीको पछिल्लो ५० वर्षमा २४ पटक अनिकाल लाग्दा ४ करोड १० लाख मानिसको मृत्यु भयो।

यसरी कुल मिलाएर त्यो १ शताव्दीमा मात्र भारतमा ३५ पटक लागेको अनिकालको चपेटामा परेर करिव ४ करोड ६० लाख मानिसको मृत्यु भएको थियो भने अन्य जिवजन्तु तथा वनस्पतीको त कुरै नगरौँ।

खाद्य सुरक्षाको कुनै अवधारणा नै नभएको त्यो समयमा नेपालले भारतमा विशाल परिमाणमा खाद्यान्न तथा पशुपंक्षी निर्यात गरेर ठूलो आम्दानी गरेको थियो भने त्यहाँको खाद्य संकट टार्न समेत ठूलो भूमिका खेलेको थियो।

त्यतिबेला नेपालको जनसंख्या ५० लाख पनि थिएन भने यहाँका बासिन्दाले सुख्खा तथा अनिकालको सामना पनि गर्नु पर्दैन थियो। त्यसैले पनि आफूले उब्जाएको वस्तु छेलोखेलो हुने भएकोले नेपालको कृषि उपज भारतमा निर्यात हुन सक्यो।

केही हदसम्म भने राणाशाषकहरूले आफ्नो व्यक्तिगत आम्दानीको निम्ति गाउँघरबाट त्यहाँ आवश्यक भन्दा पनि धेरै बढी अनाज खिँचेर निर्यात गर्नाले मुलुकभित्र कुपोषण निम्तिन सक्ने स्थिति पनि आउने गर्दथ्यो।

अठारौँ शताव्दीको अन्तसम्म पनि घना–जंगल भएको नेपालको तराईमा औलोको भयका कारण बसोवास गर्न पहाडका बासिन्दा डराउँदथे। अङ्ग्रेज शासनको पछिल्लो समयमा भारतको यातायात खासगरी रेलवे निर्माणको निम्ति चन्द्रशमशेरको शासनकालदेखि नेपालको तराईका धेरै वन-जंगल फँडानी गरेर भारतमा काठ निकासी गरियो भने बाझो भएका जमीन भारदारहरूलाई वीरतामा बाँड्नुका साथै भारतबाट समेत जमीनदार र मजदूर ल्याएर खेती गर्ने तथा बस्ती बसाउने कार्यको थालनी भयो।

त्यसरी गरेको खेतीबाट उब्जेको खाद्यान्न, पटुवा (जुट), सुर्ती, जडिबुटी, उखु, तेलहन आदि अधिकांश उपज भारतमा नै निर्यात हुन थाल्यो। सरकारको आम्दानी नभई राणा शासकको आम्दानी हुने भएकोले यस्ता निर्यातको जिकिर सरकारी कागजातमा खासै हुँदैनथ्यो।

जङ्गबहादुरको शासनकालतिर जंगलमा शिकार खेल्न जाँदा क्याम्प खडा गर्न र सघाउन भर्ती गरिएका पिपाहरूको माग वन-जंगल कटानीको समयमा आज जस्तो जंगल मास्ने आधुनिक प्रविधि नभएकोले ह्वात्तै बढेर गयो भने सेनामा पिपाहरूको एउटा ठूलो टुकडी नै खडा गरियो।

एक थरी पिपाले नेपालका जंगलमा रुख काट्ने काम गर्थे भने पहाडबाट झरेका अर्का थरीले काठको ढुवानी भारतमा गर्ने काम पाएका थिए। १०४ वर्षको राणाशासनको समयमा राणाहरूले राष्ट्रको ढुकुटी जति लुटेर रित्याए, त्यो भन्दा हजार गुणा बढी रकम तिनीहरूले वन जंगल मासेर कमाए।

यही इतिहासलाई राम्ररी बुझेका आजका केही वनमारा नेता तथा प्रशासकको झुण्डले विकासको निहुमा बाँकी भएको नेपालको जंगल मासेर चोरी तस्करी गर्न अनेक प्रपञ्च गरिरहेका छन्।

भारत स्वतन्त्र भएको केही दशक पछिदेखि नै चलेका वन जंगल फँडानी विरोधी कैयन् जनआन्दोलनका कारण आज भारतमा हरियाली बढ्दै गएको छ भने उसको तिव्र विकासको निम्ति आवश्यक काठ-पात आफ्नो वन जोगाएर नेपालबाट चोरी पैठारी भएमा पनि उसले आँखा चिम्लेर बस्नु पर्ने बाध्यता नै छ। यही कटु सत्यताको फाइदा उठाएर अथाह सम्पत्ति बनाउन केही व्यक्ति सक्रियताका साथ लागिपरेका छन्।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान ताकादेखि नै प्रत्येक फौजी अखडा भएको ठाउँमा लडाईँमा घाइते हुने सैनिकको इलाजको लागि भनेर वैद्यखाना खोलिएको हुन्थ्यो।

त्यस्ता खाले वैद्यखाना मुलुकभित्रका जनताको स्वास्थ्यको निम्ति पनि स्थानीय रूपमा कविराज र वैद्यहरूले चलाउने गरेका थिए। यसो हुनाले पनि त्यतिबेला जडिबुटीको आन्तरिक खपतसमेत अधिक थियो।

तर पछिल्लो समयमा मुलुक बाहिरबाट विभिन्न प्रकारका एलोप्याथिक औषधि तथा आधुनिक चिकित्सा पद्धतिको आगमन भएपश्चात भने जडिबुटीको बजार पनि बिस्तारै कुण्ठित हुँदै गयो र त्यही जडिबुटी निर्यात भएर त्यसैबाट बनेका आधुनिक औषधि आयात गरेर सेवन गर्ने बाटोमा हामी पुग्यौं।

सन् १८१५ ताकादेखि नै वृटिश भारतको फौजमा र भारतका विभिन्न ठाउँमा कामको खोजीमा जान थालेका हजारौँ नेपाली युवाको भिड प्रथम र द्वितीय विश्वयुद्ध ताकातिर झनै लाखौँमा परिणत हुन थाल्यो।

यसो हुनाले नै त्यतिबेलादेखि नेपालका पहाडी इलाकामा कृषि तथा पशुपालनमा युवाहरूको खडेरी लाग्न शुरु भयो। पछिसम्म पनि प्रसस्त चरन क्षेत्र, कृषियोग्य जमिन भएर पनि पहाडमा उत्पादित खाद्यान्नले त्यहाँको खाँचो पुरा नहुने तर तराईबाट पहाडमा खाद्यान्न ढुवानी गर्न यातायातको पुर्वाधार नहुँदा यस्ता कार्य त्यति सहज थिएनन्।

त्यसैले पनि पहाडलाई भोको नै राखेर भए पनि तराईमा खपत हुन नसकेको खाद्यान्न भारतमा निर्यात भइरहेको थियो। तर पछिल्लो समयमा पहाडमा यातायातको सुलभता बढ्दै गएपछि भने तराईबाट खाद्यान्न पहाडमा जान थाल्यो भने पहाडका जडिबुटी, घ्यु-तेल तथा फलफुल र तरकारी पनि मुलुकका अन्य भागहरूमा जान सक्ने भए। यातायातले ल्याएको समृद्धिका कारण पहाडमा खाद्यान्न तथा मासु र सागसब्जीको खपत पनि ह्वात्तै बढेको छ।

प्रथम र दोश्रो विश्वयुद्धमा धेरै नेपाली युवाहरूले ज्यान गुमाए भने आफ्नो घरमा फर्केका सैनिक तथा बेला बेलामा बिदामा घर आउने कामदारहरूले भारतमा उत्पादित वस्तुहरू तथा आफूले जानेका सिप र अनुभवसमेत नेपालका गाउँ गाउँमा पुर्‍याएर नेपालमा एक प्रकारको सांस्कृतिक क्रान्तिको विजारोपण नै गरे। राणाशासनको पतन हुनमा विदेशबाट जागरुक भएर फर्केर गाउँ गाउँमा जनजागरण ल्याउन तत्पर नेपालीहरूको पनि ठूलो योगदान छ।

विश्वयुद्धको अन्त पश्चात भारतको आसाम तथा अन्य राज्य, वर्मा, मलाया फिजी आदि मुलुकमा नै बसोवास गर्न थालेका नेपालीले पनि उतै आफ्नो पुर्खौली पेशा कृषिमा नै जीवन बिताउन थाले।

फिजीमा उखु खेतीमा होस् या वर्मामा दुग्ध व्यवसायमा होस् त्यहाँका स्थानीय नेपालीहरूले खुबै नाम कमाएका छन्। एकातिर नेपालको खासगरी पहाडमा कृषिमा लाग्ने जनशक्तिको कमी भइरहेको बेलामा भारतबाट बिदामा र सदाका लागि फर्केका नेपालीबाट ल्याइएका पहिले कहिल्यै उपभोग नगरेका विभिन्न खालका विलासी वस्तुहरूमा नेपालीहरूको आकर्षण बढ्न थालेपछि त्यस्ता उपभोगका वस्तुहरूको ठूलो रूपमा आयात हुन थालेर नेपालको वैदेशिक व्यापार थाहै नपाउने गरी घाटामा परिणत हुँदै गयो ।

राणा तथा त्यतिबेलाका काठमाडौँका संभ्रान्त परिवारले पनि ठूलो परिमाणमा विलासी उपभोगका वस्तुहरू भारतबाट मात्र नभई बेलायतबाट समेत मगाउन शुरु गरेका थिए भने ती सामान काठमाडौँसम्म भिमफेदीदेखि भरियालाई बोकाएर नै ल्याइने गर्दथे। आयातको परिमाण बिस्तारै बढ्न थाल्यो भने निर्यात घट्न थाल्यो।

….बाँकी अर्को अङ्कमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *