राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि

डिसी नेपाल
२८ वैशाख २०८० २०:२६

काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो ।

बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलि अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता, कार्यकर्ता उपस्थित थिए । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

दोस्रो जनआन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागी मुकेश घाइते भएका थिए । विसं २०४८ भदौ ९ गते जन्मिएका मुकेश १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै नगर तथा जिल्लास्थित सबै राजनीतिक दलले शोक विज्ञप्ति जारी गरेका छन् । मुकेशको निधनमा बनेपा नगरले आज सबै प्रकारको सेवा बन्द ग¥यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *