चीन, नेपाल र भारतको त्रिदेशीय मञ्चको निर्माण गरौं

खगेन्द्रराज सिटौला
२९ वैशाख २०८० ७:५८

नेपाल, भारत र चीन मिलेर त्रिदेशीय आर्थिक मञ्च गठन गरेमा तीन देशलाई मात्र होइन एशिया र बाँकी विश्वलाई पनि लाभ हुन सक्छ।

दुई विशाल जनसंख्या र एशियाका उदियमान आर्थिक शक्तिको रुपमा तीब्र गतिमा अघि बढिरहेका चीन र भारतसँग हातेमालो गरेर अघि बढ्ने आर्थिक मञ्च बनाउन नेपालले पहलकदमी लिने र दुई ठूला छिमेकीलाई सहमतिमा ल्याउन सकेमा नेपालको लागि भने धेरै लाभदायक हुन सक्छ।

दुई ठूला देशका बीचमा उभिएर हातेमालो गर्दै अघि बढ्न सकेमा नेपालको विकासमात्र होइन शान्ति र एकतामा पनि योगदान पुग्दछ। यो प्रस्ताव नेपालले अघि बढाउनु पर्दछ।

नेपाल, चीन, भारत आफैंमा प्राचीन इतिहास सभ्यता बोकेका मुलुक हुन्। भूगोल, हिमाल वा नदीले मात्र जोडिएका मुलुक नभएर धर्म सांस्कृति र दर्शनले समेत जोडिएका मुलुक हुन चीन, भारत र नेपाल।

राजनीति स्तरमा मात्र नभएर जनस्तरमा समेत निकट सम्बन्ध भएका यी पुराना मुलुकहरुको छुट्टै आर्थिक संगठन बनाउन सकेमा लामो सभ्यता इतिहास र व्यापारको नविकरण र आधुनिककरण पनि हुनसक्छ। नेपाल र चीनको स्वशासित क्षेत्र तीब्बतसँगको व्यापारको इतिहास धेरै लामो छ।

वर्तमान भारत र नेपालको भूगोल भित्र प्राचीन कालदेखि साझा आध्यात्मिक चिन्तकले ज्ञानको ज्योति बालेको र त्यो ज्योतिले विश्वलाई नै ज्ञान र शान्तिको प्रकाश दिइरहेको छ।

एशियाका ज्योति भनेर विश्वले सम्मान दिएका अहिंसा र शन्तिका प्रयाय भगवान गौतम बुद्घ जन्म, ज्ञान र धर्मको हिसावले पनि नेपाल, भारत र चीन जोडिएका छन्।

त्रिदेशीय मञ्चले छिमिकी देशको सम्बन्ध जति राम्रो भयो त्यतिनै विकास,शान्ति र समृद्धिमा योगदान पुग्छ भन्ने सन्देश सबैलाई दिन्छ। यो पाठबाट भारत र पाकिस्तानले पनि लाभ लिन सक्छन्। यसले सार्कलगायत सबै देशहरुले सकारात्मक लाभ लिन सक्छन्।

भगवान गौतम बुद्घ नेपालमा जन्मिए, भारतमा बुद्घत्व प्राप्त र देह त्याग गरे भने चीनको तिब्बत हुँदै चीनमा नेपाली राजकुमारी भृकुटी मार्फत बुद्घधर्म भएर फैलिए। यसरी नेपाल भारत चीन गौतम बुद्घले पनि जोडिएका छन्।

नेपाल, भारत, चीनलाई भूगोलले मात्रै होइन आध्यत्मिकताले कसिलोसँग जोडेको दृष्टान्त गौतम बुद्घ मात्र होइन। हिन्दुहरुका महादेवको बासस्थान रहेको कैलाशकुट पर्वतले पनि नेपाल भारत चीनलाई त्यसरी नै जोडेको छ।

नेपाल र भारतका हिन्दुहरु नेपालमा रहेको पशुपतिनाथलाई शिर र भारतमा रहेको केदारनाथलाई शरीर मान्दछन्। त्यसरी नै भारत र नेपालका लाखौं हिन्दुहरु शिवजीको पवित्र वासस्थान चीनमा रहेको कैलाश पर्वतलाई मान्दछन्। त्यसरी नै चीनको तीब्बतका बौद्घमार्गीहरु पनि कैलाश पर्वतलाई त्यतिकै आदर गर्दछन्।

यसरी नेपाल र भारतको मुटुमा र चीनको माटोमा रहेको पवित्र कैलाशकुट पर्वतको नाममा नेपाल, भारत, चीनको हित र जित हुने त्रिदेशीय आर्थिक मञ्च वा संगठन गठन गर्नु भावनात्मक, आध्यात्मिक, राजनैतिक,व्यापारिक र व्यवहारिक हिसावले पनि सारै उपयुक्त हुन्छ।

यस्तो आर्थिक मञ्चले स्वभाविक तुलनात्मक रुपमा कमजोर र आकारमा सानो (भूगोल,आर्थिक दुबै) नेपालले बढी फाइदा लिन सक्छ। तर यसले चीन भारतलाई पनि कम फाइदा हुँदैन।

नेपालको जलश्रोतमा मात्रै चीन भारत नेपालले साझा लगानी गरेमा तीनवटै देशले बहुत फाइदा लिन सक्छन्। नेपालमा ठूला बाँध बनाएर जलमार्ग, विद्युत सिचाई, कृषि पर्यटन उद्योग व्यापारबाट समेत तीनै देशले प्रत्यक्ष अप्रत्यक्ष लाभ लिन सक्छन्।

सरकारी तथा निजी क्षेत्रका संयुक्त वा छुट्टा छुट्टै लगानीले तिनै देशका सरकार, जनता तथा लगानीकर्ता सबैले लाभ लिन सक्छन्। नेपाल चीन भारत रेलमार्गले जोडिन सके यसबाट तीनवटै मुलुकलाई सबै किसिमले लाभ पुग्दछ। चीनले अघि सारेको वान बेल्ट वान रोड याने रेशम मार्गको परियोजनामा नेपाल भारत सहजताको साथ जोडिएर यसबाट प्राप्त हुने लाभ लिन विलम्ब गर्नु हुँदैन।

आर्थिकरुपमा मात्र होइन राजनीतिक रुपमा पनि यो मञ्च लाभदायक हुन सक्छ। एकपल्ट युद्घ गरिसकेका र आर्थिक प्रतिस्पर्धामा रहेका चीन भारतको राजनीति सम्बन्धलाई पनि थप निकट बनाउन मद्दत गर्दछ यस्तो त्रिदेशीय संगठनले। नेपालले राष्ट्रवादको नाममा चीन कार्ड वा भारत कार्ड खेल्नु भनेको आफैंले नेपाललाई नै समस्यामा पार्नु हो भन्ने नेपालका सबै आर्थिक तथा राजनीति शक्ति तथा व्याक्तिले बुज्नु पर्दछ।

वास्तवमा यस्तो मञ्च नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेको नेपाल चीन र भारत दुबैसँग सन्तुलित सम्बन्ध राखेर बढ्नुमा नै नेपालको हितमा छ को सार्थक रुप हो।

नेपालरुपी तरुलले दुबैतिरबाट मल र बल प्राप्त गरेर दुबैको हित र राष्ट्रिय स्वार्थलाई नोक्सान नपारी अगाडि बढ्नु भन्ने राष्ट्रनिर्माताको याने पृथ्वी विचारको मर्म नै नेपालको लागि यस्तो त्रिदेशीय आर्थिक मञ्च हुनसक्छ।

यो मञ्चमार्फत नेपाल, भारत, चीन हातेमालो गरेरसँगै अघि बढ्नु पर्दछ विकास, शान्ति र समृद्घिको बाटोमा। नेपालले तरुलका लहराले बेरे झैं भारत र चीनलाई मित्रताको अंगालोले बेर्नु पर्दछ।

नेपालका राष्ट्रनिर्माताले पश्चिमा साम्राज्यवादी शक्ति र त्यसको धार्मिक आवरण राष्ट्रिय स्वाधीनता, एकता सार्वभौमिकता माथि जहिल्यै खतरा देखेका थिए र त्यो शक्तिलाई बेलैमा तह लाएको ऐतिहासिक विचारको पृथ्वीराजमार्ग तिनै देशको लागि सहि राजमार्ग हुनेछ।

नेपालमा उभिएर पश्चिमा शक्तिहरुले, भारत, चीन विरोधी गतिविधि गर्ने कोशिसमा छन् धर्मनिरपेक्ष वा अन्य आवरणमा। नेपाल जस्तो बहुजातीय र छ्यासमिस बसोबास भएको मुलुकमा जातीय वा क्षेत्रीय मुद्दा उनीहरुको लागि सजिलो भएको छ। नेपालको यो प्रयोग सफल भयो भने यस्ता मुद्दा भारत चीनमा भित्र्याउन उनीहरुलाई सजिलो होस्।

पश्चिमाहरुले धर्मनिरपेक्षको माध्यमबाट क्रिश्चियानिटी फैल्याउन जातीय तथा क्षेत्रीय मुद्दा उचाल्न नेपालमा ठूलै लगानी गरेका छन्। यसको उद्देश्य नेपालमा टेक्ने उत्तर र दक्षिणका ठूला मुलुकलाई भविश्यमा रेट्ने नै हो। यदि माथि भनिए जस्तो त्रिदेशीय आर्थिक मञ्च बनेको खण्डमा यस्ता पश्चिमा षडयन्त्रहरु पर धकेलिन्छन्।

यसले तीन देशको मात्र होइन एशियाको र विश्व कै शान्ति, स्थायित्व र समृद्घिमा योगदान पुर्‍याउँदछ। यो नेपाल, भारत चीन विरोधीधारलाई नेपाल भारत तथा चीनको एकता र सहकार्यले मात्र परास्त गर्नसक्छ।

तर भारत छिमेकीसँगको सुमधुर सम्बन्धबाट स्वत प्राप्त हुने लाभलाई बेवास्ता गर्दै पश्चिमाहरुको रणनीतिक स्वार्थको गोटी वा साझेदार बन्न गयो भने यो स्वयं भारतघाती काम हुने छ। एसियाघाती काम पनि हुने छ।

भारतले पश्चिमा स्वर्थको लागि चीनलाई उक्साउने दलाइ लामा कार्ड बोक्ने गल्ती गर्नु हुँदैन। नेपाली उखान देशको देउता र गाउँको भूतको अर्थ र मर्म भारतले बुझे जस्तो देखिँदैन।

त्रिदेशीय कैलाश आर्थिक मञ्च गठन गर्ने र यसलाई सकृय बनाउने हो भने तिनै देशका आपसी सम्बन्ध सुमधुर र तनावरहित हुनुपर्दछ। यसलाई पूर्वशर्त भने पनि हुन्छ। भारतसँग नेपालका केही सिमानाका, असमान सन्धीका गुनासाहरु छन्।

ती गुनासालाई भारतले ऐतिहासिक तथ्यको आधारमा उदारतापूर्वक सम्बोधन गर्नु पर्दछ। ताकि नेपाल भारत बीचमा तनाव बढाउने वा गुनासा या द्वन्द्व बढाउने कुनै मुद्दानै नरहुन्।

केही दशक अगाडि नेपालमा व्यवसाय गर्न आएका उसकै शब्दका भारतीय मुलका हुन् या भारतसँग भेष, फेस, मेस, मिल्ने भाषिक तथा साँस्कृतिक समुदायलाई काखी च्याप्ने र उक्साउने काम गर्नु हुँदैन भारतले। जसरी चीनले उत्तरतिरका बासिन्दालाई उक्साएको छैन। भारतले असल छिमेकीको लागि नेपाल चीनबीचको उदाहरणीय सम्बन्धबाट पाठ सिक्नु पर्दछ।

लिम्पियाधुरा-लिपुलेकको समस्यालाई ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको सार्वभौमिकता भारत र चीन दुबैले स्वीकार्नु पर्दछ र लिपुलेकलाई त्रिदेशीय कैलाश मञ्चको लागि व्यवसायिक केन्द्र बनाउन सकिन्छ।

त्यस्तै भारत चीनका पनि सीमा लगायत अन्य विवादित मुद्दाहरुलाई शिथिलिकरण गर्न दुबै मुलुकले विशेष पहल गर्नु पर्दछ। किनभने तिनै देशको बीचमा सुमधुर सम्बन्ध भएमा मात्र आर्थिक मुद्दामा ध्यान जान सक्छ।

सहज वातवरण भएमा मात्र आर्थिक मुद्दाहरुले सफलता प्राप्त गर्न सक्छन्। यो त्रिदेशीय मञ्च उदाहरणीय सफल भएमा अन्य छिमेकी मुलुकहरु पनि यस्ता मञ्च निर्माणमा सकृय हुन पुग्छन्। यसले विश्वमा शान्ति कायम राख्दै विकास गर्न सहयोग पुर्‍याउँदछ।

सार्क प्रभावकारी भएको छैन। यो त्रिदेशीय मञ्चले सार्कलाई पनि प्रभावकारी बनाउन मद्दत गर्दछ। सार्कको समस्या भारत र पाकिस्तान भित्रका नीति निर्माण तहमा रहेका पश्चिमाहरुका खेतालाहरुले समस्या चर्काइरहने हानिकारक भूमिका छ।

त्रिदेशीय मञ्चले छिमिकी देशको सम्बन्ध जति राम्रो भयो त्यतिनै विकास,शान्ति र समृद्धिमा योगदान पुग्छ भन्ने सन्देश सबैलाई दिन्छ। यो पाठबाट भारत र पाकिस्तानले पनि लाभ लिन सक्छन्। यसले सार्कलगायत सबै देशहरुले सकारात्मक लाभ लिन सक्छन्।

नेपाल, भारत चीनलाई शिव भूभि भनेर चिनौं। शिवजीले बास गरेको, डुलेको, खेलेको भूमी हो। शिवभूमि भनेको अन्याय नगर्ने अन्याय गर्नेको विरुद्घ जमेर लड्ने र त्यसलाई परास्त गर्ने हो।

विगतमा नेपाल, भारत, चीन तिनै देशले त्यसै गरेका छन्। शिवजीले योग शास्त्र विकास गरेको यो योग भूमि पनि हो। यो योग शास्त्रले पनि नेपाल, चीन, भारतलाई राम्ररी जोड्न सक्छ।

त्यसरी नै माथि भनिए जस्तै नेपाल, भारत, चीन बुद्घ भूमि पनि हुन्। बुद्घ जन्मिएको भूमि नेपाल, बुद्घत्व जन्मिएको भूमि भारत र बुद्धत्व फैलिएको भूमिचीन भएकोले बुद्ध र बुद्धत्वद्वारा पनि यी तीन देश जोडिएका छन्।

यसरी सागरदेखि सगरको शिर उच्च हिमालयलका पवित्र जलाधारले समेत जोडिएका नेपाल, भारत, चीन त्रिदेशीय कैलाश आर्थिक मञ्चमार्फत जोडिएर इतिहासको नविकरण गर्ने महान दाइत्वमा एकजुट हुनुपर्दछ।

यस्तो त्रिदेशीय आर्थिक मञ्च गठन गरेर एकै दिन एकै समयमा लुम्बिनी, गया र कैलाशबाट विशेष समाहरोहको साथ घोषणा गरौं। नेपाल, भारत, चीनलाई पूर्वीय आध्यात्मिक सांस्कृतिक दार्शनिक र सभ्यताको अध्यायन केन्द्र बनाउन सकिन्छ।

पश्चिमा संस्कृति भनेको तोड्ने संस्कृति हो भने पूर्वीय संस्कृति भनेको जोड्ने संस्कृति हो। योग भनेकै जोड्ने संस्कृति हो। पूर्वीय योगशाश्त्रका नायक शिवजीको पवित्र वासस्थान कैलाशको नामबाट नेपाल, भारत, चीन जोडिएर नयाँ आर्थिक मञ्च बनाएर अघि बढेमा यो आफैंमा सत्यं शिवम् सुन्दरम् हुनेछ। पशुपतिनाथ र केदारनाथका मुलुकले पनि नयाँ उर्जा र शक्ति पाउने छन्।

पवित्र गंगा र ब्रम्हपुत्र नदीका जलाधारले जोडिएका यी तीन देश नेपाल,भारत र चीनको एकता साँच्चै नेपाल र भारतको मुटुमा र चीनको माटोमा रहेको भोलेबाबा शिवजीको बासस्थान कैलाश जस्तै पवित्र र संसारको शिर सगरमाथा जस्तै उच्च भएर रहने छ भन्ने विश्वास लिन सकिन्छ।

सबैले अर्काको कुभलो नचिताई असल छिमेकीको धर्म नछोडेमा र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरेमा यो संगठन सबै किसिमले उदाहरणीय हुनसक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *