नक्कली भुटानी शरणाार्थी प्रकरण

टोपबहादुर पक्राउ परेपछि बादलको ‘संलग्नता’ खुल्ला?

डिसी नेपाल
१ जेठ २०८० ८:५१

काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि प्रहरीलाई पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा बादलसँगको सम्बन्ध-सम्पर्क पहिल्याउन सहज भएको छ।

बादलका छोरी प्रतिक थापा पनि फरार रहेको अवस्थामा रायमाझीको पक्राउले प्रहरीलाई उनीहरुबीचको सम्बन्ध सम्पर्क खोज्न सहज भएको हो।

‘अहिलेसम्म रामबहादुर थापालाई भेटेर यस्तो गरेका थियौ भन्ने बयान छैन, छोरालाई, सल्लाहकारलाई भेट्यौं भन्ने मात्रै छ, रायमाझीको बयानबाट केही आधार पाइन सक्छ’, प्रहरी परिसर काठमाडौ स्रोतले भन्यो।

अनुसन्धानमा रहेका प्रहरी अधिकारीहरुले नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमै रायमाझीको संलग्नता रहेको र नीतिगत तहमै रायमाझी संलग्न रहेको बताउँदै आएका छन्।

गिरोहको राय सल्लाहमा छुटेका भूटानी शरणार्थीहरुको विवरण संकलन गर्न र त्यसका लागि कार्यदल गठन गर्न सहयोग गरेको रायमाझीलाई आरोप छ। पूर्व गृहमन्त्री थापाले छोरालाई पक्राउ पूर्जी जारी गर्दा पनि केही बताएका छैनन्।

उनी यो विषयमा मौन रहेका छन्। थापा सचिवालयमा रहेका इन्द्रजित राइ पक्राउ परिसकेका छन् भने छोरा प्रतिकका विरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको छ । उनी फरार रहेका छन्।

रायमाझीले कार्यदल गठन गराएवापत करोडौ रुपैयाँ लिएको र त्यसको भिडियोसमेत रहेको प्रहरीले दावी गरेको छ। प्रहरी स्रोतका अनुसार गिरोहका सदस्य सानु भण्डारीले सो भिडियो प्रहरीलाई उपलब्ध गराएको बताइएपनि बाहिर सार्वजनिक गरिएको छैन।

प्रतिनिधिसभा सदस्य समेत रहेका उनलाई प्रहरीले आइतबार साँझ काठमाडौँको बूढानिलकण्ठबाट विशेष व्यूरोले पक्राउ गरेको हो। बूढानिकण्ठको पासीकोटस्थित अर्घाखाचीका कार्यकर्ता नारायण पौडेलको घरमा बसेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो। त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको थियो।

शनिबार राति काठमाडौं आएका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो। आजै उनलाई अनुसन्धानका लागि म्याद लिन प्रहरीले अदालत लैजाँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *