पुस्तक समीक्षा

पाठक्यौली : ‘सुश्री पारिजात’ भित्र पारिजातका विपर्यास घुम्तीहरू

खेमराज पोखरेल
६ जेठ २०८० ६:३१

नेपाली साहित्यका पाठक सबैलाई ज्ञात भएकै कुरा हो कि वरिष्ट साहित्यकार गोविन्द गिरी प्रेरणाद्वारा संकलित/रचित ‘सुश्री पारिजात’ शीर्षकको जीवनीकथाको गजधम्मे पुस्तकको चर्चा नेपाली साहित्य/साहित्यकारवृत्तमा चुलिएको छ।

पारिजातलाई अत्यन्त मन पराउने करोडौँको हुलमा म पनि एउटा हुँ। उनको साङ्गोपाङ्गो जीवनीकथा एउटै पुस्तकमा पढ्न पाउनु भनेको महत्त्वपूर्ण कुरा हो। त्यसो त मैले जीवनमा भौतिक रूपले पारिजातलाई कहिल्यै भेटिनँ।

मैले उनलाई उनकै कृतिका आधारमा त चिने, तर पारिजात नाम तिलस्मीजस्तै लाग्थ्यो। उनका व्यक्तिगत, शारीरिक तथा आर्थिक जीवनदेखि कृतित्वसम्म तथा जन्मदेखि मृत्युसम्मका कुराहरू मिथक बनेर आइरहन्थे। गइरहन्थे।

यही परिवेसमा एउटा अचम्म संयोग मिल्यो कि मित्र गोविन्द गिरी प्रेरणाले यो पानको बिडा उठाए छन्। र, प्रकाशन गरिछाडे ‘सुश्री पारिजात’। यतिमात्र होइन; अमेरिकाको भर्जिनियाँबाट अमेरिकी हुलाकको बुइ चढाएर ‘सुश्री पारिजात’ लाई मेरै घरआँगनमा ओरालिदिए। कोखिलामै आइपुगेको यो कृतिलाई ओल्टाइपल्टाइ गर्दै छु।

कृतिको अग्रभागमा शिरीषको फूलका बिचमा पारिजातको तस्बिर छ। पश्चभागमा पारिजात तथा कृतिका बारेमा छोटो भनाइ छ प्रकाशकका तर्फबाट।

फाइन प्रिन्टले २०७९ मंसिरमा प्रथमपल्ट प्रकाशन गरेको यो कृतिमा ८ पेज सुरु खण्ड, ३८६ पेज मूल विषयवस्तु, ११ पेज सन्दर्भ सूची, २ पेज आभार, १० पेज अनुक्रमणिका, १ पेज कृतिकारको परिचय, १० पेज तस्बिर गरी ४२८ पृष्ठको छ। लेख्ने मान्छेको नाम नभए पनि ‘पारिजातको जीवनीकथा’ शीर्षकमा कृतिकारले कृति लेखनगर्भका बारेमा प्रकाश पारेका छन्।

त्यसपछि विषयक्रम छ र कसैको भूमिकाबिना एकैपल्ट कृति मूलपाठमा प्रवेश गर्छ। कृतिभित्र जम्मा १३ मूल पाठ र तिनमा १०१ सहायक पाठ समावेस भएका छन्। यसैका आधारमा पनि पुस्तकको वृहत् स्वरूपको अन्दाज गर्न सकिन्छ।

कृति पढेर पाठक्यौली लेखिरहँदा मैले विविध सीमाबाट गुज्रँदै गुज्रँदै पाइला चाल्नु पर्छ। किनभने मैले पारिजातलाई देखिनँ। सत्सङ गरिनँ। उनका चुली अग्लाई तथा होचाअर्घेलाका बारेमा निजी अनुभूति रहेन। उनका बारेमा हावाझैँ आउने मिथक वा दन्त्यप्रचार/प्रहार नसुनेको होइन।

राम्रा र नराम्रा, आग्रही र पूर्वाग्रही, देवत्वकरण वा दानवीकरण, प्रशंसा वा गाली गरेका धेरै प्रसंगहरू सुनेको हो। तर जब म एउटा पाठकको रूपमा मात्र उभिन्छु। मेरा मगजमा पारिजातको कलमको जादु चल्छ र पारिजातको बेजोड लेखाइ सामुन्नेमा आउँछ।

अनि ती सवै प्रसंगहरू हावाले उडाउँछ र जसले जे भने पनि मेरा मनमा केवल जादुमयी श्रद्धाभाव मात्र बाँँकी रहन्छ। त्यसैले ज्यादै मन पराएका स्रष्टाका बारेमा लेखिएको जीवनीकृतिमाथि लेख्दा/बोल्दा मानवीय त्रुटी हुने खतरा पनि छ।

तर सजग छु कि म यही कृति ‘सुश्री पारिजात’ मा उल्लेख गरिएका सत्यतथ्यभन्दा एक इन्च पनि तलमाथि हुने छुइनँ। किनकि मेरो लेखनीको विषय स्रष्टा पारिजात होइन, ‘सुश्री पारिजात’ हो।

एकप्रकारले भन्ने हो भने ‘सुश्री पारिजात’ कृतिभित्र उल्लेख गरिएका सत्यतथ्यहरूका आधारमा पारिजातसम्बन्धी खुराकको संश्लेषीकरण हो। यस आलेखमा उल्लिखित तथ्यको विश्वसनीयताका लागि पाठकवृन्दलाई यही पुस्तक पढ्न अनुरोध गर्द छु।

‘सुश्री पारिजात’ पुस्तकभित्र पारिजात एउटा मान्छे हो। एउटा पारिवारिक मान्छे। याने कि आम मान्छे। जसको जन्म छ, भोगाइ छ। समाज छ। समाजका अङ्कुुस छन्। उकुसमुकुस छ। विरोध छ र विपर्यास छ। पीडा छ, प्रगति छ। कुण्ठा छ। र, मृत्यु छ।

भनूँ भने जन्मनु र मर्नु बिचको निस्सार तर नियतिको बिब्ल्याँटो खेला बोकेकै हुन्छ मान्छेले। प्रस्तुत कृति ‘सुश्री पारिजात’ले पारिजातको जीवनी इतिहास केलाएको छ। जन्मदेखि मृत्युसम्मका सब्डेरा अब्डेरा खेलाहरू देखाएको छ।

नेपालको सङ्खुवासभाको चैनपुरको उखुवा गाउँका धनमान लामा व्यक्तिगत तर आम नेपाली मान्छेको प्रवास नियति भोग्दै मजदुरी गर्न दार्जिलिङ पुग्नुबाट पारिजातको पुख्र्यौली कथा सुरु हुन्छ। धनमानका छोरा डा कालुसिंह वाइवा पारिजातका पिता नै हुन्।

भनिएको छ कि पारिजातको जन्म १९९० फागुन ३० तदनुरूप १३ मार्च १९३४ मा दार्जिलिङमा भयो। परम्परागत तथा सांस्कृतिक रूपमा छेकुडोल्मा र स्कुलमा विष्णुकुमारी वाइवा तथा साहित्यमा पारिजात उनका नाम हुन्।

जतिसुकै अग्रगामी भने पनि उनी जन्मेको बढेको तथा बाल्यकाल बिताएको दार्जिलिङे समाज बुर्जुवा तथा सामन्ती सोच भएको थियो। यो सोचका विरुद्ध उनमा विद्रोहको टुसा त्यति बेलै पलाएको थियो।

अर्कोतर्फ मिसन स्कुलमा क्राइस्टको प्रार्थना गर्न लगाउने कुराले त्यो विद्रोह झन् विकसित भएको थियो। स्कुलमा आफू खेलकुदमा भाग लिन नसक्ने भएकाले सो कारणले गरिएको हेपाइसका विरुद्ध सानैदेखि विद्रोही स्वभाव थियो पारिजातको।

मान्छेको रूपमा पारिजातको यही विद्रोही स्वभाव सिर्जनामा मात्र होइन; मृत्युपर्यन्त कायम रह्यो।

कृतिभित्र लेखिएको छ कि उनलाई स्कुलको नियम भत्काउँदा तथा धरायसी अनुशासन तोडेकोमा अग्घोर नै आनन्द आउँथ्यो। केटाकेटीदेखि नै घोडचढी दाजु र फुपूकी छोरीको संगतले चुरोट तान्न थालेकी थिइन्।

घोडचढी दाइको स्वतन्त्रता याने कि समाजमा पुरुषको स्वतन्त्रता देखेर विष्णुलाई जलन हुन्थ्यो। जलन नै विद्रोह थियो। विद्रोह नै समानताको खोज थियो।

‘सुश्री पारिजात’ पुस्तकमा समावेश भएको यो तथ्यले म आफैँ एकतमासको भएको छु। खिन्न भएको छु र कल्पिरहेको छु, कठै मान्छेको जीवन!

उनको पढाइ सायद सरदर पनि थिएन। त्यसैले म्याटिकमा असफल भइन्। २०१० सालमा उनका पिता काठमाडौँ प्रवेश गरेपछि २०११ सालमा विष्णुले पनि नेपाल प्रवेश गरिन्। बाबु कठोर स्वभावका थिए। गीत गाउन, सङ्गीतमा रुचि राख्न बाबुले प्रतिबन्ध (पृ.२८१) लगाएका थिए।

काठमाडौँमा आएपछि उनले २०१६ सालदेखि २०१९ सालसम्म पाटनको मदन मेमोरियल विद्यालयमा शिक्षक भएर काम गरिन्। २०१९ सालमा राजीनामा दिइन्। किनभने उनी रोगले थलिइन्।

२०२९ सालमा उनको केटासाथी विमल राल्फाले पनि छोडका थिए र त्यसै साल उनका पिताको पनि मृत्यु भयो। त्यसपछि उनले आफ्नो जीवन बैनी सुकन्या तथा ज्वाइँ निर्मल लामासँग बसेर जीवन बिताइन्। मान्छेको एकबारको जुनीलाई विसर्जन गरिन्।

पारिजातको अर्को रूप सर्जकको थियो। पुस्तक ‘सुश्री पारिजात’ भित्र उनको सिर्जना, सिर्जना गर्ने परिवेश तथा सिर्जनाका कहरहरूको बारेमा मिहीन तरिकाले प्रस्तुत गरिएको छ।

उनले आकांक्षा(कविता संग्रह, २०१४), शिरीषको फूल (उपन्यास, २०२२), महत्ताहीन (उपन्यास,२०२५), आदिम देश (कथासंग्रह, २०२५), बैँसको मान्छे (उपन्यास, २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२), सडक र प्रतिभा (कथासंग्रह,२०३२), अन्तर्मुखी (उपन्यास, २०३५), उसले रोजेको बाटो (उपन्यास,२०३५, पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३५), अनिंदो पहाडसँगै (उपन्यास, २०३९), साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३), पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित), एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५), परिभाषित आँखाहरू (उपन्यास, २०४६), बोनी (उपन्यास, २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८), बधशाला जाँदा आउँदा (कथासंग्रह, २०४९), बैँसालु वर्तमान (कविता संग्रह, २०५०/मुत्युपछि प्रकाशित), अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित) २०१२ सालमा समुत शीर्षकको एकांकी (पृ.२८३), रेडियो नेपालका लागि नाटक लेखेकी (पृ.२८४) थिइन्। सोको चर्चा पुस्तकभरि मजाले उजागर गरिएको छ।

कृति ‘सुश्री पारिजात’ भित्र नेपाली साहित्याकाशमा सदा चम्किरहने तारा पारिजातको एउटा कारण अंग्रेजी भाषामा दखल भएको कुरा व्यक्त गरिएको छ। सानैमा मिसन स्कुलको शिक्षा तथा दार्जिलिङको भाषिक वातावरणले गर्दा उनको अंग्रेजी भाषाको ज्ञान असाध्य धेरै थियो।

किनभने स्कुलमा जेजस्तो भए पनि पुस्तकलायबाट पुस्तक ल्याएर पढ्न रुचि थियो। उनले त्यही उमेरमा डब्ल्युएच हडसनले लेखेको ‘ग्रिन म्यान्सन’ नामक अंग्रेजी दुखान्त उपन्यास पढेकी थिइन्।

त्यसपछि म्याक्सिम गोर्की, टल्सटाय, राहुल सांकृतायनका पुस्तकको उनी पाठक नै थिइन्। खास गरेर ऐतिहासिक उपन्यास त्यसमा पनि अंग्रेजी साहित्यका, उनको प्रिय पठन थियो।

चाल्र्स डिकेन्स, थोमस हार्डी, सेक्सपियर आदिलाई उनले त्यही उमेरमा पढेकी थिइन् (पृ.५८) । अमेरिकी आख्यानकार हेनरी मिलरको ‘सेक्सस, प्लेकसस र नेक्सस’ नामक ३ उपन्यासको समग्र नाम ‘रोजी क्रुसिफिक्सन’ पुस्तकबाट प्रभावित भएर पारिजातले ‘क्रुसिफिक्सन’ लेखिन् (पृ.१२६) । तर दुर्भाग्य त्यो पुस्तक प्रकाशित भएन।

विदेशी स्रष्टा माझ लोकप्रिय र चर्चित (पृ.१४१) थिइन्। बार्बराले पारिजातलाई योगमायाका योगावाणीहरूका ३० श्लोकहरू अंग्रेजीमा अनुवाद गर्न लगाइन्। अमेरिकी मानवशास्त्री प्रो बिएन अजिजसँग उनको प्रगाढ परिचय थियो (पृ.२०३)।

दार्जिलिङमा म्याटिकुलेसन परीक्षा फेल भएपछि अबउप्रान्त स्कुल पढ्दिन भनेर अठोट गरेकी थिइन्। तर काठमाडौँ आएपछि बाबुको चाहनाअनुसार उनी पद्मोदय स्कुलमा भर्ना भइन्। त्यसपछि पद्मकन्या कलेजमा भर्ना भइन्। अंग्रेजी भाषामा दखलका कारणले त्यहाँ पनि पारिजात प्रशिद्ध थिइन्।

नेपाली साहित्य संसारमा अंग्रेजीमा दक्षता भएका स्रष्टाहरूले विश्वसाहित्यको अध्ययन गरेर तिनका प्रवृत्तिहरू नेपाली साहित्यमा भित्र्याउने प्रचलन भएकाले पारिजात पनि यसैबाट लाभान्वित बनिन् भन्न सकिन्छ।

किनकि उनले विश्वसाहित्यका प्रवृत्तिहरूलाई नेपाली भाषासाहित्यमा प्रयोग तथा प्रादूर्भाव गराउनाले उनको नेपाली साहित्यप्रतिको चिन्तन र मननको तह व्यापक बनेर गएको स्वत सिद्ध हुन्छ।

पुस्तकमा पारिजातको रोगी चित्र पनि देखाइएको छ। उल्लेख गरिएको छ कि पारिजात मूलत बाथको बिरामी थिइन्। दार्जिलिङमा जन्मेर हुर्केर पनि उनको सही उपचार हुन पाएन।

किनकि उनका पिता आफैँ डाक्टर थिए र उनको हठ थियो कि आफ्नो परिवारको उपचार कसैलाई गर्न नदिने, आफैँ गर्ने (पृ.१७८) । आफैँ औषधि बनाउने र पारिजातमाथि नै प्रयोग गर्ने। बाबुको हठको अगाडि कसैको केही जोर चल्दैनथ्यो। त्यो हठ देखेर डा. ईश्वर बरालले त उनका पितालाई अर्धसिल्लीको उपमा दिएका थिए (पृ.१७९)।

सही उपचार नपाएपछि उनको बाथको बेथा र्युमटाइड आर्थराइटिसमा परिणत भयो। त्यसमाथि क्षय रोग, दम, रक्तचाप (पृ.१७७) आदिका आक्रमणले गर्दा पटकपटक अस्पताल जानु उनको नियति नै बन्यो। अर्कोतिर बेथा ज्युकात्युँ रह्यो।

बेथाले उनलाई कोठाभित्र २०१८ देखि २०२१ सम्म कैद गरायो। ३ वर्षपछि तङ्ग्रिन थालेकी पारिजातले एकदिन बहिनी सुकन्यालाई भनेकी थिइन्, ‘सुकन्या म पराजित जन्मेकी रहिछु’ त्यसै दिन सुकन्याले भनेकी थिइन्-तिमी पराजित हुनै सक्दिनौ, तिमी अपराजिता हौ।

पारिजातको रोगी अवस्थालाई सहानुभूति देखाउने मात्र होइन; सहयोग गर्ने पनि धेरै थिए। सिद्धिचरण श्रेष्ठ तथा दान खालिङले पारिजातलाई राजाकोमा बिन्तीपत्र हाल्न लगाए र राजदरबारबाट कहाँ लगेर उपचार हुन्छ गर्नु भन्ने कुरा भयो।

तर वीर अस्पतालका डाक्टरले यहीँ ठिक हुन्छ बाहिर लानु पर्दैन भनेकाले (पृ.१८०) देशबाहिर लगेर उपचार गर्ने कुरा सम्भव भएन। यसप्रकारले उनी जीवनभर रोगी रहिन्।

फागुन २१, २०४८ मा छापामा आएको उनको अस्वस्थताको समाचारले दिक्क भएर भनेकी थिइन्, ‘पहिलेदेखि नै केही भ्रमहरूमा जेलिएको मेरो जीवनगाथालाई अझ बढी भ्रममा जेलिदिएको छ।

म ग्यास्टिक अल्सरको थप रोग लिएर फर्कें।’ त्यसैले जीवनका अन्तिम वर्षतिर पारिजात आफ्ना असन्तुष्टिहरूलाई व्यक्त गर्न रातिराति विभिन्न व्यक्तिलाई फोन गर्थिन्। तिनमा एक खगेन्द्र सङ्ग्रौला (पृ.३७१) थिए।

अंग्रेजी भाषाको ज्ञानले मात्र हुने कुरा थिएन। विष्णु वाइवा पारिजात बन्नुपर्ने खास कारण चाहिँ उनको नेपाली भाषा खेलाउन सक्ने सामथ्र्य, शैली, सिप र चिन्तन र मनन नै हुन्।

उनका लेखौटहरूमा प्रयोग भएका शब्द तथा वाक्यको बुनौट र भावभूमि हेर्दा अझै लाग्दछ उनका कलमले नेपाली भाषामा जादू लेख्थ्यो। पाठक त्यो जादूमा रमाइरहन्थे। उनको यही वैशिष्ट्यका कारणले गर्दा रूपरेखासँग पारिजातको नजिकको नाता थियो। लेखिकाका रूपमा, स्तम्भकारका रूपमा (पृ.१४४) प्रख्यात थिइन्।

त्यसका सञ्चालक उत्तम कुँवर, वालमुकुन्द देव पाण्डेजस्ता नेपाली साहित्यका हस्तीलाई पनि प्रभाव परेको थियो। पारिजात निम्छरा समालोचकलाई भन्थिन्, ‘मलाई के लाग्छ भने-हाम्रा आलोचकहरूमा बौद्धिक स्तरको कमी र बौद्धिक स्तर भए पनि अध्ययनको कमी छ-बढी पूर्वाग्रही र पक्षपाती भएर लेख्छन् (पृ.२०७)।

‘सुश्री पारिजात’ मा पारिजातको सुन्दरता, प्रेम, यौनसम्बन्धका बारेमा पर्याप्त लेखिएको छ। मंगोल सुन्दरी, श्वेत गोरी तथा दार्जिलिङको तुलनात्मक खुला समाजमा हुर्केकी पारिजात निकै आकर्षक थिइन्।

स्कुले जीवनमै उनले पहिलो प्रेम धनुवर मुखियासँग गरिन्। प्रेम पत्र लेखिन्। तर मूल कुरा पारिजातलाई लाग्दथ्यो कि बिहे गर्ने हो भने स्वतन्त्रता समाप्त हुने छ (पृ.४९)। त्यसो भएकाले उनले पहिलो प्रेमीलाई छुट्टिने अनुरोध गरेपछि पारिजातको जीवनबाट धनुवर मुखिया चुपचाप गइदिए।

त्यो थियो आदर्श प्रेम। उनलाई दुःखी नतुत्याउन उनकै आग्रहमा कसरी प्रेमपथबाट सरक्क हटिदिएका थिए धनुवर। न रिस, न राग, न क्षोभ, न आक्रोश (पृ.४९)। तर पनि जीवनका कालखण्डमा जबजब समस्या आउँथ्यो आफ्नो पूर्वप्रेमी धनुवर मुखियालाई सम्झेर रुन्थिन् (पृ.२८०)।

अनि उनी भन्थिन्, ‘पुरुष मेरा लागि साथी हो, जसको सधैँ आवश्यक हुन्छ र पुरुष भौतिकपूर्ति हो (पृ.२६१) । सेक्सलाई लिएर आक्रमण र समर्पण दुवै छैन मसँग। मेरो फ्रस्ट लभरसँग शारीरिक चाहना अझ पनि छ मसँग। उहाँले मेरो हात समाइदिँदा मात्र पनि मलाई सुखद अनुभूति हुन्छ पहिले होइन आजभोलि (पृ.२५५) ।

कालिङ्पोङ बस्दा एउटा विवाहीत पुरुष गुन्डा पछि लागेको हुनाले उनले कालिङपोङबाट भागेर हिँड्नु परेको थियो। यसको कारण पनि उनी सुन्दरी भएकैले हो। काठमाडौँ आउँदा उनी सग्लो, सद्दे र सुन्दर रूप लिएर आएकी थिइन्।

उनको सौन्दर्यले काठमाडौँका साहित्यिक माहौललाई आकर्षित गरेको थियो। उनको डेरामा उनको शारीरिक र बौद्धिक सौन्दर्यले डोरिएर पुग्थे कवि, कलाकार, बिहान, दिउँसो, साँझ राति (पृ.१७८)।

काठमाडौँका साहित्यकार नयाँ र पुराना, नाम चलेका र चल्दै गरेका सबैको ध्यान आकर्षित गर्न सफल भयो उनको सौन्दर्य (पृ.४०) । रक्सी तथा चुरोट पिउन तथा साहित्यको महफिल जमाउन पारिजातको डेरामा पुग्थे। तत्कालीन अवस्थाका साहित्यकारमा सायदै कोही उनको डेरामा नपुगेको होस्। नेपाली स्रष्टाहरू भट्टीमा टन्न मातेपछि रातको बेला पनि पारिजातको ढोका ढकढक्याउन जान्थे (पृ.१२९) ।

नारायण गोपाल, गोपाल योन्जन, रामेश, रायन र मन्जुल, उत्तम कुँवर, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मोहन कोइराला, उपेन्द्र श्रेष्ठ, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतमलगायत अन्य धेरैको आवतजावत हुन्थ्यो।

प्रस्तुत कृतिभित्र पारिजातको संलग्नता हर्क गुरुङसँग रहेको पनि उल्लिखित गरिएको छ। तर त्यति बेला नै हर्क गुरुङलाई बेलायतमा छात्रवृत्रि मिल्यो। हर्कले पारिजातलाई बिहे गरेर सँगै लैजाने सपना देखे।

तर अचानक पारिजातले मन फेरिन् (पृ.५१)। यसैगरी भूपि शेरचन र पारिजातको मित्रताले औपचारिकता नाघिसकेको थियो (पृ.११२) । भूपि पैसा खर्च गर्न माहिर थिए।

तर अन्त्यमा पारिजातले भूपिलाई कोठाबाट गेटआउट भनेर निकालेपछि फेरि दुवैको भेट भएन (पृ.११४)। यसैगरी कृतिभित्र पारिजात र शंकर लामिछानेको सम्बन्धको पनि यथेष्ट चर्चा गरिएको छ।

मदन पुरस्कार प्राप्त उपन्यास शिरीषको फूल’ मा भूमिका शंकरले लेखेका थिए। शिरीषको फूलको प्रकाशन पनि आफ्नै खर्च हालेर गरिदिएका थिए। त्यसैले उनी पारिजातको डेरामा गएर सँगै रक्सी पिउँथे (पृ.८९) ।

पारिजातको नजरमा शंकरको व्यक्तित्व थियो काव्यप्रेमी, कलाप्रेमी, संगीत प्रेमी, तथा हाँस्न हँसाउन सक्ने थुप्रै सेन्स अफ ह्युमर भएको (पृ.९१)। तर पारिजात राल्फाली समूहसँग नजिकिन थालेपछि सायद शंकर लामिछानेलाई मन परेन। त्यसपछि दुवैको त्यति नजिकको सम्बन्ध भएन।

‘सुश्री पारिजात’ मा पारिजातले विमल राल्फालाई यौनसाथी बनाएको कुरा पनि सहजताका साथ उल्लेख गरिएको छ। विभिन्न साहित्यकारहरूले पारिजातलाई यौनका दृष्टिले हेरेको कुरा, चाहना राखेको कुरा पारिजातले बुझेकी थिइन्।

अनेक आकांक्षाको सिकार हुनुभन्दा एउटा विमल नै ठिक भन्ने पारिजातको मनले स्वीकार्‍याे र उनले विमललाई आफ्नो शरीर सुम्पिदिइन् (पृ.१२०) र पुतली सडकको डेरा छोडी एकान्तको ठाउँ भाजंगलमा डेरा सरिन् विमललाई लिएर सुकन्या तथा पिताका साथमा।

कृतिभित्र उल्लेख भएअनुसार विमलसँगको यौनसन्दर्भका बारेमा पारिजातले खुलेरै लेखेकी थिइन्, ‘मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिनु पर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो।

एकातिर म अलि संकाेचशील र विवश। अर्कोतिर ऊ अति कामुक र परपीडक। ती सम्पूर्ण यौन सम्बन्धभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिनँ। सहवासको क्रम सिद्धिएपछि म सधैँ शारीरिक साथै मानसिक पीडाले शिथिल हुन्थेँ।

ऊ स्वाभाविक उत्तेजनामा आउँदा म सधैं डर, त्रास, अपमान र दुःखले अधमरो भइरहेकी हुन्थेँ। त्यो त मेरा निम्ति सधैँसधै एउटा प्रतिरोधहीन बलात्कार सिद्ध भएको छ (पृ.१२१)।

पारिजात विमलसँग बिहेको कुरा गर्न थालिन्। तर विमल टार्दै थिए। विमलले कृष्णा ताम्राकारकी छोरीसँग बिहे गरी पारिजातलाई छोडिदिए (पृ.१२१)। पारिजातको मृत्युपछि पनि विमल गएनन्।

पारिजातको सुन्दरता र यौनको विषयमा प्रा. ईश्वर बरालले खुलेरै लेखेका छन्, ‘काठमाडौँमा तिनको सम्पर्क नाना युवकसित भयो। तर कसैसितको तिनको प्रेम प्रसंग एकनिष्ठ हुन पाएन (पृ.१५३)।’

वास्तवमा उनले ‘प्रेमको बहाना, विवाहको संकल्प अनि पलायन, कामुक आँखाहरूको पेलाइ, क्षणक्षणको इश्र्या डाह आर्थिक कष्ट आदिको सिकार (पृ.१०६) भएको कुरा पनि लेखेकी छन्।

‘सुश्री पारिजात’ भित्र पारिजातको लेखन पद्धतिलाई हेर्‍याे  भने उनी नेपाली साहित्याकाशमा चम्किनुको कारण उनको अंग्रेजी भाषाको सामथ्र्य तथा नेपाली भाषा प्रयोगमा विशिष्टता मात्र होइन; पियर रिभ्यु पनि हो। उनका डेरामा आउने विशिष्ट विद्वानको कुनै कमी थिएन।

ती विद्वानहरूका बिचमा पारिजातले लेखेका कविता, कथा, उपन्यासका बारेमा वाचन, वृहत् छलफल र राय सल्लाह लिने काम हुन्थ्यो। यसबाट उनी आफ्ना कमजोर रचनाहरूलाई सकेसम्म प्रकाशनपूर्व नै सुधार गर्थिन् (पृ.१९२)।

यसैगरी ‘सुश्री पारिजात’ कृतिले पारिजातको लेखन शैली परिष्कार हुन पाएको यथार्थ पस्किएको छ। उनी असाध्य धेरै पढ्थिन्। दाजुले पढ्ने गरेको कोकशास्त्रलगायत प्रेमलहरी, परिकथा, दन्त्यकथा, दुस्साहसका कथा, गुलाबकलीका कथा सबै पढेकी थिइन्।

त्यसैले उनको पढाइको विषय तथा स्तरको व्यापकता अस्मेल थियो। त्यसो त पारिजातको जीवन आफैँमा सुललित तथा क्रमबद्ध थिएन। तिनले उनका जीवनमा अनेकन राम्रा तथा नराम्रा उहापोहहरू जन्माएका थिए। आफ्ना भोगाइ, देखाइ तथा चिन्तन गराइले उनका कृति निसृत हुन्थे।

उनी प्रकृतिसँग रमाउँथिन्। उनका कृतिमा प्राकृतिक चित्रण अब्बल हुन्थ्यो। त्यसकारण पारिजातभित्र भएको प्रतिभा आफैँभित्र डुबिरहने, आफैँभित्र हराइरहने तथा बाधा दिने कोही नभए घण्टौँसम्म टोलाएर बस्ने (पृ.१००) गथ्र्यो।

यो कुरा कृतिभित्र यसरी लेखिएको छ, ‘त्यसैले एकान्त भएपछि छिँडीको कोठामा जान्थिन्। कलम समाउँथिन्। अनि बर्सौदेखिका अव्यक्त पीडालाई कागजमा उतार्थिन्। त्यो अभिव्यक्ति बन्थ्यो, निराशाका कविताहरू, आँसुका कविताहरू, नीरस प्रेमका कविताहरू (पृ.३७)।’

उनी आफैँ भन्थिन्, ‘पारिवारिक पृष्टभूमि, मेरो अन्तरमुखी स्वभाव तथा अति कलिलो उमेरमा झेल्नु परेको प्रेमसम्बन्धी त्रासदीय गल्ती र त्यसैको प्रतिक्रिया स्वरूप आएका असन्तुष्टि, मौन रुवाइ, अपराधबोध र दुःस्वप्नहरूले निरन्तर चिथोरिरहेको थियो (पृ.३७)।’

२०१३ सालमा चित्तरन्जन नेपालीले धरती पत्रिकाको वर्ष १, चैत्रमा सुश्री पारिजातका नामबाट छापिदिएका ३ कवितामा कविको नाम सुश्री पारिजात भएकाले त्यसैका नामबाट उनी विष्णुबाट सुश्री पारिजात भइन्। पारिजात भन्थिन्, ‘बढी चिन्तन गर्छु, कम लेख्छु’।

पारिजात शैली र विचार दुवै पक्षबाट समयअनुकुल आधुनिक र प्रभावकारी हुनुपर्ने धारणा राख्थिन् (पृ.३०८)। भावलाई जति सक्यो उति संवेद्य तथा सम्प्रेषणीय बनाउन सक्नु कविको कुशलता हो(पृ.३०८) भन्थिन्। शैलीमा आफ्नो चिनारी कायमै राखेर वृत्तिहरूलाई एकरसताबाट बचाउन सक्नु नै कथाकार को चमत्कार हो।

पारिजात आफ्ना लेखनीका उद्देश्यमा प्रष्ट थिइन्। उनी भन्थिन्, ‘तपार्इँ लेखकीय उत्तरदायित्वप्रति सजग हुनुु नै मेरा निम्ति महत्त्वपूर्ण छ। नत्र धेरै लेखक आफनो युग र समाजप्रति लबस्तरा भइदिन्छन्। उनीहरूलाई आफ्नो महत्त्वाकांक्षा भए पुग्छ (पृ.२४६)।

उनको चमत्कारिक लेखनको प्रभाव चाहेर वा नचाहेर नेपाली साहित्यवृत्तमा अग्लिएको थियो। चुलिएको थियो। उनको त्यो अग्लाइका कारणले भारतको सिलिगुडीमा उनको सालिक (पृ.३१३) निर्माण भयो। खार्साङमा अभिनन्दन (पृ.३१४) भयो।

दार्जिलिङमा पारिाजतको भव्य स्वागत भयो। पूरै गाउँ तथा स्कुल उर्लेर पारिजातको स्वागत गर्‍याे।  (पृ.२८५)। त्रिविमा २०४६ मंसिर ५ मा अभिनन्दन भयो। जनमतको पारिजात विशेषांक निस्क्यो।

‘जिउँदोमा केको विशेषांक भनेर वामपन्थी साहित्यकार निनु चापागाईँ तथा खगेन्द्र संग्रौलाले विरोध गरे पनि जनमतको पारिजात विशेषांक निस्क्यो (पृ.२३२)। राजनीतिमा लागेका मान्छे यस्तो ढोँगी हुन्छन् भन्ने कुरा यो कुराले पनि प्रष्ट पार्छ।

तर प्रमुख अतिथि केदारमान व्यथितले ‘पारिजात यस युगको हाँक हो, महानताको गर्भ र सिर्जनाको मुहानलाई म पनि मुरीमुरी प्रशंसा गर्छु। साहित्यलाई राजनीतिको दलदलबाट मात्र हेर्नु हुन्न।

हामीले पनि पारिजातलाई यसै दृष्टिकोणलाई आधार बनाएर मूल्यांकन गर्नु पर्छ’ भन्ने विचार प्रस्तुत गरेर पारिजातको सम्मान गरेका थिए। पारिजातले गङ्की वसुन्धरा पुरस्कार २०४९ सालमा पाइन्। त्रिवि सभासद भइन्। उनले प्रज्ञा वहिस्कार गरेको भए पनि त्रिवि सभासद भने स्वीकार गरिन् (पृ.२३६)। तामाङ घेदुङबाट २०४९ सालमा अभिनन्दन भयो।

छेकुडोल्मा, विष्णु कुमारी वाइवा नाम बोक्दै २०१३ सालमा कविता प्रकाशित गराएर पारिजात बन्न पुगेकी उनको नाम सुमित्रा काँडा, चिट्टीमा शित लामा, भान्साघरे काइँली, किशोरीलाई स्तरीय खुराक दिने प्रियंवदा (अस्मिता पत्रिका) (पृ.२६८) का नाममा पनि सिर्जना गर्थिन्।

पारिजात भन्थिन्, ‘आफ्नो पिरमर्का, अर्काको पिरमर्का सबै लेख्छु। जीव र जगतसापेक्ष जीवनका वास्तविकताहरू लेख्छु (पृ.२७७)। आख्यानका लागि पात्र अध्ययन गर्ने, पात्र पहिचान गर्ने, र त्यसैका आधारमा कथा बुन्दै जाने लेखन परिपाटी (पृ.१८८) थियो पारिजातको।

कृति ‘सुश्री पारिजात’ मा पारिजातको निस्सारतावाद तथा शून्यवादको व्यापक चर्चा भएको छ। मान्छेले जीवनमा अनेक हन्डरठक्कर र असफलता पाएपछि अनुभूत गर्ने त्यही निराशा त हो। चाहे आम मान्छे हुन्, चाहे लेखक।

आम मान्छे रुन्छन् भक्कानिन्छन् तर लेखक त्यसैलाई अक्षरमा ढालेर तुष्टि लिन्छ (पृ.२७८)। त्यसैले पारिजातलाई आफ्नो विगतसँग रत्तिभर गुनासो थिएन। पारिजात भन्थिन्, ‘जे भए, राम्रै भए।

सबैले मलाई सुम्सुम्याएर काँधमा नचढाएका भए अथवा मसँग छलकपट पनि नचलेको भएदेखि म त निकृष्ट नमुनाको फोसिल र ब्याक्टेरिया भइसक्थेँ (पृ.२७९)। यसो भएकाले सकारात्मक तथा दृढ भएर पारिजातले आफ्ना सिर्जना निर्माण गरेको प्रष्ट हुन्छ।

पुस्तकमा पारिजातको वैचारिक उथलपुथलका बारेमा पनि व्यापक चर्चा भएको छ। भनिएको छ कि सुरुमा उनमा राजनीतिक चेत थिएन । त्यसो भएता पनि दार्जिलिङका कम्युनिष्टको व्यवहार देखेर उनी कम्युनिष्टप्रति असहिष्णु थिइन् (पृ.२१२)। भनूँ कम्युनिष्ट बिरोधी थिइन्।

तर त्यो राजनीतिका चेतनाका कारणले भने भएको थिएन। २०१५ सालको चुनावमा उनी आस्थाले होइन, रहरले जिपमा बसेर हिँडेकी थिइन्।

तर तुरुन्तै पारिजात नेपाल कम्युनिष्ट पार्टी चौम तथा राल्फासँग सम्बन्ध गाँस्न पुगिन्। पुतलीसडकको डेरामा झिँगा झैँ भुनभुनाइरहेका साहित्यकार, कलाकार र विभिन्न व्यक्तिको यौनिक दृष्टिबाट मुक्त हुन उनी राल्फाली भाइहरूसँग आफू मौरीको रानो झैँ बनेर राल्फातिर ढल्केको (पृ.१५३) कुरा व्यक्त गरेकी छिन्।

चैनपुरका ज्ञान उदास, भोजपुरका कीर्तिरमण (विमल) चापागाईँ, मञ्जुल, रामेशसँग संसर्ग भएपछि प्रभावमा आएर उनी राल्फाली भइन्। उनकै भनाइमा जेल भित्रबाट निर्मल लामा, मोहनविक्रम सिंह, र जेल बाहिरबाट कृष्णप्रसाद भण्डारी गोविन्द भटटजी आदिले माक्र्स, एङ्गेल्स, माओ, लेनिनका कृतिको अध्ययनतर्फ प्रवृत्त गराए (पृ.२१२) ।

व्यक्तिवादिताबाट समाजवादितातर्फ, मृत्युबाट जीवनतर्फ, पलायनबाट संघर्षतर्फ र निराशावादबाट प्रचण्ड आशावादितातर्फ पारिजातको जीवनको ठूलो फड्को हो (पृ.२२८)।

परम्पराको जति यथार्थ पल्टाउँछु, उति म विद्रोहीभन्दा बढी केही प्रमाणित हुन सक्दिनँ (पृ.१०४), जब घरमा दाउरा लिएर आएको भरियालाई पुसको जाडोमा एक धरो कट्टु गन्जी लगाएको देख्छु, अनि मलाई असमानताविरुद्ध राल्फा हुनुको अनिवार्यताले झन् कस्न थाल्छ (पृ.१०४)।

तर पारिजातको राल्फामा चर्चा गरिएजस्तो नेतृत्वदायी भूमिका थिएन (पृ.१०५)। उनले आफ्नो नामका अगाडि राल्फा लेखिनन्। तर मञ्जुलले लेखेको पारिजातको जीवनमा आधारित उपन्यास छेकुडोल्मामा पारिजातले नै भूमिका लेखिन्-एउटा राल्फा अर्को राल्फाको डायरीमा (पृ.११७)।

तर पारिजातले जीवनका पछिल्ला वर्षहरूमा राजनीतिक आस्था छोडिदिइन्। उनको विचारमा परम्परा मानिसभन्दा ठूलो होइन (पृ.९६)। कम्युनिष्ट पार्टीमा आएको विभाजन र एक कम्युनिष्ट पार्टीले अर्काप्रति हिलो छ्यापेको देखेर राजनीतिसँग वितृष्णा भयो (पृ.२१९)।

कम्युनिष्ट राजनीतिमा जन्मदिन पनि मान्न नहुने (पृ.२२६), कतिसम्म भने प्रेम प्रसंगलाई अलिकति गहिरिएर सोच्न थाल्यो कि संशोधनवादी, बुर्जवा भनी लाञ्छना लगाउने, प्रेमलाई जीवनको अनावश्यक ठान्ने जस्ता विपर्यास र असामाजिक कुरा पारिजातलाई मन परेन। त्यसैले उनी भन्थिन्, ‘प्रेमलाई लिएर हामी यति बाक्लो पर्दा नओढौँ (पृ.२५४)’।

पारिजातको जीवनी तथा अनुभवलाई अगाडि सारेर पुस्तक ‘सुश्री पारिजात’ ले साहित्यकारहरूको राजनीतिक दलसँगको सामिप्यलाई केलाउने प्रयत्न पनि गरेको छ। वास्तवमा राजनीतिक आस्था तथा प्रतिबद्धता साहित्यमा उजागर गर्ने प्रयत्न गरियो भने त्यसको वैचारिक तथा कलात्मक पक्ष कमजोर बन्दछ।

यही कुरालाई प्रष्ट पार्न भनिएको छ कि कला र विचार दुवैका दृष्टिले शिरीषको फूलको रचनाले उहाँका त्यस बखतका सम्पूर्ण चिन्तन र सपनाहरूसित मेल खान्थ्यो।

त्यसमा बढी स्वाभाविकता आयो । सुन्दर कलात्मक भए ती । तर प्रगतिशील थिममा लेखिएका रचनाहरूमा त्यसप्रकारको रचनात्मकता तथा कलात्मकता देखिएन (पृ.८१)।

राजनीतिले साहित्यमा पार्ने प्रभावका बारेमा भन्नुपर्दा भानु पत्रिकाका सम्पादक भवानी घिमिरेले शक्ति लम्साललाई पारिजातको अन्तरवार्ता लिन पठाए र अन्तरवार्ताका सबै पानामा पारिजातको हस्ताक्षर गराएको घटना पनि रोचक छ।

राजनीतिक कारणले नै पछि पारिजातले नै त्यो अन्तरर्वार्ताको विरोध गरिन् (पृ.१०६)। यसैगरी राजनीतिक आस्थाबाट अलिकति स्वतन्त्र हुन खोज्दा पारिजातले लेखेको बैँसको मान्छे उपन्यासलाई निनु चापागाईँले निर्मल लामाको सहयोगमा सुशील देवकोटको छद्म नामबाट तथानाम आलोचना गरे। यद्यपि पछि निनुले यो घटनालाई दुर्घटना भने (पृ.१७१)। यो प्रतिकृया पनि राजनीतिक आस्थाले साहित्यको निर्मम हत्या गर्छ भन्ने उदाहरण हो।

राजनीतिले साहित्यलाई पार्ने नकारात्मक प्रभावका बारेमा पारिजात र अशेष मल्ल बीचको एउटा घटना पनि दृष्टान्त बन्न सक्छ। गरिमाका लागि गैरवाम विचारका अशेष मल्लले लिन खोजेको अन्तर्वार्ता सायद राजनीतिक कारणले पारिजातले नदिएकाले (पृ.२१६) अशेष मल्लले पारिजातको उपन्यास झ्यालबाट हुर्याइदिएर स्रष्टा पारिजातलाई नै फोन गरेर जानकारी दिएको घटना पनि राजनीतिक आग्रहसँग सम्बन्धित देखिन्छ।

पारिजातकोमा वामपन्थी तथा गैरवामपन्थी साहित्यकारहरूको जमघट भइरहन्थ्यो। आफू प्रगतिशील भए पनि गैरप्रगतिशील रचना या कृतिमा उनको पानी बाराबार थिएन (पृ.२९६) । तर उनी ईश्वर बल्लभलाई प्रतिक्रियावादी लेखक भन्थिन्।

किनभने ईश्वर बल्लभले शिरीषको फूलको निकै आलोचना गरेका थिए । पारिजात इन्द्रबहादुर राईलाई पनि प्रगतिवादको घोर विरोधी ठान्थिन्। किनभने पारिजातले तेस्रो आयामलाई अंग्रेजी साहित्यको क्युबिज्म (धनवाद) को कपी भनिदिएकी थिइन्। यसरी राजनीतिक आस्थाका कारणले साहित्यकारहरूमा भनाभन हुन्थ्यो। तर वैरागी काइँलालाई भने पारिजात राम्रो मान्थिन्।

पारिजातले ‘तोरीबारी बाटा र सपनाहरू’ र ‘अन्तर्मुखी’ उपन्यास प्रज्ञाप्रतिष्ठानबाट विद्वत वृत्तिमा लेखेकी थिइन् (पृ.३२२)। तर राजनीतिक आस्थाका कारणले गर्दा २०४६ सालपछि पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा वामपन्थी धारका लेखकलाई समावेश नगरी वामपन्थी विरोधी डा. ईश्वर बरालको नेतृत्वमा एक पक्षीय रूपले गठन गरिएको थियो (पृ.३२३)।

यसको विरोधमा प्रगतिशील लेखकका तर्फाबाट प्राज्ञिक संघर्ष समितिको नेतृत्व गरेकी उनलाई गैरवामपन्थी सरकार र एकेडेमीले चासो दिएन (पृ.३८०)। त्यसैले गर्दा पारिजातले प्रज्ञा प्रतिष्ठानलाई बहिस्कार गरेकी थिइन् (पृ.३२६)।

सन १९७६ मा काठमाडौामा भएको महिला पुस्तक प्रदर्शनीमा राखिएको आगन्तुक पुस्तिकामा मदन पुरस्कार विजेता कञ्चन पुडासैनी र घटराज भट्टराई हस्ताक्षर नगरी सुटुक्क निस्केका र जति आग्रह गर्दा पनि डा दयाराम श्रेष्ठ तथा तुलसी दिवसले प्रतिक्रिया नलेखेकोमा पारिजातको चित्त दुखेको थियो (पृ.३४३)। यसको कारण पनि राजनीतिक नै बताइन्छ।

त्यसो त फरक विचारका मात्र होइन; एउटै विचारका दुई साहित्यिक व्यक्तित्वमा पनि राजनीतिको टकराव हुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी चौमकी पारिजात तथा मालेका रघुजी पन्तका बिचमा तिक्तता थियो (पृ.३४४)। प्रगतिशील भन्नेहरूमा पनि फाटो थियो।

वामपन्थी पार्टीहरू जसरी एकाएक फुट्थे र नयाँ रूपमा आउँथे, त्यसमा संलग्न साहित्यकार पनि त्यसरी नै चिराचिरा पर्नु एउटा कालखण्डको नेपाली प्रगतिशील साहित्यकारहरूको नियति थियो (पृ.३५५)।

यसो भएकाले पारिजात राजनीतिबाट उन्मुक्त हुन चाहन्थिन्। उनमा राजनीतिले दिएको निराशाउपर असन्तुष्टि थियो। आफ्नै प्रगतिशील साथीहरूले आफूलाई गलत बुझेकोमा पनि आक्रोश थियो (पृ.३८१) ।

र अन्त्यमा पारिजात निष्कर्षमा पुगेकी थिइन् कि ‘साहित्य र राजनीति सँगसँगै नारिएर जानुपर्छ भन्नु पनि गलत हो। साहित्यले राजनीतिको दस्तावेज भएर आउनु हुँदैन (पृ.२१५)’।

पारिजातको जीवनबोध तथा उनले अँगालेको विविध दर्शनका बारेमा ‘सुश्री पारिजात’ मा यथेष्ट उल्लेख गरिएको छ। पारिजातलाई त्यो उचाइमा पुर्याउने उनको निस्सारतावादी दर्शन हो भन्न सकिन्छ। जीवन आखिर निस्सार र शून्यमा गएर विलिन हुन्छ।

यो कुरालाई पारिजातले भोगेर/देखेर तथा पढेर बोध गरेकी हुन्। त्यसैले पुस्तकभित्र उनी भन्छिन्, ‘हामीले आफ्नो जीवनभित्र नै समाधानको बाटो पत्ता लगाउनु छ। तर मलाई लाग्छ, समाधान पाउनु र समाधान खोज्नु दुवैको कुनै अर्थ छैन।

एक किसिमले मानिस बिनाअर्थ नै मर्न र बाँच्न सक्छ (पृ.११०) । निस्सारता सायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन (पृ.८९)। मदन पुरस्कार प्राप्त शिरीषको फूल उपन्यासको मूल थिम नै निस्सारता वाद तथा शून्यवाद थियो।

तर पारिजात निस्सारतावाद तथा शून्यवादमा अडेर बस्न सकिनन्। राल्फालीहरूसँगको सम्बन्धपछि जीवन र जगत्लाई प्रगतिशील दृष्टिबाट हेर्न थालिन्। प्रगतिशील थिममा समाजलाई हेरेर आफ्ना कृति सिर्जना गर्न थालिन् (पृ.१३९)। त्यो कालखण्डमा उनको जीवनदर्शन प्रगतिशीलता रह्यो।

‘सुश्री पारिजात’ मा पारिजातलाई फेमिनिस्ट विचारकी स्रष्टा भनेर चित्रण गरिएको छ। यद्यपि पारिजातको बसउठ र सरसङ्गत महिलाभन्दा पुरुषहरूसँग हुन्थ्यो । तैपनि उनमा महिलावादी सोच प्रवल थियो (पृ.२५८)।

महिलालाई हेप्ने परिवेस, भाषा, सन्दर्भ सबैका प्रति उनी आलोचक थिइन्। उनी भन्थिन् -पुरुष हैकमवाला समाजले युगौँदेखि हामीमा थोपरिदिएको सङ्कीर्णताबोधको संस्कार हो (पृ.२५९)। महिलालाई फेसनमुखी बनाएर विज्ञापनमा प्रयोग गर्नु र सुन्दरी घोषित गर्नु महिलाहरूको शोषण हो (पृ.२६०)।

पारिजातलाई नास्तिक मान्ने जमात पनि कम छैन। यो कुरा पुस्तकमा उल्लेख भएको छ। तर पारिजात भन्थिन्, ‘सबै धर्मको आधार नैतिकता र प्रेम नै रहेछ। त्यति मसँग पनि भए जस्तो लाग्छ। तर आजसम्म म आफूलाई नास्तिक मान्न तयार छैन (पृ.१८१) ।

यसो भएकाले पारिजातको जीवनदर्शन परम्परागत धार्मिक आस्थाभन्दा टाढा थिएन। किनभने उनले इसाई बनाएको देखेकी थिइन् । बुद्धधर्मको शान्तिबाट प्रभावित थिइन्।

उनी जीवनका बारेमा भन्थिन्, ‘जीवनमा मैले जेजति चाहना सँगालेकी थिएँ, कुनै पूरा हुन पाएनन्। मेरा थुप्रै आकांक्षाहरूको हत्या भएको छ। कुनै प्रकृतिले, कुनै परिस्थितिले, कुनै अभिभावकले (बाबुले), र कुनै जानअनजान आफैँले (पृ.२७६)। मान्छे सास फेर्नुमा पूर्णविराम नलागुन्जेलसम्म अनुभूति र अर्थहरूको टुंगो लाग्दैन।

बाँच्दै छु। अझ बाँच्नु छ। दुःखसुख दुवै पोल्टामा सँगाल्दै (पृ.२७७)। तर पारिजातले ती हलाहललाई घाँटीबाट मुन्तिर पुग्न दिइनन् र नीलकण्ठ बनेर जीवनका आफ्ना आयुहरूलाई हाँकका साथ बिताइन् (पृ.३२७)।

यसरी अन्त्यमा आएर पारिजात जीवनवादी भइन्। जीवनवाद नै उनको अन्तिम जीवनदर्शन भयो।

नेपाली साहित्यवृत्त पारिजातको प्रसंग आउनेबित्तिकै रक्सी सेवनको कुरा गरिहाल्छ। किनभने नेपाली समाजले रक्सी खानु नराम्रो हो भन्ने पूर्वमान्यता पालेको छ।

नेपाली साहित्यकारले उनको मदन पुरस्कार प्राप्त कृति नपढेको हुनसक्छ, तर रक्सी प्रसंग भने कण्ठै छ। रक्सी नखानेहरूले नेपाली साहित्यमा के कति योगदान दिए भन्ने चिन्तन गर्न कहाँ पो फुर्सद छ र नेपालीलाई?

‘सुश्री पारिजात’ पुस्तकले पारिजात र रक्सीका बारेमा पनि विस्तृतमा चर्चा गरेको छ। हो, पारिजात रक्सी खान्थिन्। चुरोट तान्थिन्। अम्मली थिइन्। तर रक्सी र चुरोट व्यक्तिको निजत्व हो भन्न कहिलेदेखि थाल्छ होला नेपाली समाज?

रक्सी प्रसंगका बारेमा पारिजात आफैँले लेखेकी छिन्, ‘रामेश, म थाक्छु। यो मेरो सानो रिल्याक्स। थकाइ र पीडा बिर्सने बहाना। अलिकति मनोरञ्जन। मलाई क्यै नभन (पृ.३५८)। त्यसो त उनलाई भेट्न जाने पुराना र नयाँ साहित्यकारकहरू चुरोटको डिब्बा कासेली लिएर जान्थे (पृ.२५२)।

पारिजात त यसो पनि भन्थिन्, ‘रक्सी र चुरोटबिना पनि मान्छे बाँच्दो रहेछ हगि?(पृ.२५२)। चुरोट मेरो साथी हो भन्थिन् (पृ.६२)। दुखाइका कारणले कोडोपाइरिन खान्थिन् नभए रक्सी खाइदिन्थिन् (पृ.६३)। कुँजिएका हातका औँलाले चुरोट च्याप्नु, साँझमा मदिरा उठाउनु र साहित्य सिर्जना पस्कनु उनको विशेषता र नियति दुवै थियो (पृ.१७८)।

२०४९ माघ ४ गते पारिजातले अन्तिमपटक टन्न रक्सी खाइन् (पृ.२५३) ।

पारिजात खुला किताव थिइन्। उनमा लप्पनछप्पन थिएन। जे थिइन् खुला देखिन्थिन्। त्यही खुलापनले पारिजातका जीवनमा गाली गलौज, लाञ्छना, आक्षेप निम्त्यायो (पृ.२६९)। पारिजातका पिठ्युँपछाडि बदख्वाइँ गर्थे वरिष्ठ तथा कनिष्ट साहित्यकारहरू।

गाली गलौज गर्नेमा गैरवाम पनि हुन्थे। धेरै चाहिँ वामपन्थी (पृ.२७०) थिए। तर उनी अडिग भएर साहित्यमा टिकी रहिन्। उनलाई कपटी आइमाई, प्रगतिशीलताका नाममा सरकारी भत्ता खाने, सिआइडी, अनेकअनेक (पृ.२७१) भनेर लान्छना लगाउँथे।

पारिजातको नजिकै रहेका नकुल काजीले शिरीषको फूललाई ‘द सेटिङ सन’ को कार्बन कपी’ भनिदिए (पृ.१७४) । इन्द्र बहादुर राईले पनि उनलाई चोरीको आरोप लगाए।

यसलाई पारिजातले इन्द्र बहादुर राईले बदला लिएको भनिन् (पृ.१७५)। किनभने पारिजातले इन्द्रबहादुर राईले नेतृत्व गरेको तेस्रो आयामलाई क्युबिज्म याने धनवाद भनेर आरोप लगाएकी थिइन्।

यसैगरी डा. ईश्वर बरालले त नानाथरी युवकसँग सम्पर्क गर्ने तर प्रेम स्थीर नभएकी महिलाका रूपमा चित्रण गरे। पारिजातले आफैँले लेखेकी छिन्, ‘रोगी स्त्रीको प्रलाप र अनुपलब्ध यौनसुखको विकृति’ भनी साहित्यिक रूपले बदनाम छु (पृ.२६९)।

पारिजातलाई पक्षाघातले कुँजो भएकी, अपांग, जन्मँदै उच्च रक्तचाप तथा पक्षाघातले आँडेबाउँडे कुरूप पारिजात भनेर हियाउने मान्छेको पनि कुनै कमी थिएन (पृ.१८३) र जबकि उनी पक्षाघातको बिरामी थिइनन्। न त उनी कुँजी थिइन्।

यसरी विविध पक्षबाट आक्रमण भएपछि पारिजात निस्सारतावादी दर्शनमा पुग्थिन्। त्यसैले उनलाई लाग्न थालेको थियो कि जीवनको कुनै तारतम्य छैन। लक्ष्य छैन। सिद्धान्त छैन। कुनै निश्चितता छैन। एकाग्रता छैन (पृ.५९)।

‘सुश्री पारिजात’ पुस्तकले पारिजातको अन्तिम अवस्था, मृत्यु तथा मृत्युपछिका परिवेसको पनि मजाले चित्रण गरेको छ। जाहिर छ कि पारिजात दार्जिलिङमा जन्मेकी भारतीय थिइन्। तर उनले नेपालमा बसाइँ सरेर नेपाली साहित्यको हुनसम्मको उत्थान गरिन्।

तर उनले नेपालको नागरिकता पाइनन्। नागरिकता नै नभएपछि पासपोर्ट हुने कुरै भएन। साहित्यको प्रगतिशील खेमामा हुनु, कम्युनिष्ट पार्टीको सदस्य हुनु, बैनी ज्वाइँ निर्मल लामा बारम्बार भूमिगत बस्नु पर्ने अवस्थामा पारिजातले नेपाली नागरिकताका लागि सरकारी अधिकृतको सिफारिस पाउनु सहज थिएन (पृ.३७३)। पारिजात निकै अस्वस्थ भइसकेकी थिइन्।

यद्यपि तत्कालीन जनमोर्चाका सांसद कमल चौँलागाईँ पारिजातको पासपोर्ट बनाउने सिलसिलामा २०५० वैशाख ४ मा परराष्ट मन्त्रालयमा पुगेका थिए। तत्कालीन प्रमं गिरिजाप्रसाद कोइरालाले बिनानागरिकता पासपोर्ट बनाउन आदेश दिइसकेका थिए। यो कामका लागि परराष्ट मन्त्रालयका कर्मचारी दुवसु क्षेत्रीले सहयोग गरे (पृ.३७४)।

अनि विसं १९९४ लाई इसं बनाएर पासपोर्ट तयार भयो। तर पारिजातको अवस्था हस्ताक्षर गर्न सक्ने थिएन। औँलाको ल्याप्चे लगाइयो (पृ.३७५)। जीवनभर अक्षरसँग खेलेकी, लेखेरै जीवनका उमेरहरू खर्च गरेकी पारिजातले अर्धचेतनावस्थामा ल्याप्चे लगाउनुपर्ने विडम्बनापूर्ण क्षण भोग्नु पर्यो (पृ.३७६)।

‘सुश्री पारिजात’ पुस्तकमा समावेश भएको यो तथ्यले म आफैँ एकतमासको भएको छु। खिन्न भएको छु र कल्पिरहेको छु, कठै मान्छेको जीवन!

उनका इच्छा मरेपछि एकेडेमीमा नलैजानू, अन्तेष्टी स्वयम्भूमा गर्नू, शवमा हरियो सल ओढाइदिनू, सिरानीमा लेनिनको फोटो राखिदिनू, सकिन्छ भने शरीरलाई महिलाले पनि बोक्नू भन्ने थियो। पारिजात मृत्यु शैयामा थिइन्।

मृत्यु शैयामा रहेकी पारिजातका नाममा आनन्द देवले भाषण गरे। भाषणको औचित्यबारे भट्टले भनेका थिए, ‘हेर्नोस्, उहाँको चेतना अझै बाँकी छ। बाँकी रहेको चेतनाले उहाँले पुर्याएको योगदानको तारिफ त ग्रहण गर्न सक्नु हुन्छ।

यो धरतीबाट जाँदाजाँदै आफूले जीवनमा केही सार्थक काम गरेकोमा सन्तोष हुनेछ (पृ.३७८) भनेका थिए। २०५० साल वैशाख ५ गते पारिजातको निधन भयो। शवलाई महिलाहरूले पहिलो काँध दिए। पछि पुरुषहरूले।

उनको पार्थिव शरीरलाई उनकै इच्छाअनुसार म्हैपीस्थित उनकै निवासमा लगेर तामाङ जातिको परम्पराअनुसार कर्म गरेपछि स्वयम्भुमा लगेर दागबत्ती (पृ.३८३) दिइयो। पारिजातको मलामी नगन्य थिए।

यो देखेर खगेन्द्र संग्रौलाले शक्ति लम्साललाई भनेका थिए, ‘पारिजातको मलामी त यो गति भो, तपाईँको मलामी कति होलान् शक्तिजी? मैले पनि (शक्तिले) भनेको थिएँ, ‘कार्ल माक्र्सको मलामी ६ जना थिए। सवाल मलामीको होइन, विचारको हो (पृ.३८३)।

पारिजातको मृत्युपछि परम्परिक शोकसभा, शोकसन्देश, प्रकाशन, प्रसारण, स्मृतिअंक विशेषांकहरू प्रकाशित भयो। पारिजात स्मृतिकेन्द्र पनि बन्यो (पृ.३८५)। सन २००९ मा भारतको सिलगुडीमा पूर्णकदको सालिक स्थापना भयो।

उनको जीवनकालमा उनका कथामा चलचित्र बनेनन्। उनको मृत्यपछि भने ‘साल्गीको बलात्कृत आँशु’मा चलचित्र बन्यो (पृ.२८९)। पारिजातको साहित्ययात्राबारे ज्ञानेन्द्र विवशले जान्न खोज्दा उनले भनेकी थिइन्, ‘मेरो साहित्यबारे बुझन् आउँछु भन्ने सायद तपाईँ नै होला।

भैगो अहिले लेख्ने काम नगर्नुस्। किनभने म जस्ती कमजोर, सामान्य व्यक्तिलाई लिएर चाहिनेभन्दा बढी लेखिसकिएको छ। त्यसमा पनि म आफ्नो प्रशंसा उति मन पराउन्नँ। त्यसैले मेरो मृत्यु नहुन्ज्याल धैर्य गर्नुुस्, बरु मरिसकेपछि लेख्नुस्, श्रद्धाका, घृणाका कुराहरू (पृ.३७२)।

पारिजातको आर्थिक अवस्था त्यति मजबुत थिएन। स्वाभिमानमा बाँच्न चाहने हुनाले उनले आफ्नो लेखनीको पारिश्रमिकबाट बाँच्न खोजिन् । तर कठै नेपालको रोयल्टी। यसो भएकाले उनले शिक्षा मन्त्रालयबाट पनि ३ पटक सम्म २००, ६६०, १८०० रुपियाँ तथा प्रज्ञाबाट ८०० रु लिइन्।

उनको चरित्रमा विरोधाभाष त यसै पनि थियो उसै पनि थियो। उनी दसैं मान्दिनथिन्। तिहार मान्थिन्। तिहारमा पारिजातकोमा निकै रमझम हुन्थ्यो (पृ.२६३)। विडम्बना उनले ‘बैँसालु वर्तमान’ का लागि पहिलो पाण्डुलिपि पुरस्कार दिने दिन याने २०५० साल वैशाख ५ गते नै पारिजातले यो संसार छोडिसकेकी थिइन् (पृ.२३७)।

तथापि पुरस्कार प्रमाणपत्रमा महाकवि देवकोटापछिको अर्को महत्त्वपूर्ण साहित्यकार पारिजातलाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कारले सम्मान गर्न पाउँदा गुठी पुरस्कृत भएको छ (पृ.२३८) भनिएको थियो।

समग्र कृति पढिसकेपछि उनको स्वभाव हकी, हठी, नलच्किने तथा स्वाभिमानी भएको आकलन गर्न सकिन्छ। स्नेह सायमीले पारिजातलाई रु १२०० को गर्जो टार्न खोज्दा लिन नमानेकी हुनाले उनको पुस्तक ‘चित्रमय सुरुवात’ छापिदिएर रोयल्टी बापत सो पैसा दिएका (पृ.३६२) थिए।

उनी महत्वाकांक्षी, जिद्दी र संवेदनशील नारी भएको प्रष्ट हुन्छ। अंग्रेजी भाषा तथा साहित्यमा राम्रो दखल हुनु, भौतिक रूपले पनि सुन्दरी हुनु, विचारमा अग्रगम्यता, प्रष्टवादिता तथा इमान्दारिता उनका विशेषता थिए।

पारिजात लेखनीमा यहाँसम्म इमान्दार कि विमल राल्फासँग गरिएको सम्भोगका अनुभवहरू पनि उनले खुलस्त बताएकी छिन्। यसैगरी उनको विशेषता तथा सोच क्रान्तिकारी र निर्भिक रहेको देखिन्छ। उनले भनेकी छिन्, ‘तिमी चिन्ता नगर।

मलाई मार्छ भनेर चिन्ता पर्‍याे  कि क्याहो तिमीलाई? मारेछ भने मारेछ। जनताको मुक्तिका निम्ति मर्न पाए त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ मलाई? (पृ.३२०) म ऐयासम्म भन्दिनँ।

म जनताको नाममा सहिद भइदिन्छु (पृ.३२१)। उनमा आलोचनात्मक चेत देखिन्छ। जीवनका घटनालाई आलोचनात्मक कसीमा राखेर अलमस्त बगिरहनु पारिजातको विशेषता हो।

त्यसैले पारिजातले जीवनमा खानपीनको परहेजलाई परवाह गरिनन्। उनको स्वाभिमान कहिले ज्वार बनेर उर्लियो, कहिले भाटा बनेर पिँधमा पुग्यो। किनभने परिस्थिति, वातावरण, बाध्यता, विवशता, यी यस्ता चिज हुन् जसले मान्छेलाई घाँटीमा अँठ्याइदिन्छ (पृ.२६३)।

‘सुश्री पारिजात’ कृति पढिरहँदा स्रष्टा पारिजातकै जीवनी तथा लेखनीसँग रहेर अनेकन प्रश्नहरू उठाउन सकिन्छ। जीवनीलेखनीमा आएका मोडहरूको औचित्यमाथि राहाँटा देखाउन पनि सकिन्छ।

तर यो आलेखको आशय पारिजातको निजी जीवन वा साहित्यिक जीवनको समीक्षा गर्नु होइन। वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाले प्रस्तुत गरेको पुस्तकको बुनौट तथा भावसौन्दर्यका बारेमा अथ्र्याउनु मात्र हो।

यद्यपि लेखक गिरीले लामो समय खर्चिएर यो कृतिका सामग्री सङ्कलन, सम्पादन, लेखन तथा आकारीकरण गरेका छन्। त्यो प्रयासलाई स्तुत्य नमान्नु भनेको घोर अपराध हो।

तथापि पुस्तक ‘सुश्री पारिजात’ मा प्रस्तुत सत्यतथ्यहरू दोहोरिएका तेहरिएका छन्। पुस्तक पढिरहेका पाठकलाई लाग्न सक्छ कि किन लेखक गिरीले यी सत्यतथ्य प्रमाणहरूलाई धेरैपल्ट दोहोर्याएका होलान्?

पुस्तकलाई पारिजातको जीवनीकथा भनिएको छ। यसो भएकाले घटनाप्रधान भन्दा पनि पारिजातको समयअनुसार सिलसिलेबार प्रस्तुति भएको भए झन् पाठकलाई सजिलो हुने जस्तो लाग्छ।

यत्रो ठूलो गजधम्मे पुस्तकभित्र पुस्तककी मूल नायिका स्रष्टा पारिजातको बारेमा सग्लो बायोडाटा पनि राखिएको छैन। पारिजातको बायोडाटा खोज्न पुस्तकको ढड्डा नै पल्टाएर एकएक गरी संकलन गर्नु पर्छ।

पाठकको लागि यो पनि सजिलो छैन। यसैगरी पारिजातले लेखेका तथा प्रकाशित भएका÷नभएका कृतिको सूची पनि दिइएको छैन। कृतिभित्र यो सूची पनि राख्न पाएको भए सुनमा सुगन्ध हुने थियो।

कृति आफैँमा निकै वृहत् छ। पारिजातका जीवनका अनेकन पाटाहरूलाई समाविष्ट गर्दा यति ठूलो आकारको बन्नु स्वाभाविक हो। तथापि केही पाठहरू निकै छोटा तथा अनपेक्षित पनि छन्।

कृतिमाथि अलग विचार राख्नु स्वाभाविक भएता पनि, अथवा कृतिको आकारीकरण र प्रस्तुतीकरणका चरणका बारेमा आफ्नो निजत्व धारणा राख्नु स्वाभाविक भए पनि यो कृति नेपाली साहित्यमा जन्मनु र पारिजातको बारेमा यति गम्भीर कुराहरू एकै ठाउँमा सङ्कलन हुनु शताशय स्तुत्य कुरा चाहिँ हो।

‘सुश्री पारिजात’ पुस्तक पढी तुरेको छु। मेरा आफ्ना दिमागभित्र पारिजातको चित्र, चरित्र, चमत्कार तथा चातुर्य अगाडि आइरहेको छ। कस्तो नमिलेको जीवन पारिजातको?

यद्यपि सोच्दै छु स्रष्टाले आफ्नो व्यक्तिगत तथा सामाजिक जीवन मिलाउन खोज्यो भने परिस्थितिको डन्डाले हिर्काएर सही साहित्य सिर्जना गर्न कहाँ दिन्छ र ?

पारिजातले आफ्नो व्यक्तिगत जीवन साहित्यलाई तिलान्जली दिँदा पनि आरोप, गाली तथा लान्छना लाउने मान्छेको कुनै कमी थिएन। त्यसो भएकाले पारिजातका अनेकन विशेषता, स्वभाव, आरोह अवरोह आदि थिए।

मान्छे जन्मन्छ। कोही युगलाई डोर्‍याउँछन् । कोही युगका डमाइले डामिएर नै जीवन बिताउँ छन्। पारिजातले आफनो युगको नेपाली साहित्यलाई समकालीन युगबाट झिकेर नयाँ युगको थालनी गरिन्।

पारिजातजस्तो स्रष्टा युगले पातलो जन्माउँछ। परिवार सबै मिलाएर जाने मान्छे विछट्ट बन्न सक्दैन। जुनसुकै विषयले पनि त्याग र तपस्या खोज्छ। त्याग तपस्याबिनाको प्रतिफल स्वैर कल्पना हो।

पारिजातको साङ्गोपाङ्गो जीवनी अटाएर कृति तयार पार्नु लेखक गोविन्द गिरी प्रेरणाको तपस्याको प्रतिफल हो। चानचुने त्याग, समय, तपस्या र बकोध्यानले यस्तो कृतिको विनिर्माण गर्न सकिन्न।

लेखक गिरीको मेहनत तथा तपस्या तथास्तु भएको छ। पारिजात जस्तो स्रष्टा जसलाई मैले देखिनँ, उनको जीवनका साहित्यिक÷गैरसाहित्यिक आरोहअवरोह एउटै कृतिमा पढ्न पाउँदा अतिशय हर्षले पुलकित भएको छु। र, अन्त्यमा लेखक गिरीलाई साधुवाद।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *