टिफिन बक्समा गोला बारूद र हातमा राइफल बोकेर विद्यार्थी स्कुल पुगेपछि…

डिसी नेपाल
१० जेठ २०८० १५:१५

काठमाडौं । विद्यार्थीले साथमा राइफल र गोलाबारूद ल्याएको थाहा पाएपछि विद्यालयमा हल्लाखल्ला भयो । तत्कालै क्याम्पस सिल गरियो । प्रहरीले खोजी अभियान चलाएर केही समयमै आरोपी विद्यार्थीलाई पक्राउ गरेको थियो । घटना अमेरिकाको एरिजोना राज्यको हो ।

सीएनएनको रिपोर्ट अनुसार फिनिक्स पुलिसले एक उच्च विद्यालयका विद्यार्थीलाई एआर-१५ सेमी अटोमेटिक राइफल र गोला बारुद स्कूलमा खाजाको बक्समा ल्याएकोमा गिरफ्तार गरेको छ। विद्यालयका सुरक्षा गार्डले प्रहरीलाई फोन गरेर यसबारे जानकारी गराएका थिए । त्यसपछि क्याम्पस सिल गरी खोजी गरिएको थियो ।

दिउँसो १ बजेतिर बोस्ट्रम हाईस्कुलबाट आपतकालीन कल आएको प्रहरी अधिकारीहरूले बताएका छन् । एक संदिग्ध व्यक्ति राइफल र विस्फोटक पदार्थ लिएर विद्यालयमा प्रवेश गरेको बताइएको छ । अनुसन्धानमा आरोपी सोही विद्यालयका विद्यार्थी भएको खुलेको छ । उनले खाजाको बक्समा बारुद ल्याएका थिए । उनीसँग राइफल पनि थियो । उनी एक घण्टाभित्रै समातिए ।

प्रहरीले एक विज्ञप्तिमा भन्यो- हामी क्याम्पसमा संदिग्धको उपस्थितिको जानकारी दिनेहरूलाई धन्यवाद दिन चाहन्छौं। पक्राउ परेका युवक १५ वर्षका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको छ । विद्यालयमा हतियार ल्याएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको छ । शैक्षिक संस्थामा अराजकता र गुण्डागर्दीको उजुरी पनि परेको छ । यद्यपी उनले कसरी राइफल ल्याए वा विद्यालयमा राइफल लैजानुको उद्देश्य के थियो भन्नेबारे प्रहरी अधिकारीहरूले भनेनन् ।

त्यस्तै, विद्यालय व्यवस्थापनले भनेको छ– प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ । साथै विद्यालयमा यस्ता हतियार कसैले ल्याउन नपाउने गरी थप सतर्कता अपनाइएको छ । हाम्रा विद्यार्थी र कर्मचारीहरूको सुरक्षा हाम्रो शीर्ष प्राथमिकता हो।

उल्लेखनीय कुरा के छ भने अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटनाहरु देखिएका छन् । यसका लागि बन्दुक संस्कृतिलाई जिम्मेवार मानिन्छ । गत आइतबार मिजुरीको कन्सास सिटीको एक नाइट क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो । यसअघि टेक्सासमा गोली चल्दा ५ जनाको मृत्यु भएको थियो । अमेरिकामा यस्ता घटना भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *