प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा विराटनगरबाट पक्राउ परे ‘मोस्ट वान्टेड’ नक्सलवादी नेता
गोप्य रुपमा भारतीय प्रहरीलाई जिम्मा लगाइयो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि नेपाल प्रहरीले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोप खुन्तीलाई पक्राउ गरी गोप्य रुपमा भारत प्रहरीलाई जिम्मा लगाइदिएको छ।
विगत एक वर्षदेखि विराटनगरमा व्यापार गर्दै आएका गोपलाई भारतीय प्रहरीको आग्रहमा पक्राउ गरी सीमा क्षेत्रबाट भारतीय प्रहरीलाई जिम्मा लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरु इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले गोपलाई पक्राउ गरेको विषयलाई प्राथमिकताका साथ प्रकासन गरेका छन्।
नेपाल प्रहरीको विशेष व्यूरोले डेढदशकदेखि भूमिगत रहेका खुन्तीलाई विराटनगरमा पञ्जाबी ढाबा सञ्चालन गरेर बसेको अवस्थामा पक्राउ गरी भारतलाई हस्तान्तरण गरेको हो।
‘विराटनगरमा रहेछ, भारत माग्यो हामीले पठाइदियौं अपराधीहरु आदानप्रदान गर्ने सिलसिलामा उनलाई पक्राउ गरी पठाइदिएको हो’, विशेष व्यूरो स्रोतले भन्यो।
गोप खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता हुन्। उनी डेढ दशकदेखि भूमिगत भएपछि भारतीय प्रहरीले खोजी गर्दै आएको थियो। उनलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो।
सरकारले उनको टाउकाको मूल्य ३० लाख भारु तोकेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गर्न सहयोग गरेको हो। भारत सरकारले उनीविरुद्ध आपराधिक कार्यमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी मुद्दा दर्ता गरिसकेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ।
भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो। गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको विशेष व्यूरो स्रोतले जनाएको छ। यो विषयमा नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले अनभिज्ञता प्रकट गरेका छन्।
‘मैलेपनि विभिन्न सञ्चारमाध्यमबाट यस्तो खबर थाह पाए नेपाल प्रहरीले पक्राउ गरेको भए त मलाई थाह हुनुपर्थ्याे यस्तो समाचार गलत हो जस्तो लागेको छ’, प्रहरी प्रवक्ता कडायतले भने।
Facebook Comment