संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। एमाले अवरोधका कारण शुक्रबार बस्न नसकेको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच छलफल भएको हो।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताको सहभागिता छ।
शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा माओवादी सांसद राजन दाहालले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै पशुपतिनाथ मन्दिरमा सुन भन्दै पित्तलको जलहरी राखेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद बैठक अवरुद्ध पारेको थियो।
सोही विषयमा छलफल गर्न सिंहदरबारमा शीर्ष नेताको छलफल भएको हो। एमालेले सांसद दलको भनाइ रेकर्डबाट हटाउन माग गर्दै सो विषयमा छानविन हुनुपर्ने माग राखेको छ। त्यसो नभएसम्म संसद चल्न नदिने उनको अडान छ। संसद बैठक आज अपरान्ह चार बजे बोलाइएको छ।
Facebook Comment