हिटलरको घरलाई पुलिस स्टेशन बनाइने

डिसी नेपाल
१५ जेठ २०८० १३:३४

काठमाडौं । अस्ट्रियामा हिटलरको घरलाई प्रहरी चौकी बनाउने तयारी भइरहेको छ । जहाँ प्रहरीलाई मानवअधिकारसम्बन्धी तालिम दिइनेछ । बीबीसी रिपोर्टका अनुसार यो ठाउँ अस्ट्रियाको ब्राउनाउमा छ। जुन जर्मनीको सिमाना नजिक छ।

यहाँ हिटलरको जन्म २० अप्रिल १८८९ मा भएको थियो । तर, उनी ३ वर्षको उमेरसम्म मात्रै यहाँ रहे । भाडाको घर भएका कारण हिटलरको परिवार यहाँबाट सरेको थियो । लामो विवादपछि सन् २०१६ मा अस्ट्रिया सरकारले यो भवन किनेको थियो ।

२०१६ मा सरकारले हिटलरको घरबारे समिति गठन गरेको थियो । यसले हिटलरसँगको इतिहासलाई ध्यानमा राख्दै घर भत्काउन सुझाव दिएको थियो। तर, त्यसबेला घर भत्काउने कुराको चर्को विरोध भएको थियो ।

देशका धेरै ठूला नेता र जनताले यसबाट देशमा भएका ठूला घटनाको इतिहास मेटिने बताएका थिए । उनीहरूले भनेका थिए – भावी पुस्ताले पनि के भयो थाहा पाउन सक्छन् त्यसैले भवन भत्काउनु हुँदैन।

दोस्रो विश्वयुद्धको समयमा, नाजीहरूले यस भवनलाई धार्मिक भवनमा परिणत गरे। नाजी समर्थकहरू यहाँ पर्यटकका रूपमा आउने गर्दथे। यद्यपि, १९४४ मा युद्धको अन्त्यतिर चीजहरू परिवर्तन हुन थाले।

हिटलरको जन्म भएको भवन गेर्लिन्डे पोमर नामक महिलाको स्वामित्वमा थियो। जसले यो घर पुर्खाबाट पाएकी हुन् । सन् १९७२ देखि सरकारले भाडामा लिएको थियो । उसले अपाङ्गता भएका व्यक्तिका लागि केन्द्र सञ्चालन गरेको थियो । जुन सन् २०११ मा बन्द भएको थियो । त्यसयता यो भवन खाली छ ।

२०११ मा, सरकारले यसलाई किन्न प्रस्ताव गरेको थियो। तर, सरकारको दबाबका बाबजुद गेर्लिन्डेले यसलाई बेच्न मानिनन् । नाजी समर्थकहरू धेरै पटक भवनमा भेला हुन्थे। जसका कारण सरकारले किन्न आवश्यक परेको थियो । सन् २०१६ मा सरकारले ७ करोड रुपैयाँ तिरेर महिलाबाट भवन किनेको थियो । अब सन् २०२५ सम्ममा यसलाई प्रहरी चौकीमा परिणत गर्ने काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *