मलाला युसुफजाइका कारण झारखण्डमा विवाद

डिसी नेपाल
१६ जेठ २०८० १३:४८

काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईको पोस्टरलाई लिएर विवाद भएपछि झारखण्डको एक विद्यालयबाट पोस्टर हटाइएको छ । मलाला पाकिस्तानकी हुन् र उनी स्कूलका दिनहरूमा तालिवान अतिवादीहरूको आक्रमणमा परेकी थिइन्।

सन् २०१२ मा तालिबान अतिवादीहरूले उनको टाउकोमा गोली हानेका थिए, त्यसपछि उनलाई उपचारका लागि बर्मिङ्घम ल्याइयो र त्यहाँदेखि नै यहीँ बस्दै आएकी थिइन्।

केही दिनअघि रामगढ जिल्लाको कुजुमा रहेको पब्लिक हाईस्कुलमा छात्रालाई उत्प्रेरित गर्ने उद्देश्यले मलालाको पोस्टर टाँसिएको थियो । विद्यालयका प्रधानाध्यापक रविन्दन प्रसादले यसको पुष्टि गरेका छन् ।

उनले सञ्चारमाध्यमलाई भने, ‘हामीले मुखिया र केही गाउँलेको विरोधपछि पोस्टर हटाउने निर्णय गरेका हौं। हाम्रा विज्ञान शिक्षिका मनिषा धवनले छात्राहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले धेरै महापुरुषहरूको पोस्टर अर्डर गर्नुभएको थियो।’

एउटा पोस्टर मलाला युसुफजाईको पनि थियो । त्यो पोस्टर विद्यालयको पहिलो तल्लाको भित्तामा टाँसिएको थियो । बाँकी महापुरुषको पोस्टर गर्मी बिदापछि लगाइने थियो । त्यसपछि स्थानीय मुखियाको नेतृत्वमा केही गाउँले विद्यालयमा आएर विरोध गरे । त्यसपछि हामीले विवाद अन्त्य गर्न पोस्टर हटाउने निर्णय गर्‍यौं।

यसअघि कुजु पश्चिम पञ्चायतका प्रमुख जयकुमार ओझाले विद्यालयमा आएर पोस्टर लगाउने शिक्षक र विद्यालयका प्रधानाध्यापकलाई पोस्टर हटाउन माग गरेका थिए । भाइरल भिडियोमा उनी पोस्टर लगाउने शिक्षकसँग झगडा गरिरहेको पनि देखिएका छन् । यसमा उनले पाकिस्तानी जनताबाट पाठ सिक्नुपर्ने आवश्यकता नरहेको बताए ।

प्रमुख जयकुमार ओझाले भने, ‘हाम्रो देशमा एकभन्दा बढी महापुरुष छन् । बालबालिकालाई पोस्टर लगाएर पनि उत्प्रेरित गर्न सकिन्छ। यसका लागि मलाला युसुफजाईको पोस्टर लगाउनु बिल्कुलै उचित होइन । त्यसैले मैले त्यो पोस्टर हटाउन आग्रह गरें। हामीलाई थाहा छ कि पाकिस्तानले हाम्रो विरुद्धमा विष ओकलिरहेको छ र भारतमा आतंक फैलाएको छ। त्यहाँका जनताको फोटो किन राख्ने ?’

यसै क्रममा यो पोस्टर लगाउने शिक्षिका मनिषा धवनले आफ्नो उद्देश्य बिल्कुलै गलत नभएको बताइन् । उनले भनिन्, ‘मलाला युसुफजाईले नोबेल पुरस्कार पाएकी छिन् । उनको नाम सारा संसारमा परिचित छ। हामीले छात्राहरूलाई जुनसुकै अवस्थामा र कम स्रोतसाधनमा पनि अगाडि बढ्न सक्ने प्रेरणा दिन उनको तस्बिर टाँग्यौं। यस विषयमा विवाद हुन्छ भन्ने हामीलाई थाहा थिएन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *