गर्मीले पर्साको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्यो

डिसी नेपाल
१७ जेठ २०८० १३:१६

पर्सा। लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ। लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ४४ डिग्री पुग्न थालेपछि त्यस क्षेत्रमा बिरामी हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ।

गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन्। गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए। गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए।

दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक सिंहको भनाइ छ। बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए।

नारायणी अस्पतालको बहिरंग विभागमा दैनिक छ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल आठ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् भने अस्पतालको आकस्मिक विभाग पूर्ण क्षमतामा सञ्चालन भइरहेको चिकित्सकहरुले बताएका छन्। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *