देउवा लक्षित गगनको अभिव्यक्ति : कांग्रेस बदल्न व्यक्ति बदलिन आवश्यक

डिसी नेपाल
१९ जेठ २०८० १५:१८

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन्।

नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए।

“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उनले भने। पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए।

महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे।

उनले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको बिषय, प्रदेश सरकारको बिषय, सांसद बिकास कोष लगाएतका गम्भीर निर्णयहरु सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गरे।

महामन्त्री थापाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गर्दै गए भारीले पार्टीलाई कहिल्यै उठ्न नसकने गरि थिच्ने धारणा राखे।

“कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ”, महामन्त्री थापाले भने।

महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए। कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो।

महामन्त्री थापाले अव पार्टीलाई बदल्न कांग्रेसका सवै नेता कार्यकर्ताले आफुलाई बदल्न सक्नुपर्ने बताए । उनले पार्टीको सदस्यता वितरणको प्रक्रिया नै गलत भएकाले गुटउपगुट हावी भएको भन्दै सदस्यता वितरण प्रणालीलाई नै वदल्नुपर्ने जिकिर गरे।

त्यस्तै उनले गुटलाई जोगाउन खोज्दा पार्टी नै कमजोर हुने अवस्था रहेकाले यसलाई भत्काउने कामको सुरुवात गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *