‘नर्सिङ अवार्ड–२०२३’ बाट बीर अस्पताल अन्कोलोजी विभागकी प्रमुख नर्स जोशी सम्मानित
काठमाडौँ। “नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन्। जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेका हुन्। अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन्। उनी विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छिन्। १० जना मनोनित नर्संहरू मध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो।
फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ। कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बिरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुशी व्यक्त गरिन्। उनले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन मुलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गरिन्।
यसैगरी कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले नर्सहरुको सम्मानमा सञ्चालन गरिएकोे अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफ्नो पेशामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे।
हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ। हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ।
हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्। देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment