साहित्य

कथा : खोल

खेमराज पोखरेल
२७ जेठ २०८० ७:१२

म सम्झिरहेको छु, उनी मेरी गर्लफ्रेन्ड थिइन् त्यो ताका।

त्यो दिनको सम्झना आइरहेछ। हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं। हामी दुवै नगरकोटको होटल सनराइजमा थियौं। त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ। हामी बीच कुनै कुरा बाँकी थिएनन्। यो सम्बन्ध लगभग ४ वर्ष जति चलिसकेको थियो।

चिया/कफी मात्र पिउनु पर्‍याे  भने हामी बौद्ध गुम्बाको भित्री भागमा भएको क्याफेमा जान्थ्यौं। र मिठामिठा बात मारेर घण्टौं बस्थ्यौं। ती बात मात्रैको मिठासको सम्झनाले मात्र पनि रञ्जित हुन्छु म। रात बिताउन भने हामी यही होटलमा आउँथ्यौं। त्यो दिन पनि हामी रात त्यही होटलमा बसेका थियौं।

हिमाल त्यसैगरी हाँसेको थियो। सम्भोगीय अन्दाजमा हामीले हिमाललाई त्यसैगरी हेरेका थियौं। होटलको झ्यालबाट हिमाल हाँसेको देखिइरहेको थियो। सूर्योदयका किरणहरू हिमालमा ठोक्किएर मनमोहक भएको थियो। उनले यो दृश्य देखेपछि भनेकी थिइन्, ‘मनीष! हेर त त्यो हिमाललाई। सूर्यले सम्भोग गरेपछिको आनन्दको उल्लास देखिँदैन त त्यो हिमालको रङमा?

माहौल यस्तो रमाइलो थियो कि म त्यो माहौलमा सम्वेदनशील, रोमाञ्चक तथा उत्ताउलो भइरहेको थिएँ। म त्यो दिन उनलाई बिहेको प्रपोज गर्ने मुडमा थिएँ। एउटा सुन्दर बुके लुकाएर ब्रिफकेसमा राखेको थिएँ।

उनका अगाडि खुट्टा टेकेर प्रस्ताव गर्न मैले सरप्राइज बुके निकाल्न थालेको थिएँ। तर योभन्दा पहिले नै उनले हिमालतिर हेरेर नै मलाई भनेकी थिइन्-

‘अब हामीले ब्रेकअप गर्नुपर्छ मनीष । म मास्टर डिग्रीका लागि बेलायत जाँदै छु। त्यसपछि म पीएचडी पनि उतै गरेर आउँछु। त्यतिबेलासम्म धेरै समय व्यतीत भइसकेको हुन्छ। मलाई थाहा छ तिमी पनि गर्लफ्रेन्ड नभै बस्न सक्दैनौ। म पनि ब्वाइफ्रेन्ड नभै बस्न सक्दिनँ। ब्वायफ्रेन्डबिनाको जीवन त बोरिङ भइहाल्छ नि। त्यसकारण आज तिम्रो र मेरो अहिलेको लागि यो अन्तिम रात हो। जतिसक्यो रमाइलो गरौं। सम्झाउनी बिर्साउनी भन्छन् नि, हो त्यस्तै। जिन्दगीका तन्द्रामा सम्झँदा पनि आनन्द लाग्ने खालको रमाइलो।’

म आकाशबाट खसेझैं भएको थिएँ। अनि मैले उनलाई त्यही दिन भनेको थिएँ-‘कस्तो कुरा गरेकी निरू, हामी रिलेसनमा भएको पनि यतिका वर्ष बितिसक्यो। हामी एकअर्कालाई प्रेम गर्छौं। रेस्पेक्ट गर्छौं। म त आज तिमीलाई बिहेको प्रपोज गरूँ भन्दै थिएँ। हेर न बुके लिएर आएको छु। अब बिहे गरौँ न। आखिर जिन्दगीमा मान्छेले एकपल्ट त बिहे गर्नु नै छ। केही त गरिएला नि। करियरलाई बाधा नपारौँला न। बिहे गरेर तिमी जाऊ। नत्र बाचा गरौं। हामी लङ्ग डिस्ट्यान्स रिलेसनमा बसौंला। पखौंला। त्याग गरौंला। त्यो त्यागमा पनि जीवनको एउटा मजा छ।’

मेरो प्रस्ताव सुनेर उनले एकतमासको भएर भनेकी थिइन्-

‘ना बाबा ना, बिहे गर्ने कुरा नगर। इम्पोसिवल। हामी एक्काइसौं शताब्दीका स्वतन्त्र मान्छे हौं। बिहे, सन्तान दोस्रो प्राथमिकता हो। पहिलो प्राथमिकता भनेको हाम्रो करियर हो। करियरका लागि एकलब्यझैं छु म। म तिमीलाई अरू आम आइमाईले जस्तो ढाँट्न सक्दिनँ। म मेरो एकबारको जुनी तिम्रा नाममा फोसामा बिताउन पनि चाहन्न। पूरापूर उपभोग गर्न चाहन्छु। बरु हाम्रो ब्रेकअपलाई हामी हाँसीखुसी लिऊँ। रोएर किन पो छुट्टिने! है।’

उनको उत्तरले मलाई मजा लागेको थिएन। हुनतः उनले यो भनेको पनि पहिलोपल्ट होइन। हामी बीचको रिलेसनपूर्व पनि हामीले यसलाई उमेरको रमाइलोको रूपमा मात्र ठान्ने कुरा गरेका थियौं। त्यो बेला हामीले प्रेम गर्ने, बिहे गर्ने, जीवन बिताउने कुरालाई अगाडि नल्याउने मौखिक सम्झौता गरेका थियौं। तर रहँदाबस्दा मलाई उनको धेरै माया लाग्न थालेको थियो।

मलाई उनको मात्र होइन; उनका शरीरका अनेकन भागमा रहेका तिलकोठीको पनि माया लागिरहेको थियो। उनको नाइटोभन्दा धेरै तलतिर रहेको ठूलो कोठीलाई उनी लच्छिन भन्थिन्। त्यसको दर्शनको पनि निकै महिमा थियो। मलाई पनि लाग्न थालेको थियो कि आखिर एकपल्ट बिहे गर्नै पर्छ, सन्तान पनि चाहिन्छ। उनको उत्तर मेरालागि नौलो त थिएन तर मेरो अनुकुल थिएन।

अनि मैले भनेको थिएँ, ‘हेर यो समाज छ, मान्छे छन्। आफन्त छन्। व्यवहार छ। होचाअर्घेला हुन्छन्। मान्छेसँग केही सीमा त भइहाल्छ नि।’

मेरो कुरा सुनेर उनी भन्न थालेकी थिइन्,

‘उफ ! मान्छेका कुरा के गर्नु मनीष! एकपल्ट समाजलाई गौर गरेर हेर न। मान्छे र आफन्तलाई भित्री तहबाट हेर न। गम न। मान्छेकै बारेमा सचेतन मन लिएर चिन्तनमनन गर न। तिमी पाउँछौ- मान्छे प्रेम गरेको भनिरहेछ। बिहे गरिरहेछ। सन्तान जन्माइ रहेछ। रोइरहेछ। जिन्दगीभरि रोइरहेछ। पछुताइरहेछ। कहिले पैसा नपुगेर रोइरहेछ। कहिले आफन्तका सम्बन्धमा नुनचुक छरेर रोइरहेछ। वाइह्यात छन् मान्छेहरू, विहे नै भएको हुन्न आकासबाट ताराजून झार्न थाल्छन्। सात जन्म सँगै बस्ने बाचा गर्छन्। स्टुपिडहरू। झुटहरू। यहाँभन्दा ठूलो झुट अरू केही हुन्छ जीवनमा! भो म यस्तो झुट बाचा गर्दिनँ। अहिलेको युगमा बिहे भनेको व्यक्तिगत स्वतन्त्रता हो। गरे पनि हुन्छ, नगरे पनि हुन्छ। केटा-केटा गरे पनि हुन्छ। केटी-केटी गरे पनि हुन्छ। तर प्रमुख कुरा भनेको करियर हो। धनी र करियरवाला केटो खोजेर बिहे गर्नुभन्दा आफैँ आफ्ना खुट्टामा दह्रोसँग उभिनु जीवनको महत्त्वपूर्ण उपलब्धि हो भन्ने ठान्छु म। त्यसैले तिमी मेराअगाडि आएर साङ्लो नतेस्र्याऊ। म आफैँ एक्लै उभिन चाहन्छु।’

मैले गौर गरेर उनलाई हेरेको थिएँ। मेरो हेराइ उनलाई अप्ठ्यारो लागिरहेको थियो सायद। अनि उनले मलाई भनेकी थिइन्-

‘ह्वाट! किन हेर्छौ त्यसरी मलाई? के मैले भनेको कुरा तिमीलाई ठिक लागेन? यत्ति बुझ कि हामी जन्मनु र मर्नुमा हाम्रो भूमिका छैन। यो बीचका रामछायाहरू हाम्रो जिन्दगी हो। एकदिन मरिन्छ, त्यसैले बाँचेको जीवनलाई मधुमास बनाउनु पर्छ। आदर्शको लेप लगाएर समाजको सिक्रिमा बाँधिने कि फुकाफाल मनमौजी हुने तिम्रो कुरा हो। म चाहिँ दुई दिनको जिन्दगानीमा फुकाफाल जीवन बाँच्न मन पराउँछु। हृदयले, आत्माले, मनले र परिवेशले जे गर्न भन्छ, त्यही गर्छु। कुनै प्रकारको खोल ओड्दिनँ। त्यसैले प्रष्टसँग भन्छु कि म अहिले तिमीसँग बिहे गर्न सक्तिनँ । तिमी अर्की केटीसँग बिहे गर्न सक्छौ। तिमी पनि मझैँ स्वतन्त्र छौ ।’

उनका कुरा प्रष्ट थिए। कतै षडयन्त्र वा धम्की वा आग्रह वा पूर्वाग्रह थिएनन्। साँच्चै उनले मान्छे झुक्याउन कुनै खोल ओढेकी थिइनन्। जसरी मैले उनको खोलबिहीन शरीर सयांँपल्ट देखेको थिएँ, त्यसैगरी उनी मनमा, विचारमा तथा वास्तविकतामा पनि कुनै खोल ओढ्दिन थिइन्। त्यही भएर मलाई उनी अग्घोरै मन परेको थियो।

मैले उनलाई भनेको थिएँ –

‘आखिरकार भर्जिनिटीको पनि कुरा आउँछ समाजमा। किनकि समाज त पुरातन नै छ। तिमीलाई अप्ठ्यारो पर्नसक्छ किनकि तिमी र म ओपेन रिलेसनमा छौं। लोग्ने–स्वास्नी सरह सामाजिक सम्बन्ध निभाएका छौं। संसारलाई थाहा छ। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डका सम्बन्धका बारेमा सँगै खुला अन्तरर्वार्ता दिएका छौं।’

हामीले कफी पिइसकेका थियौं। हामी कोठाभित्र पसेका थियौं। सोफामा पल्टिएर बसेका थियौं। अनि फेरि उनले नै भनेकी थिइन् –

‘हाहाहा बुद्धु मनीष, तिमी साह्रै धेरै बुद्धु रहेछौ। भर्जिनिटी एकादेशको पुरानो कथा हो। सुन्दा रोचक लाग्छ। परम्परागत महिलाको खोक्रो आदर्श पनि हो भर्जिनिटीको गफ। बिहे गर्न किन चाहियो भर्जिन भन त !!! र पुरानो समयदेखिनै महिलाले मात्र भर्जिन हुनुपर्ने र लोग्ने मान्छेले भर्जिन हुन नपर्ने चलन के वाइह्यात होइन, बुसेट होइन? कुनै केटाले मलाई भर्जिनिटीको कुरा राख्यो भने लोप्पा खुवाइदिन्छु बुझ्यौ! सोतारी दिन्छु त्यसका सात पुस्तालाई पुग्ने गरी। यसरी सोतारी दिन्छु कि ऊ जीवनपर्यन्त भर्जिनिटीको कुरा उठाउने छैन।’

कुरा गरेर उनीलाई जित्न सकिने कुरा थिएन। जे थिइन् उनी खुलस्त थिइन्। लप्पनछप्पन थिएन उनको चरित्र। मिलनसार र खुलापन नै मलाई मन परेको थियो। खासमा भन्ने हो भने ममा आशक्ति आइसकेको थियो। र मैले उनलाई भनेको थिएँ-

‘तिमी जे भन, तर म तिमीलाई प्रेम गर्न थालेको छु। माया गर्न थालेको छु। प्रेमी–प्रेमिकाले त कतिपय कुरा आँखाले पनि भन्छन्। प्रेममा आँखैले हृदयका प्रश्नहरू सोध्छन् र आँखैले जवाफ फर्काउँछन्। कल्पना गर त त्यो आँखाको भाषा र त्यो क्षण कति रोमाञ्चक हुन्छ! मेरा आँखाले तिम्रा आँखालाई कति मनपराउँछन्। तिम्रा आँखासँग सवाल गरिरहेछन्। आस गरिरहेछन्। तिम्रा आँखाले पनि त मेरो आँखाको भाषा बुझ्दै होलान् नि, होइन र?’

ननुहाएको र राति खजमजिएको उनका कपालका केस्राहरू मुखतिर पनि आइरहेछन्। उनले आफ्नो कपाललाई जुरो बाँध्न हात पछाडि लगेकी छिन्। यसोगर्दा उनका स्तन नाइटीबाट पुल्टुक्क देखिएका छन्। बाहिर निस्कौँलाझैं गर्दैछन्। यो दृश्य मेरालागि मनमोहक भएको छ। म उनको यो अदामा हराएको छु।

मेरो कुरा सुनेर उनी मजाले हाँसेकी थिइन्। हाँस्दा उनका गालाका डिम्पल र गहुँगोरो अनुहार झन् सुन्दर भएका थिए। उनी नुहाउन जान तयार पर्दै थिइन्। बाथरुमको ढोकामा पुगेर उनले भनेकी थिइन्-

‘हामीले बिहे गर्ने खालको प्रेम गरेको होइन मनीष, आकर्षणले नजिकिएका हौं। रमाएका मात्र हौं। नासवान बैंसको भोग गरेका मात्र हौं। तिमीसँग जीवन बिताउने त कल्पना पनि गरेकी छैन मैले। प्रेममा पागल हुने हावादारी कुरा कम्तीमा नगर न मसँग। हाम्रा स्वार्थका इक्विलिब्रियम नै हाम्रो सम्बन्ध हो। हाम्रो रिलेसन हो। यौन, सन्तान र बिहेलाई एकै ठाउँमा हाल्ने यो हाम्रो पुरातन चलन नै विभेदकारी हो। प्रेमस्रेमको कुरा छोड तिमी र यथार्थवादी होऊ। प्रेमको खोल ओढेर के पाउँछौ यो एक्काइसौँ शताब्दीमा! हो, हाम्रो साथीको प्रेम छ। रेस्पेक्ट छ। समान फिलिङ छ। तर बिहेको बन्धन, उफ! यति जाबो कुरा पनि किन बुझ्दैनौ तिमी?’

उनी नुहाउन बाथरुममा पसेपछि म कल्पना गर्न थालेको थिएँ कि मेरो दुर्भाग्य रहेछ, यो केटी अब फुत्की। म बुझ्दैथिएँ उनका जिद्दिहरू। किनकि यो पहिलोपल्ट थिएन। उनको यो जिद्दि पनि मलाई उत्तिकै मन पर्थ्याे।

तर के गर्ने उनी हरफनमौला थिइन्। म एकप्रकारले मुडअफको अवस्थामा थिएँ। यत्तिकैमा उनले बाथरुमबाटै चिच्याएकी थिइन्, ‘मनिष, आऊ न हामी सँगै नुहाऔं। भोलि तिम्रो र मेरो यात्रा अलग हुने नै हो। के थाहा फेरि यस्तो अनुकुल जुर्ने हो वा होइन!’

नुहाइसकेर हामीले कोठामै बे्रकफास्ट मगाएका थियौं। ब्रेकफास्टकै क्रममा मैले भनेको थिएँ-

‘हेर निरू, म पक्का तिमीसँग प्रेम गर्छु। म तिम्रो प्रेममा पागल भएको तिमी हेर्न सक्छौ? किन भने प्रेममा प्राप्ति वा लाभ घाटा हुन्न। राम्रो नराम्रो हुन्न। तिमी एउटा रुखलाई धेरै वर्षसम्म निकटमा राखेर हेर। तिमीलाई त्यो रुखसँग प्रेम हुन्छ। रुखलाई पक्का थाहा हुँदैन कि तिमी उसलाई प्रेम गरिरहेकी छौ। तर जब तिमी जीवनका कुनै पहलुमा त्यो रुखलाई सम्झन्छौ, तिमीमा आनन्द सञ्चार हुन्छ त्यो आनन्द सञ्चार नै प्रेम हो। तिमी त मेरी मान्छे हौ। भन त, के तिमी मलाई प्रेम गर्छौ?’

उनले हाँस्दै भनेकी थिइन्,

‘तिमी ढिट नबन न मनीष। तिमी आज ढिट मात्र होइन ठिस पनि भएका छौ। तिमीले बुझेकै कुरा हो। हामीले यसकाबारेमा धेरै छलफल र बहस नै गरेका छौँ। तिमीलाई थाहा छ कि मान्छेले भनिरहेका प्राप्तिवाला प्रेम बकवास हो। आडम्बर हो। खोल हो। के तिमी मेरो प्रेममा मर्न सक्छौ? मलाई थाहा छ, सक्दैनौ। किन मर्ने हँ! तिमी मेरो प्रेममा पागल भयौ भने पनि म पागल हुनसक्दिनँ। मर्यौ भने पनि तिम्रो प्रेममा म मर्न सक्दिनँ, यो पक्का हो। अब त क्लियर भयो मनीष? अब त तिमीमा कुनै इल्युजन छैन होला नि!’

अनि मैले दिल दिमागको प्रसंग झिकेर भनेको थिएँ, ‘अरे यार तिमी कुरा बुझ न निरू, मेरो दिल धड्किन थालेको छ तिम्रा कुराले। दिमाग बेचैन भएको छ तिमीसँगको प्रेमले।’

उनले भनेकी थिइन्,

‘तिमीमा पुरानो प्रचलनको खिल बसेको रहेछ। हो हिजोको सम्बन्ध दिलको हुन्थ्यो। दिल पागल हुन्थ्यो। आजको सम्बन्ध दिमागको हो। हो, प्रेम दिलले गर्ने हो। सम्बन्ध दिलले निभाउने हो। किनकि दिलले गरेको प्रेम रोमाञ्चक हुन्छ। सम्वेदनात्मक हुन्छ। मुटुको धड्कन बढाउने खालको हुन्छ। तर बिहे दिमागले गर्ने हो। किनकि दिमाग होसियार हुन्छ। हिजो पो अप्सन थिएन त। दिल र दिमाग एकै ठाउँमा लगाउनु पथ्र्यो। आज त अप्सन छ। हामी दुवैलाई थाहा छ कि तिम्रो र मेरो रिलेसन सुरुहुँदा न तिमी भर्जिन थियौ न म। आज त अप्सन छ नि।’

मैले केही गर्दा भन्दा उनको मन फर्केन। त्यसैले मैले उनलाई भने, ‘क्षमा गर निरू, म तिम्रो सक्सेसको, तिम्रो यात्राको बाधक हुन चाहन्न। तिमी जाऊ। तर माया त नमार है।’

अनि उनले भनेकी थिइन्,

‘के का लागि क्षमा माग्छौ तिमी?, क्षमा एउटा जालसाजी हो। क्षमा माग्न त पहिले गलत गर्नु पर्छ। र यो संसारमा के गलत के ठिक? म जस्तो छु, त्यही ठिक छ। तिमी जे छौ त्यही ठिक छ। भर्चुअली तिमी पनि ठिक छौ, म पनि ठिक छु। मैले तिमीलाई मन पराउँदा वा तिमीले मलाई मन पराउँदा जस्ताको त्यस्तै मन पराएको हो। जस्ताको तस्तै रिलेसनमा बसेका हौं। एकअर्कामा कुनै आग्रह, पूर्वाग्रह राखेनौ हामीले। त्यसैले तिमी जे बोल्छौ, त्यो तिम्रो विचार हो। किनकि मान्छेले हरेक पल आफूलाई ठिक लागेको मात्र गर्नुपर्छ। यो बीचमा पनि हाम्रा केही समान स्वार्थ थिए। भेट भयो। भोलि पनि भेट हुन्न भन्न सकिन्न। तर अहिलेलाई तिम्रो बाटो अलग, मेरो बाटो अलग। अँ अनि सुन त! हो म भोलि जाने हो। तिमी पनि एयरपोर्टमा भेट्न आऊ, नत्र समयले फेरि भेट गराउन पनि सक्छ, नगराउन पनि सक्छ। जिन्दगी रहन पनि सक्छ, न रहन पनि सक्छ। दुई दिनको जीवनको के ठेगान? चिप्लिएको समय दुरुस्त त आउँदैन नि!’

यसरी हामी छुट्टिएका थियौं।

अहिले उनी मेरी पूर्व गर्लफ्रेन्ड हुन्।

हो हामी छुट्टिएको ७ वर्षपछि बौद्धमा फेरि भेटिएका थियौं अचानक। उनलाई देख्दा मेरो हृदयलाई आनन्द भएथ्यो। सायद यही आनन्द नै प्रेम होला। हामी फेरि बौद्ध गुम्बाभित्रको कफी हाउसमा कफीका बहानामा पसेका थियौं। पुराना कुरा उठेका थिए। त्यसमा पनि हामी निकै रोमाञ्चित भएका थियौं।

उनले बेलायतमा पुगेर एउटा इन्डियन केटोलाई ब्वायफ्रेन्ड बनाएकी रे। सँगै पढ्दो रहेछ। तर त्यो रिलेसन बिहेसम्म पुग्न नै पाएन छ। मैले पनि एकदुईवटा गर्लफ्रेण्डहरू बनाइ हेरेथें। खोइ किन हो टिकेनन्। आफ्नै व्यापारको काममा यति बिजी भएँ कि यदाकदा यताउता गरे पनि प्रेम गर्ने, बिहे गर्ने, सन्तान पाउनेतिर कुनै दिमाग नै दिइनँ छु।

कफी सपमा हाम्रा विगतहरू व्यक्त गरेपछि उनले भनेकी थिइन्, ‘मनीष, के हामी पहिलेझैं नगरकोटमा एकहप्ता त्यही होटलमा बिताउन सक्छौं? तिमी समय निकाल्न सक्छौ?’

यसरी हामी फेरि उही होटलमा ब्रेकअपको ७ वर्षपछि आएर बसेका छौं। नगरकोटका डाँडाकाँडा घुमेर आउँदा साँझ भएको छ। गोधुलीको सुन्दर दृश्यले मनमोहक बनाएको छ। अब छिट्टै रात पर्दै छ। अहिले उनी कोठाभित्रको पलङमा मेरो काखमा पल्टिएकी छिन्।

खासमा भन्ने हो भने यो होटल हाम्रो रिलेसनको साक्षी बसेको छ। हाम्रा नांगा स्वरूप यसले देखेको छ। यो होटलले हाम्रो सम्बन्धको इतिहास भन्नसक्छ। हामीले अफ्ना बैंसका उन्मादहरू यसै होटलमा शान्त पारेका थियौं। अहिले पनि होटलको झ्यालबाट हिमाल हाँसेको देखिइरहेको छ। यही मनमोहक सोचमा मैले उनलाई अहिले सुटुक्क हेरेको छु।

बिहान भएको छ। उनले नाइटगाउन खोलेकी छैनन्। नाइटगाउनमा उनी स्वप्न सुन्दरीझैं देखिएकी छिन्। तर अुनहारमा अलि वयस्कता आइसकेजस्तो लागेको छ। पढ्दा पढ्दा उनको विचार पनि परिपक्क भए झैं लागेको छ मलाई। उनका मुखले दर्शन बोल्न थालेका छन्। चस्माको पावरभित्र उनका आँखा मृगनयनी देखिन्छन्।

हामीले मार्लबोरो चुरोट सल्काएका छौं। एकनासले सूर्योदयको हिमाललाई हेरिरहेका छौं। चिसो हावाले उनको गुलावी गालामा म्वाइँ खाएर गएको छ। उही सम्भोगी तरंगमा हिमाल हाँसिरहेको छ। ननुहाएको र राति खजमजिएको उनका कपालका केस्राहरू मुखतिर पनि आइरहेछन्। उनले आफ्नो कपाललाई जुरो बाँध्न हात पछाडि लगेकी छिन्। यसोगर्दा उनका स्तन नाइटीबाट पुल्टुक्क देखिएका छन्। बाहिर निस्कौँलाझैं गर्दैछन्।

यो दृश्य मेरालागि मनमोहक भएको छ। म उनको यो अदामा हराएको छु। उहिले कुर्कुरे बैंसमा भारतबाट निस्कने ‘अंगडाइ’ पत्रिकाको कभर पृष्टमा देखिएकी अलमस्त सुन्दरीको तस्बिरझैं लागेकी छिन् उनी।

अर्को दिनको बिहान भएको छ। अगाडि कालो कफी राखेर वेयरा गएको छ। हिजो रातिको सिङ्गलमाल्टको रन्को अझै पनि सकिएको छैन। यसै बेला उनले एउटा दार्शनिक पाराको प्रश्न गरेकी छिन् मलाई, ‘यो संसारमा मान्छे मान्छे बीचको दूरी कति नजिक कति टाढा छ हँ मनीष! तिमी भन्न सक्छौ?’

मैले उनलाई भनेको छु,
‘दूरीको नजिक र टाढा त फिलिङ हो। सोच हो। जसरी सोच, त्यस्तै हुन्छ दूरी। मरेर जाने लोग्नेका नाममा सेतो लुगा लगाएर श्रीमतीहरू आफू श्रीमान्को नजिक भएको बोध गर्छन्। मरेर जाने श्रीमतीका नाममा विधुर नै जीवन बिताएर सधैँ श्रीमतीसँगै भएको अनुभूत गर्ने लोग्नेमान्छे पनि यही संसारमा छन्। तर कोही त एउटै ओछ्यानमा सुतेर पनि टाढाको दूरी अनुभूति गर्छन्। म के भनूँ! तिमी जीवनका सम्बन्धहरूलाई जसरी सोच, त्यही हो। किनकि तिम्रो सोचाइ तिम्रो हो। तिम्रो सोचाइ तिम्रो लागि सार्वभौम हो।
अनि उनले फेरि सोधेकी छन्, ‘अनि भन त तिम्रा र मेरा हिँडाइका दूरीहरू कति रसिला? कति विरसिला? कति टाढा? कति नजिक? कति आत्मीय? कति स्वार्थी???’

अनि मैले फेरि भनेको छु,
‘हेर निरू, सार्वभौम सत्य संसारमा केही छैन। भर्चुअल सत्यलाई हामी सत्य भन्छौं। भर्चुअल सत्य भनेको भ्रम पनि हो। अथवा भर्चुअल सत्य भनेको गाईबस्तुले बाली नखाओस् भनेर थुतुनोमा लगाइने चोयाको महला जस्तै हो। महला लाएको गोरुका आँखाले हरियो घाँस देख्नसक्छ। चोयाका प्वालबाट सुँघ्न पनि सक्छ। तर खान भने सक्दैन। तिमीले सोचेका सत्यहरू र मैले सोचेका सत्यहरू पनि यस्तै महलाबाट देखिएका सत्य हुन्। रूपमा सत्य देखिन्छन्, सारमा अर्धसत्य हुन्। अर्धसत्य भन्नु अर्धअसत्य पनि हो। हो यही अर्धसत्य वा अर्धअसत्यका मूर्त र अमूर्त अनुभूतिलाई जीवन ठानेर हामी हिँडेका छौं। हाम्रा जीवनमा रस र बेरस भनिनू पनि यही कुरा हो। टाढा–नजिक भनिनू पनि त्यही कुरा हो। ग्लास आधा भरिएको छ कि आधा खाली छ भन्नु पनि त्यही कुरा हो। केबल महलाको प्वालबाट सँुघिने संसार मात्र हो। सोच मात्र हो।’

अनि उनले फेरि थप प्रसङ्ग झिकेकी छिन्,
‘हो मलाई पनि हाम्रो जीवन त्यही महला लाएको गोरुको अवस्था जस्तो लाग्न थालेको छ। आखिरकार यो समाजले जीवनको राम्रो पक्षलाई हेर्दाे रहेनछ। मैले के पढेर आएँ, समाजलाई म के योगदान दिनसक्छु, म के काम गर्दैछु भन्ने बारेमा समाज सोच्दैन। तर मेरो व्यक्तिगत जीवन खोतलेरै उछित्तो काढ्दो रहेछ। खोजीखोजी निकाल्दो रहेछ। अनुमान गरेरै भए पनि अर्काको दोहोलो काढ्दो रहेछ समाजले त। कुरा काट्न ओछ्यानदेखि रछ्यानसम्म केही बाँकी राख्दो रहेनछ। खान खोजे रोक्दो रहेछ। नखायो, खा भन्दोरहेछ। समाजले मसँग लुकेर यौन सम्पर्क गरौँ भन्छ, तर जब मैले हाकाहाकी सम्पर्क गरौँन भनँे भने तथानाम गाली गर्न थाल्दोरहेछ।

अनि मैले जवाफ दिएको छु,
‘संसार आदर्शवादी छैन निरू। सही र गलत मान्छेले बनाएको हो। मान्छे एउटा खोल ओढेर बस्छ। समयले जे माग्यो, त्यही खोल ओढ्छ। यो खोल कुरूप पनि छ, सुरूप पनि छ। यो सबै समाजले बनाएको हो। समाज एउटा जेल हो। यो जेलमा नबसी सुख छैन। कैयौं तत्त्व ज्ञान प्राप्त गरेँ भनेका जोगी पनि यो जेलमा नबसी धर पाउन्नन्। किनकि भोक सबैसँग छ। टाउकाले, हृदयले, भुँडीले र भँुडीमुनीले उब्जाएका भोकहरू जब्बर छन् मान्छेका। त्यो जब्बरतामा मान्छे अर्धसत्यमै लुकिलुकी करणी गर्छन्। अर्धसत्यमै रेप गर्छन्। अर्धसत्यमै बाँच्छन् र कर्ममा आइपुग्दा साखुल्ले बन्न पुग्छन्–बेइमानहरू हुन्। त्यो साखुल्ले अवस्था भनेको खोल हो। मान्छे खोललाई नै सत्य भनेर बाँचिरहेका छन्। त्यसकारण यो संसार समस्यामा जकडेर राख्नका लागि बनेको हो, समस्या समाधानका लागि होइन। समय कसैको नियन्त्रणमा छैन। आफूले चाहेको मात्र जीवन कहाँ बाँच्न पाइन्छ र निरू! पलपल सम्झौता गर्नै पर्छ। यसरी बुझ कि तिम्रा–हाम्रा रिलेसन पनि त सहमति हो, सम्झौता हो। यत्ति बुझ्यौ भने पनि जीवन बुझिन्छ बुझिन्न थाहा छैन, तर जीवन निराशामा जाँदैन। किनकि तिमीले कसैसँग केही आशा गरेकै हुन्न। तिम्रै भाषामा जस्तो छ त्यही रूपमा परिस्थितिलाई हामीले अङ्गीकार गर्यौं भने केको निराशा र!’

अनि यतिबेला उनले प्रतिप्रश्न गरेकी छिन्, ‘के यो जेल राम्रो हो त, मनीष?’

अनि मैले यसरी भनेको छु,

‘राम्रो नराम्रो तुलना हो। केसँग केको तुलना गरेर राम्रो नराम्रो भनी छुट्याउने भन्ने हो। रक्सी नखाएको मान्छेलाई रक्सीको मातको मजा के थाहा? लुतो नलागेको मान्छेलाई लुतो कन्याएको मजा के थाहा ? तर पनि मान्छे न हो विद्वता छाँट्न त किन छोड्थ्यो र? अनि मान्छे नै बेबकुफ छन् कि पत्याइदिन्छन्। तिमी राम्रोसँग तुलना गर, राम्रो छ जीवन। नराम्रोसँग तुलना गर, नराम्रो छ जीवन। तिमी र मैले गरेका यही रिलेसनलाई राम्रो ठान, कति राम्रो छ जीवन। राम्रो ठान्यौं भने हामी आनन्दमय यात्रा गर्छौं। समाधिउन्मुख आनन्द अनुभूति हुन्छ। नराम्रो ठान्यौ भने कति पीडादायी छ जीवन। भर्जिनिटी, धोका ठान्दै तिमी चिन्तित हुन्छौ। पछुताउँदै न रात सुत्न सक्छौ, न सुखद दिन गुजार्न सक्छौ। जीवन नर्क भइहाल्छ यो बेला।’

उनी एकछिन् चुप लागेकी छिन्। र मलाई विस्फारित नेत्रले हेरेकी छिन्। आँखा चम्किला पारेर ट्वाल्ल परेर हेरेकी छिन्। अनि मैले आश्चर्य मान्दै सोधेको छु, ‘ह्वाट, के त्यसरी हेरेकी मलाई । कहिल्यै देखेकी थिइनौ ? कि पत्यार लागेन मेरा कुरा??’

अनि उनले यतिबेला मलाई सुस्तरी जवाफ दिएकी छिन्,

‘तिमीले नै भनेका होइनौ! प्रेममा मान्छेले सोध्न नसकेको प्रश्न आँखाले नै सोध्छन्, अनि आँखैले जवाफ दिन्छन् भनेर! यो आँखाको सवालजवाफ प्रेम हो भनेर सिकाउने तिमी नै होइनौ? हेर त, मेरा आँखाले तिम्रा आँखालाई केही भन्दै छन्। अनि मेरा आँखाले मलाई भन्दै छन् कि तिम्रा आँखा कति नसालु! कति रोमाञ्चक!! कति प्रेमील !!! भो अब हामीले हाम्रा खोललाई च्याते हुन्न!!!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *