सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए। मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो।
सूर्यविनायक-धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ । हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।
कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो । झन्डै रु आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment