दाङ र कालीकोटमा पनि देखियो दादुरा

डिसी नेपाल
३ असार २०८० १४:५७

काठमाडौँ। दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बंगलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको संक्रमण देखिएको जानकारी दिए।

उनले ती दुवै ठाउँका शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको संक्रमण पुष्टि भएको बताए। कालीकोटमा नौ जना र दाङका आठ जना शंकास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो।

यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो। महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ।

उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल एक हजार २१ दादुराका बिरामी भेटिएका छन्। बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ। सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कूल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा) मा दादुरा खोप अभियान सञ्चालन गरेको छ। ती जिल्लामा १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको महाशाखाका निर्देशक डा लालले जानकारी दिए। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *