प्रिमियम मूल्यमा २४ असारदेखि आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर
काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ असार २४ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता जारी गरेको हो।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछन्। यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन्।
यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुबैले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीय बासिन्दाहरुलाई जारी गर्ने आईपीओ भने तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा साउन २२ गतेसम्म भर्ना पाउने छन्।
विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले काठमाडौँको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment