अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह
काठमाडौं। नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
परिसङ्घको नवनिर्वाचित पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।
परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए। “पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरूले स्थगित गरेको थिए, अहिले तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन सकेका छैनन्”, अध्यक्ष अग्रवालले भने ।
उनले आगामी आवमा सरकारले राखेको छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।
लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ थियो । स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए।
भेटमा गभर्नर अधिकारीले परिसङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए। उनले परिसङ्घले अध्ययन गरेर दिएको नीतिगत सुझावलाई ग्रहण गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंक लाग्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment