राष्ट्रियसभा: विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल (भिडियोसहित)

डिसी नेपाल
१८ असार २०८० १६:१२

काठमाडौं। प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा सोमबारबाट छलफल सुरु भएको छ ।

सोमबार बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन मन्त्रालय, महिला, बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग मन्त्रालयको बजेटमाथि छलफल भएको हो । बैठकमा उक्त मन्त्रालयमाथि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी लगाएतले खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए।

खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद इन्दिरादेवी गौतमले स्थानीय र प्रदेशस्तरबाट गर्न सकिने साना साना आयोजनाहरुलाई बजेट विनियोजन गरेर राष्ट्रिय महत्वका आयोजनाहरुलाई ध्यान नपुराएको बताएकी छिन् । उनले प्रत्येक बर्ष एउटै शीर्षकमा अध्ययन अनुसन्धानका लागि बजेट छुट्टाएपछि त्यसको प्रतिफल न्यून रहेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएकी छिन्।

त्यस्तै सांसद भगवती न्यौपानेले सरकारको बजेट र नीति तथा कार्यक्रमबीच तालमेल हुन नसकेको आरोप लगाएकी छिन्। उनले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका क्षेत्रमा प्रयाप्त बजेट छुट्टाउन नसकेको बताएकी छिन्।

त्यस्तै सांसद सोनाम गेल्जेन शेर्पाले पछि परेको क्षेत्र भन्दा पनि बिभिन्न बहाना गर्दै पहुँचका भरमा बजेट वितरण गर्ने प्रवृति यस बर्ष पनि देखिएको बताए । उनले अहिले स्थानीय तह र प्रदेश तहलाई गएको बजेट हेर्दा मुलुकमा साच्चिकै संघीयताको आवश्यकताको पुष्टि भएको जिकिर गरे।

त्यस्तै खर्च कटौतीको प्रस्ताव राख्दै सांसद सुमित्रा बिसीले साधारण न्यून खर्च गर्दै बिकास खर्च बढाउनुपर्नेमा त्यसको ठिक विपरित भएकाले खर्च कटौतीको प्रस्ताव राखेको बताएकी छिन्। । उनले बजेट छरेर कुनै आयोजना पुरा नगर्नु भन्दा कुनै बिशेष आयोजनालाई सम्पन्न गर्ने गरि योजना बनाउनुपर्नेमा जोड दिएकी छिन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *