रोजगारीका लागि पौने आठ लाख विदेशिए

डिसी नेपाल
२ साउन २०८० ६:५१

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए। उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे।

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए ।

गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन् ।

त्यसै गरी गत फागुुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *