थाइल्याण्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र सिंगापुरमा

डिसी नेपाल
२ साउन २०८० ११:०३

काठमाडौं। गत शुक्रबार थाइल्याण्डको बैंकका गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सिंगापुर गएका छन्।

सिंगापुरमा छोरी प्रेरणाको उपचार भइरहेको छ। पूर्वराजा छोरीको उपचारका लागि थाइल्याण्डबाट सिंगापुर गएको स्रोतले जनाएको छ। सिंगापुरबाट थाइल्याण्ड फर्किएर नेपाल आउने कार्यक्रम भएपनि मिति  तय नभएको स्रोतले जनाएको छ।

गत शुक्रबार पूर्वयुवराज पारस बाहेक अन्य परिवारका सदस्यलाई लिएर पूर्वराज शाह थाइल्याण्ड गएका थिए। थाइल्याण्डमा पूर्वराजाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ।

तर थाइल्याण्डमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्केट) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफल चलिरहेका बेला पूर्वराज थाइल्याण्ड गएका हुन्।

पछिल्लो समय वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका पूर्वराज पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ।

देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन्। केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ।

वर्तमान व्यवस्थाप्रति नागरिकस्तरमा बढ्दो असन्तुष्टि र हजार राजा भन्दा एउटै राजा राम्रो भन्ने नागरिकको बुझाइप्रति उत्साहित बनेका पूर्वराजा शाह पछिल्लो समय सक्रिय बन्दै गएका छन्।

मुलुकको शासन व्यवस्थामा सुधार आवश्यक रहेको भन्दै संविधान संशोधनकोसमेत चर्चा हुने गरेका बेला त्यही मौकालाई उपयोग गरेर पुन शक्तिमा फर्किने चाहना पूर्वराजामा देखिन्छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३/६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्।

गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *