कांग्रेस बैठक : ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउन गगन थापाकाे प्रस्ताव

डिसी नेपाल
२ साउन २०८० १६:५९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् । १ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभियानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका छन् ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । सभापति देउवाले बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरे ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *