कहाँ गइन् आरुसी ?

डिसी नेपाल
४ साउन २०८० ७:२४

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी १३ वर्षीया आरुसी ठाकुर घरबाट निस्केको चौथो दिनसम्म पनि फर्केकी छैनन् । सम्पर्कविहीन भएको चार दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात छ ।

पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार बिहान ८ बजेदेखि बेपत्ता छिन् । उनका बाबु भरत ठाकुरको पाँच वर्षअघि नै निधन भइसकेको छ । आमा जानकी भने वैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा छिन् ।

कुवेतबाटै उनले सञ्चारकर्मीलाई फोन गरेर छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन आग्रह गरेकी छन् । शनिबार राति ९ बजेतिर छोरीले बोक्ने ९८१४७७८५७० नम्बरको मोबाइलबाट अन्तिमपटक कुरा भएको र त्यसपछि स्विचअफ भएको उनले सुनाइन् ।

‘विद्यालयमा भोलिदेखि गर्मी बिदा छ, भोलि टोलकै दिदीहरूसँग जनकपुरस्थित भाटभटेनी घुम्ने योजना बनाएकी छु,’ भनी छोरीले भनेको तर, आफूले अनुमति नदिएको उनले सुनाइन् ।

‘नजिकैको बजार जाँदा त छोरीले फोन गरेर अनुमति मागेर मात्र जान्थी,’ जानकीले भनिन्, ‘मेरो कुरा कहिल्यै नकाट्ने छोरी अनुमतिबेगर त्यति टाढा जनकपुर जाने त कुरौ भएन ।’

आरुसी ठाकुर दाम्पतीकी एक्ली सन्तान हुन् । घरको आर्थिक अवस्था कमजोर भएको तथा श्रीमानको निधनपछि जीवनयापन गर्न धौधौ भएपछि बिदेसिनु परेको जानकीले सुनाइन् । छोरीको रेखदेख गर्ने कोही नभएकाले उनले आरुसीलाई हजुरबुबाको जिम्मा दिई केही समयअघि मात्र कुवेत पुगेकी थिइन् ।

हजुरबुबा प्रेम कँुवरले केही काम छ भन्दै आइतबार बिहान ८ बजेतिर निस्केकी आरुसी साँझ अबेरसम्म नफर्केपछि चिन्तामा डुबेको बताए । भोलिपल्ट एकाबिहान उठेर आरुसीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाइ छ ।

जनकपुर पनि नगएको र उनको सहपाठी तथा नजिकका आफन्त पर्ने सबै गाउँटोलमै रहेकाले छोरीको अपहरण भएको हुन सक्ने आमा जानकीले आशंका गरिन् ।

छोरीकै खुसी र उज्ज्वल भविष्यका लागि रोजगारी खोज्दै विदेशी भूमिमा पुगेको केही समय नबित्दै बेपत्ता भएको खबरले छांगाबाट खसेजस्तै बनेको बताउँदै जानकीले भनिन्, ‘उनका साथी, आफन्त र चिनजान भएका ठाउँ सबैतिर खोज्न लगाएका छौं तर कुनै पत्तो लागेको छैन ।’ आरुसीले प्रयोग गर्ने मोबाइलको प्राविधिक पक्षबाट पनि अनुसन्धान गर्न उनले प्रहरीसँग आग्रह गरेकी छिन् ।

आरुसीका परिवार, आफन्त र साथीभाइसमेत फोटो बोकेर सम्भावित स्थानमा खोजीमा जुटेका छन् । परिवारले प्रहरीचौकी पकरीमासमेत उजुरी गरिसकेका छन् । घटनाको अनुसन्धान गरिरहेका पकरी प्रहरीचौकीका असई जयकिशोर साहले नाबालिक आरुसी पत्ता लगाउन प्रहरीले कुनै कसर बाँकी नराखेको जानकारी गराए ।

‘आरुसीको हुलियासहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको छ,’ उनले भने, यसका साथै आरुसीको विगतको इतिहास, परिवारिक र आर्थिक अवस्थालगायतका विभिन्न कोणबाट समेत घटनाको अनुसन्धान भइरहेको छ ।’ राजधानी दैनिकबा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *