आजबाट माओवादी केन्द्रीय समिति बैठक
काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू हुँदैछ। सो केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन्।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन्। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन्।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले तय गरिसकेको छ। सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन्।







डिसी नेपाल







Facebook Comment