माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी
काठमाडाै। सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसिरहेकाे छ। केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीकाे पदाधिकारी बैठक बसेकाे हाे।
केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ।
जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन्।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन्।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन्। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन्।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले तय गरिसकेको छ। सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन्।







डिसी नेपाल







Facebook Comment