विभत्स गौर हत्याकाण्डको छानबिन गर्ने सरकारको तयारीपछि उपेन्द्र यादव त्रसित

डिसी नेपाल
२४ साउन २०८० १४:१९

काठमाडौं। सरकारले १७ वर्ष अघि रौतहटको गौरमा भएको विभत्स हत्याकाण्डको छानबिन गर्ने तयारी गरेपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव त्रसित बनेका छन्।

मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा पाँच बुँदे सहमति भएको छ। सहमतिमा भएको गौर हत्याकाण्डको छानबिन गर्र्दै दोषीलाई कारबाही गर्ने आन्दोलनरत पक्षसँग गृह मन्त्रालयले सहमति गरेको हो।

२०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) दुबैले आमसभा गर्ने तय गरिएको स्थान रौतहटको गौर नगरपालिका-५ स्थित राइस मिल्सको चौरमा झडप भएको थियो।

कार्यक्रम स्थलमा भएको सामान्य झडपपछि फोरमका कार्यकर्ताले माओवादीका निशस्त्र २७ जना नेता कार्यकर्तालाई लखेटी लखेटी विभत्स ढंगले हत्या गरेका थिए। उनीहरुले माओवादीका महिला कार्यकर्ताहरुलाई बलात्कार गरी यौनांगमा भाला रोपेर हत्या गरेका थिए।

गौर नरसंहारमा छिमेकी मुलुक भारतबाट ल्याइएका भाडाका गुण्डाहरु प्रयोग गरी घटना घटाइएको बताइन्छ। सोही क्रुर गौर हत्याकाण्डले नेपालको राजनीतिमा मधेशी जनअधिकार फोरमको उदय भएको थियो।

यही घटनापछि भएको पहिलो संविधानसभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम चौथो पार्टीका रुपमा उदय भएको थियो।

गौर हत्याकाण्डले राष्ट्रिय राजनीतिमा स्थापित भएको उनको दलले २०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३०, समानुपातिकमा २२ र मनोनित २ सांसदसहित ५४ जना सांसदसहित सदनमा प्रवेश गरेको थियो।

तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको गौर हत्याकाण्डको न्यायोचित छानबिन गर्ने हो भने त्यसको मुख्य दोषी उपेन्द्र यादव नै रहेको घटनाक्रमले देखाउँछ। त्यसैले यादव सरकारको छानबिन गर्ने निर्णयपछि त्रसित बनेका छन्।

निष्पक्ष छानबिन गरिएको खण्डमा यसको मुख्य भागीदार उपेन्द्र यादव नै हुने घटनाका प्रत्यक्षदशीहरु बताउँछन्। उपेन्द्र यादवको घटनास्थलमा प्रत्यक्ष संलग्नता नभएपनि फोरमले गरेको क्रुर हत्याकाण्ड उनकै योजनामा भएको दाबी स्थानीयहरुले गर्दछन्।

तत्कालीन फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए। हाल उनको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा बनेको छ।

सरकारको गौरहत्याकाण्डको छानबिन गर्ने निर्णयले उपेन्द्र यादव त्रसित बनेका उनले बुधबार पार्टीको आकस्मिक बैठकसमेत बोलाएका छन्।

उनले सरकारको निर्णयपछि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यस बारेमा जिज्ञासा राखेको बताइएको छ। उनले अन्य शीर्ष नेताहरुसँग समेत छलफल अघि बढाएको स्रोतले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *