सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनु पर्छ : एमाले

डिसी नेपाल
२८ साउन २०८० १३:४७

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए। संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र? हामीले त न्यायिक छानबिन भनेको हो। एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ। देश यति गम्भीर अवस्थामा पुगेको छ। त्यसैले गम्भीर हुनुपर्छ।’

उनले अहिले ‘गोल्डेन-टच’ भैरहेको प्रसंग सुनाए। उनले भने,‘जे आएपनि सुन, आईफोन पनि सुन। ब्रेक-सु सुन। भन्सारबाट त अहिले जे आएपनि सुन। हामी सबै गम्भीर हुनुपर्छ। यो देश रित्याउने मामिला हो। यसबाट हामीले देशलाई बचाउनैपर्छ। त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौं।’

उनले सुन तस्करी प्रकरणमा निश्पक्ष छानबिनको मागलाई दोहोर्‍याए। उनले भने,‘टप्पो टुप्पोमात्रै हेरेर हुँदैन, जरोसम्मै पुग्नुपर्छ। अहिले हेर्नुहोस त एक जना नेताले २३४ पटक कुनै गिरोहसँग लगातार सम्वाद गरेको कुरा बाहिर आएको छ।’

अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य वाचन गरेका थिए। सो क्रममा उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको र यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *