सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

डिसी नेपाल
३२ साउन २०८० ६:४८

काठमाडौं। सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ।

सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ।

अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ ।

गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लागेका राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परे पनि आवश्यक प्रमाण अपुग भएपछि पुनः बोलाउनेगरी छोडिएको थियो ।

बुधबार पक्राउ परेका चिनियाँ नागरिकहरूमा लिविन ताई, टिमिङ मी, डिङ सेङ्फा र ली नेङ्काई रहेका छन् । यसअघि पक्राउ परेका व्यक्तिहरूसँगको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

यसअघि राजस्व अनुसन्धान विभागले १५ नेपालीसहित १८ जनालई पक्राउ गरी सिआइबीलाई हस्तान्तरण गरेको थियो । जसमा भन्सार अधिकृत सन्तोष चन्द र भन्सार एजेन्ट राजकुमार भुजेल पनि छन् । स्वास्थ्यमा समस्या देखिएपछि भन्सार एजेन्ट रूक्मिना सुब्बालाई तारिखमा छोडिएको छ ।

यसैगरी, ट्याक्सी चालक अशोक लामासहित अन्य सरोज श्रेष्ठ, नरेश तामाङ, कृष्णकुमार श्रेष्ठ, राजनकुमार श्रेष्ठ, कुमार ढकाल, राजेन्द्रबहादुर राई, यादव पराजुली, सुदर्शन गौतम र हर्कराज राई अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् ।

तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू बताउँछन् ।

गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागबाट जाँच पास भएर बाहिरिसकेपछि ट्याक्सीसहित राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । स्कुटरको ‘ब्रेक सु प्याड’मा ल्याइएको सुन गलाउँदा ६० किलो ७ सय १६ ग्राम निस्केको छ ।

स्कुटरको ब्रेक–सुको आवरणमा ल्याइएको सुन ब्रेक–सुसहित १ सय ५५ किलो रहेकामा मंगलबार टक्सार विभागमा गालेर प्रशोधन गर्दा ६० किलो ७ सय १६ ग्राम मात्रै भएको थियो ।

सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने भन्दै संसद् अवरुद्ध गरिरहेको छ । एमालेले सुन बरामद प्रकरणको छानबिन गर्न एक उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरे पनि सत्ता गठबन्धनले भने एमाले नेता मात्र नभई माओवादी नेता पनि संलग्न भएको देखिएमा कारबाही गर्ने भन्दै अहिले छानबिन समिति नबनाउने निष्कर्ष निकालिसकेको छ ।

पक्राउ परेर हिरासतमा रहेका २१ जनाविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान गरिरहेको छ । २२ जना पक्राउ परेको भए पनि एक जनालाई भने हिरासतमा नराखीकन अनुसन्धान गरिरहेको छ ।

भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा अनुसन्धानको घेरामा रहेकी छन् ।

सय किलो सुनको अनुसन्धान गर्ने क्रममा राजस्व अनुसन्धान विभागले कमलपोखरीमा राकेश अडुकियाको घरमा, बुढानिलकण्ठ, टोखा, ठमेललगायतका क्षेत्रमा छापा मारेको थियो । टोखामा कृषि फार्मको आवरणमा सुन गाल्ने उपकरण पाएपछि यसमा अन्तर्राष्ट्रिय अपराधीको संलग्नता भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुसन्धानको फाइल हस्तान्तरण गरेको थियो ।

राजस्व अनुसन्धान विभागले यही ३ साउनमा त्रिभुवन विमानस्थलबाहिर बरामद गरेको सुन सुरुमा करिब १ क्विटल (सय किलो) हुनुपर्ने अनुमान गरिएपछि यो प्रकरण सय किलो सुन प्रकरण भनिएको थियो । तर, सुन बरामद भएको २८ दिनपछि सुन गालेर तौलिँदा सुनको परिमाण घटेर ६० किलो ७ सय १६ ग्राम पुगेको छ ।

सुन तस्करी काण्ड भन्नेमा हामीले ल्याउँदाखेरि सबै पोकासहित १ सय ५५ केजी ६८ ग्राम भएकामा त्यसका ब्रेक–सु र कार्टुन, अन्य कच्चापदार्थ छुट्ट्याएर आएको तौलिएको थियो । गालिसकेपछि ६० किलो ७ सय १६ ग्राम सुनको तौल आएको र त्यसलाई ३४ वटा सुनका बिस्कुट साँचोमा राखेर सुनको बिस्कुट बनाइएको छ । गाल्दाखेरी जर्ती ७३ ग्राम गएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार सुन गालिएको थियो ।

बरामद गरिएको सुन बिस्कुट आकारमा ढालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा नै राखिएको छ । यसको गुणस्तर परीक्षण गर्न भने बाँकी नै रहेको छ । त्यसका लागि एक सातासम्म समय लाग्नसक्ने टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । शुद्ध सुन हो वा कमसल सुन हो भन्ने गुणस्तर परीक्षणपछि मात्र थाहा हुने उनले बताए ।

गुणस्तर नाप्ने प्रणाली राष्ट्र बैंकसँग छ । यसरी गुणस्तर परीक्षण भएर आएपछि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा ५ प्रतिशत थप गरी खरिद गर्नेछ ।

यद्यपि, यो प्रक्रिया टुंगिन भने अदालती प्रक्रिया पूरा हुनुपर्नेछ । सो सुनको मूल्यबराबरको रकम सरकारको खातामा राजस्वका रूपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रूपमा रहन्छ । यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्रीसमेत गर्ने गर्छ । यसरी बरामद भएको सुनलाई राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितीमा गणना गर्ने प्रावधान रहेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *