चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकामा हुने राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी बैठकमा श्रेष्ठले मुलुक आत्मनिर्भर हुने वस्तुमा बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको भन्दै राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या नभएकाले यसप्रति गम्भीर रहेको बताए। भारतवाट चोरी पैठारी हुँदै कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिँदा बिभिन्न रोगको जोखिम बढेको भन्दै क्वारेन्टाइनसम्बन्धी कानून परिमार्जन गर्न समन्वयन गर्ने उनको भनाइ ।
श्रेष्ठले सीमा क्षेत्रमा दर्ता नभएर सञ्चालन भएका वा दर्ता भएर पनि अवैध रुपमा सञ्चालन भएका कुखुरा फार्महरुलाई हटाउन निर्देशन दिने बताए। उनले अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, पुँजीगत खर्च कार्यान्वयनको अवस्था र व्यापार घाटा न्यूनीकरणलाई सम्बोधन नगरेसम्म मुलुक अघि बढ्न नसक्ने जनाए।
बैठकमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कोरोनापछि मुलुकको पोल्ट्री व्यवसायमा निकै समस्या देखिएको र भारतबाट हुने चोरी पैठारीले थप असर परेको बताए।
त्यस्तै व्यवसायीहरुले सीमा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अवैध ओसारपसार गर्नेलाई कडा कारवाही गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए।







डिसी नेपाल







Facebook Comment