संसद अवरोध हटाउन राष्ट्रपतिको सक्रियता, मंगलबार बोलाए सर्वदलीय बैठक

डिसी नेपाल
३ भदौ २०८० २०:३०
72
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोधपछि दलहरुसँग सदन खुलाउने विषयमा सहजीकरण गर्न  सर्वदलीय बैठक बोलाएका छन्।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै एमालेको निरन्तर संसद अवरोधपछि राष्ट्रपतिले मंगलबार सर्वदलीय बैठक बैठक बोलाएका हुन्।

राष्ट्रपतिले सदन खुलाउने विषयमा सहजीकरणका लागि प्रतिपक्षीसहित सबै राजनीतिक दलसँग  छलफल गर्न लागेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले जानकारी दिए।

थापाले डिसी नेपालसँग भने, ‘ लामो समयदेखि सदन अवरुद्ध हुँदा विभिन्न विधेयकहरु विचाराधिन अवस्थामा रहेका छन् । त्यसैले सदन खुलाउन सहजीकरणका लागि मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको हो।’

यस अघि राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा सँग पनि संसद खुलाउने विषयमा परामर्श गरेका थिए। उनले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन्।

संसद खुलाउने विषयमा सत्तापक्षले बारम्बार आग्रह गरेपनि कुनै ठोस निकास निस्केको छैन। एमाले आफ्नो मागबाट पछि नहट्ने र सत्ता पक्ष प्रतिपक्षको माग पूरा गर्न तयार नहुँदा साउन १० गतेदेखि संसदका दुवै सदन अवरुद्ध हुँदै आएको छ।

प्रतिपक्ष माग पूरा नभएसम्म सदनको अवरोध नहटाउने र सत्ता पक्ष माग पूरा गर्न तयार नहुँदा संसद सुचार गर्न राष्ट्रपति पौडेलले सहजीकरण गर्न लागेका हुन्।

‘राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको पनि जिम्मेवारी हुन्छ। त्यही जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाइएको हो,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले भने।

सदन खुलाउने विषयमा हालसम्म दलहरुबीच सहमति जुट्ने संभावना नदेखेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *