मेरो राजनीति अदालत प्रयोग गरेर निस्तेज पार्ने षड्यन्त्र गरियोः पूर्वमन्त्री न्यौपाने
काठमाडौं। आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री बद्री न्यौपानले विशेष अदालतको फैसला आफ्नो राजनीतिक करियर बर्बाद बनाउने नियतले आएको बताएका छन् ।
उनले विगतमा मधेश आन्दोलनको क्रममा साम्प्रदायिक विखण्डन रोक्ने आफूले खेलेको भूमिकालाई लिएर देशी विदेशी शक्ति केन्द्रको आडमा विशेष अदालत प्रयोग भएको बताए ।
बिहीबार डिसी नेपालसँगको कुराकानीमा पूर्वमन्त्री न्यौपानेले आफू अन्यायमा परेको बताउँदै आफ्नो कार्यकालमा भृकुटीमण्डपको जग्गा तत्कालीन भाडा दरभन्दा बढी मूल्यमा दिएको जिकिर गरे । उनले कम मुल्यमा दिएको भनी गरिएको फैसला निराधार भएको बताए ।
उनले भने, ‘आर्थिक ऐन र नियमावलीमा आधारित रहेर तत्काल कायम रहेको भाडा दर एक लाख ७५ हजार भन्दा बढी मूल्य पाँच लाख ५५ मा दिँदा मैले भ्रष्टाचार गरेको फैसला भएको छ। यो ममाथि भएको अन्यायपूर्ण कदममा नेपाली जनताले साथ दिनेमा आशावादी छु ।
उनले विशेष अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने आर्थिक हैसियत समेत नभएको दुखेसो गरे। उनले विशेष अदालतको फैसलाविरुद्ध पुनरावदनमा जान सक्ने अवस्था नरहेको दर्शाउँदै सहयोगका लागि अपिल समेत गरेका छन्।
पूर्वमन्त्री न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटी मण्डपको जगा भाडामा दिँदा भष्टाचार भएको भन्दै विशेष अदालतमा दायर गरेको थियो। विशेष अदालतले उनीसहित नौ जनालाई दोषी ठहर गर्दै न्यौपानेलाई २ करोड ४३ लाख जरिवाना, २ करोड ४३ लाख विगोसहित ९ वर्ष ६ महिना कैद ठहर गरेको थियो ।







डिसी नेपाल







Facebook Comment