कथा : कोलको गोरू

खेमराज पोखरेल
३० भदौ २०८० ७:००

उसले परिवारलाई ठूलै ‘कुरवानी’ दिएको थियो। उसले त्यसबेला दरभङ्गाबाट ‘म्याट्रिकुलेसन’ पास गरेको थियो। उसका बाबुले एकमानाको बन्दोबस्त गरिदिएकै थिए। पढाइ दिएकै थिए। उसले राणाकालमा जागिर पाएको थियो। उसका बाबुले भनेः

‘रे बेचना, छोड् देही जागिर, अपना काम कर, तु असगरे बेटा, के करते यी काज?’ (बेचना छोडी दे जागिर, आफ्नो काम गर्, तँ एउटै छोरो होस्, कसले गर्छ यो काम?)

उसको नाउँ बेचना। बेचन साहु। उसका पुर्खा भारतबाट नेपालको बरहथवा हुँदै सप्तरीको कञ्चनपुरमा बसाईँ सरेको भन्ने उसले आफ्नै हजुरबाबाट थाहा पाएको थियो। यसै ठाउँमा पाँच पुस्तामा उसको परिवार बसेको छ। उसको पैतृक पेसा कोलमा तोरी पेलेर तेल बेच्ने थियो।

उसको नाम बेचना हुनुको पनि कारण थियो। उसकी आमाले ऊ अघि पनि लगातार तिन छोरा पाएकी थिइन्। एक अधिग्रो र दुई न्वारन नगरी नै भगवान्का प्यारा भएका थिए।

एउटा धामीले भनिदिएको थियो कि ‘अब जन्मिने सन्तानलाई जन्मिनेबित्तिकै डुमको हातमा बेची दिनू र डुमकै हातबाट फेरि किन्नू’। ऊ जन्मिने बेलामा सुँ डेनी पनि थिइन्, डुम पनि तयार थियो। उसलाई सालनालसहित त्यही डुमलाई चारआनामा बेचिदिए।

डुमले उसको सालनाल काट्यो र एक थोपा पानी उसको मुखमा हालिदियो। उसका बाबुआमाले तत्क्षण नै दुई पसेरी धानमा डुमसँग किने उसलाई। बाहुनले खोइ के नाम राखे कुन्नि तर ऊ बेचिएको छोरो भन्ने अर्थमा बेचना भयो।

ऊ विकासप्रेमी थियो। राणाकालमै भनसुन गरी स्कुल खोल्यो, आफैँले भवन बनायो, दरभङ्गाबाट काइते (कायस्थ) मास्टर खोजेर ल्यायो। घरमा राख्यो। खान बस्न फ्री। यसबाट दुइटा फाइदा भयो। गाउँमा शिक्षाको ज्योति बल्यो।

उसका छोराछोरीले घरैमा अक्षर चिने। उसले एउटा सार्वजनिक औषधालय पनि खोल्यो। कम्पाउण्डरलाई बरौनीबाट खोजेर ल्यायो। ऊ पनि उसकै घरमा बस्यो खान बस्न फ्री। तराईको यो गाउँमा ऊ सुधारवादी भएर निस्क्यो।

उसको पुस्तैनी पेसा तोरीको तेल पेल्ने र गाउँ गाउँमा गएर बेच्ने थियो। चार गाउँमा उसको तेलको एकाघिपत्य थियो। पहाडबाट आउने पैकारी पनि उसकै घरमा ठोकिन्थे। पहाडका दोकानमा चाहिने खिर्चिमिर्चीको ऊ होलसेलर थियो।

यसरी हेर्दा ऊ व्यापारमा जमेको थियो। जग्गा जमिन परसस्ती जोडेको थियो। उसको बैठक घरमा ठूलाबडा मान्छेको आवतजावत हुन्थ्यो। ऊ सबै कुरामा प्रभावकारी थियो।

ऊ खिन्न भयो। आज उसकी श्रीमतीको श्राद्घ छ। छोराछोरी झरेका छन्। उसले मनमनै श्रीमतीलाई सम्झ्यो र मनमनै भन्योः ‘रे कन्किर्वाके म्या, बिस साल भगेले, तुँ अकेले चैल गेलिही, हमरा अ‍ै‘ठाँ मन नैलगैछौ, कि करवे ?’ (ए कान्छाकी आमा, बिस वर्ष भयो, तँ एक्लै गइस्, मलाई यहाँ मन लाग्दैन, के गर्ने?) उसले आँखाभरि आँसु पारेर श्रीमतीलाई सम्झ्यो।

उसकी श्रीमती राम्री थिइनन्। काली, पातली तर परिपाठ असाध्यै जान्ने। आउने जाने, हरुवा चरुवा, परपाहुना, छोराछोरी, नोकरचाकर सबैको परिपाठ मिलाएर व्यापार पनि हेर्ने। सानै उमेरमा बिहे भएको थियो। मुलुकी ऐन जन्मैकै थिएन। बालबिहा थियो। खासमा ऊ केही गर्दैनथ्यो।

सेतो सफा धोती र कुर्ता लगाएर ऊ सधैँ बाहिरै हिँड्ने घर त श्रीमतीले नै चलाएकी थिइन्। मर्ने बेलामा उसले लोग्नेकै काख रोजी। अरु रोए उनले हाँसेजस्तो गरेर प्राणत्याग गरिन्। श्वास रोकिएला जस्तो भएपछि आफ्नो श्रीमान्लाई भनिन्ः

‘अँहा दुःखी नै होऊ, एकबार त जाइके छे, वतै मिल्वे’ (तपाईँ दुःखी नहुनु होस्, एकपल्ट त जानै पर्छ, उतै भेटौँला)।

ऊ बेस्सरी रोयो । यसअघि पनि ऊ रोएको थियो आमा मर्दा, बाउ मर्दा र माइलो छोरो नौ वर्षको उमेरमा ‘चेचक’ले मर्दा। अरु बेला कस्तै विपद् पर्दा पनि रोएको देखेका थिएनन् कसैले। खोलाले खेत लग्यो, घरमा आगलागी भयो, देसानले बस्तुभाउ सोत्तर भए, महामारी भयो तर पनि ऊ रोएको थिएन।

श्राद्घको कर्मकाण्ड सकियो। छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना सबै लाखापाखा लागे। अचेल कोही छैनन् घरमा। पुरानो नोकर हरियाले भने छोडेको छैन। पुरानो टालीको घर बस्न लायक छैन । घडेरी जग्गामा बनमारा उम्रेको छ। मान्छे पाइनन्।

खेती जग्गामा मोही धनी भएको छ। अचेल तेल मिल आए। कोलको व्यापार ऊ जस्तै सुक्यो। जेठो छोराबुहारी विराटनगर बस्छन्, कान्छो काठमाडौंमा। उनीहरु बाबुको मुखैमा भन्छन्ः ‘बाबुजीके दिमाग नै पुग्ले।

यतैक सम्पत्ति आ जग्गा काठमाडौँमे जोड देतिए त आइ हमरासबके यी दुख करैला नै पड्तिए’ (बुबाको दिमागै पुगेन। यति सम्पत्ति र जग्गा काठमाडौँमा जोरि दिएको भए आज हामीले यति दुःख गर्नै पर्दैनथ्यो)। ऊ दुःखी हुन्थ्यो। यो श्राद्घमा पनि नआए हुन्थ्यो जस्तो लाग्छ उसलाई।

उसले खोलेको औषधालय सरकारी हेल्थपोस्टमा परिणत भयो र ठाउँ सर्‍यो। उसले खोलेको स्कुल सरकारी भयो। उसको नाम छैन। उसले घर अगाडि बरपिपल रोपेको थियो। त्यहाँ मान्छेलाई सिँयाल ताप्न वीरपुरबाट सिमेन्ट बोकाएर ल्याएर पक्का पाटी बनाएको थियो।

गाउँलेलाई पानी खान इनार खनेको थियो। बाटो बढ्दा ती सबै काटिए, पुरिए। अब त कसैलाई पनि थाहा छैन कि यो बेचनाले खोलेको हो। ऊ छँदै उसको इतिहास हरायो। ऊ छँदै उसको योगदान मर्‍यो। ऊ छँदै उसकै अस्तित्व हरायो, ऊ नै हरायो।

ऊ आफैँ भन्छः ‘यी स्कुल हम बनेने छिए, यी औषधालय हम स्थापना केलिए’ (यो स्कुल मैले बनाएको हो, यो औषधालय मैले स्थापना गरेको हुँ’) यो सुनेका अचेलका केटा भन्छन्ः ‘सठिया गेल्छे यी बुढ्वा’ (पागल भएको छ यो बुढो) ।

ऊ पचासी वर्षको बुढो भयो। उसले आफ्नै झोलिएका पिँडुलालाई मुसार्‍यो। हाडलाई मासुले छोडेको छ, मासुलाई छालाले छोडेको छ र छालालाई सबै आफन्त र इष्टमित्रले छाडेका छन्। उसले ऐना हेर्‍यो।

अनुहारभरि अमिनले कित्ताकाट गरेजस्ता मुजाहरु छन्। उसलाई शरीरभरि तेल लगाउन मनलाग्यो। हरियालाई करायोः ‘रे हरिया, कनिक करू तेल ला त, हमरा डाँडमे मालिस क्या देही’ (ए हरिया, अलिकति तोरीको तेल ल्या त, मेरो ढाडमा मालिस गरी दे’)।

हरिया पनि आफैँ पैँसट्ठी वर्षे बुढो छ। अलिअलि दम्मा पनि छ। तर पनि ऊ फुर्तिले आज्ञा मान्छः ‘जी मालिक’। तोरीको तेललाई बेचनाले यसो सुँघ्छ र पारखी नाकको कुरा हरियालाई भन्छः ‘रे हरिया, एकरा के कहै छे शुद्घ करू तेल ? सार ठगसब मिसावट क्यादेल्के’

(ए हरिया, यसलाई कसले शुद्घ तोरीको तेल भन्छ? साले ठगहरुले मिसावट गरिदिए छन्)। हरिया पनि बड्बडायोः ‘कि कर्वे मालिक ? मिलवालासब एहने करैछे’ (के गर्ने मालिक, मिलवालाहरु यसै गर्छन्)।

ऊ आफैँ गुनगुनाउँछः ‘गाउँ सहर भगेले। विकास चैल एले। दया, माया पे्रम, सभ्यता, संस्कृति आ भाषा कमजोर भेले। इमान आ धर्म ह¥या गेले। अपना बिरान भगेले। शान्ति चैल गेले। धुर्, एहन विकास भेले से’ (

गाउँ सहर भयो। विकास भित्रियो। दया, माया, प्रेम, सभ्यता, संस्कृति, भाषा कमजोर भयो। इमान धर्म हरायो। आफन्त बिराना भए। शान्ति हरायो। छि, यस्तो पनि विकास हो त?)

उसलाई अचेल लाग्न थालेको छ कि मान्छे किन यस्तो भयो होला? मान्छे किन उन्मुक्त हाँसो हाँस्दैन? बाहिर चिटिक्कको लुगा त लगाउँछ तर भित्र कति कालो बोक्न सकेको होला? खोइ के गर्छु भन्छ को नि मान्छे?

उसलाई उसका पिताले भनेका थिए कि धनसम्पत्ति र मानसम्मानले मान्छे धनी हुन सक्तैन। धनी हुन मन, इमान र शान्ति चाहिन्छ। शान्ति धर्ममा, परोपकारमा मात्र हुन्छ। उसले जीवनमा त्यसै ग¥यो। तोरीको तेलमा मिसावट गरेन। व्यापारमा बेइमानी गरेन। दुराचार गरेन।

एक श्रीमती व्रत बस्यो। उसकी श्रीमती बितेपछि अर्को बिहे गर्ने दबाब परेको थियो छोराछोरीबाट। सायद उनीहरु घाँडो पन्छाउन चाहन्थे। स्कुल खोल्यो, औषधालय खोल्यो, पाटी चौतारा बनायो, बाटो बनायो, दान ग¥यो, छोराछोरी पढायो। धर्म मान्यो।

उसको कुरो सुन्ने कोही छैन। त्यसैले ऊ हरियालाई सोध्छः ‘रे हरिया, हमरा पास जग्गा जमिन छेबे करे, ओतेक समाजसेवा केलिए, ध्यापुताके पढेलिए, अब ऊसब सहरमे जैम गेल्छे, धर्म केलिए, दानपुण्य केलिए, लेकिन हम कहाँ धनी भेलिए?’

(ए हरिया, मसँग जग्गाजमिन छँदै छ, तेती समाजसेवा पनि गरको छु, छोराछोरा पनि पढाएको छु, अब उनीहरु सहरमा जमेकै छन्, धर्म गरेँ, दानपुण्य गरेँ तर खोई म धनी भएँ?’)

हरियाले के बुझ्यो कुन्नि हाँस्यो।

उसलाई जीवनको अर्थ चाहिएको छ। पण्डितले भनेको सुनेको छः ‘जीवन अनित्य छ, नाशवान् छ, शून्य छ’

उसको मनमा प्रश्न उब्जेको छः ‘त्यसो हो भने मान्छे बाँच्नुको सार के हो? औचित्य के हो? संसार पानीको फोकाजस्तो छ भने संसारको कमजोर सृष्टि किन?

भर्खरै उसले चर्खा गोरूलाई सम्झ्यो। चर्खा उसको कोलको पछिल्लो गोरू थियो। उसले धेरैवटा गोरूलाई कोलमा सधायो। तर चर्खाको सम्झना तीव्र भयो उसलाई। यो चर्खा गोरू खुरुखुरु काम गथ्र्यो। इमानी थियो। छोपिएको आँखाको जिन्दगी लिएर कोल घुमायो।

तराई पहाडका तमाम मान्छेलाई तोरीको तेल खुवायो। कहिल्यै जीवनसँग प्रश्न गरेन। कहिल्यै नियतिसँग गुनासो गरेन। यस्तो थियो कि गुवाली (गोठ) बाट खोलिदिनेबित्तिकै कोलमा गएर उभिन्थ्यो। बुढो भएको थियो। तर कहिल्यै बुढो भएँ भनेन।

तेलको कोल व्यापारलाई आधुनिक मिलले प्रतिस्थापन गर्‍यो। चर्खा बुढो थियो। चर्खा गोरूलाई किन्न मुसलमान व्यापारी आए। घरपरिवार इष्टमित्र सबैले चर्खालाई बेच्ने सल्लाह थिए । उसले मानेन।

उसले सबैलाई भन्योः ‘नही बेच्वे, यत्तै मरते यी’ (बेच्दिनँ, यो यहीँ मर्छ)। चर्खा थला पर्‍यो। तर ऊ घरीघरी उठेर कोलतिर जान खोज्थ्यो । ऊ गुवालीमै मर्‍यो। पुरानो कोलको छेउमै म¥यो। उसको मासु, छाला चमारले लगे। चमारका जहान खुसी भए। मरेपछि पनि चर्खा गोरू संसारलाई काम लाग्यो।

बेचनाको मन भारी भयो। चर्खा गोरू धनी थियो। मनको धनी थियो। इमानको धनी थियो। ऊ औचित्यपूर्ण बाँच्यो। उसको जीवन पानीको फोका होइन। ऊ सारपूर्ण बाँच्यो। जिन्दगीभरि बाँच्यो। चर्खा कहिल्यै मरेन भने मान्छेले छिनछिनमा किन मर्नु पर्‍यो?

बेचनाले आफूलाई चर्खा गोरूसँग तुलना गर्‍यो। चर्खा गोरूजस्तै ऊ पनि आँखामा पट्टी लगाएरै जोतियो। उसले निमेषमै सोच्योः

‘चर्खा एकपल्ट मर्‍यो। म त बारबार मरिरहेको छु। आफन्तका वचनले मरेको छु। परिस्थितिका प्रहारले मरेको छु। अहिले एकलै मरिरहेको छु। कोही छैनन्। कम्तिमा चर्खा गोरूको त म थिएँ’

ऊ बाहिर आागनमा निस्क्यो । सेतो धोती मैलो हुन थालेको थियो। उसकी श्रीमतीले धोएजस्तो धोती त कहाँ पाउनु?। आमाको जस्तो माया खोज्यो-कहाँ पाउनु?, एउटा सहारा खोज्यो-कहाँ पाउनु? एउटा बलियो कठबाँसको लाठीको सहारामा उभियो। ऊ थरथर काम्दै थियो। एकाएक उसको अनुहार उज्यालो भयो। भन्योः

‘रे हरिया, यतै सुन् त, झुठ बाजै छे यी पण्डितसब। ग्याके पानी देलि ही?, चल् त अस्पताल, यी हमरा शरीर अस्पतालके दान ददेबे, ककरो त काम लग्ते न, आग लगाके कि हेते ?’

(ए हरिया, यता सुन् त, झुटो बोल्छन् यी पण्डितहरु। गाईलाई पानी दिइस्, अस्पताल हिँड् त, मेरो यो शरीर अस्पताललाई दान दिनुपर्‍यो, कसैलाई त काम लाग्छ नि, आगो लगाएर के हुन्छ र?

हरियाले केही बुझेन। तर ऊ भन्दै थियोः ‘हेते मालिक’।

ऊ परपर हेर्दै थियो। सायद भन्दै थियो होलाः

‘सठिया गेल्छे यी बुढ्वा’ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *