विश्व अल्जाइमर्स दिवस : ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’

डिसी नेपाल
४ असोज २०८० १३:३२

चितवन। अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ। विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन्।

भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताए।

उनले भने, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ।” उनले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु? कस्तो लुगा लगाउँछु? जस्ता कुरामा समेत असर पार्ने बताए।

आमनागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उनले भने, “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरुलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुनसक्ने सम्भावना हुन्छ।”

अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उनले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताए।

विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उनको भनाइ छ। सन् २०५० सम्म यो सङ्ख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उनी बताउँछन्।

नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएता पनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिए। उनले भने, “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ।”

अल्जाइमर्स पहिचान गर्न कठिन हुने जनाउँदै उनले भने, “यसको लक्षण सुरु भए पनि धेरै मानिसहरुले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ।”

आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्स कहाँ लिएर आउने गरेको उनको अनुभव छ।

जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उनको भनाइ छ।

उनले भने, “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ, धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ।”

विश्वव्यापी सङ्ख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिसमध्ये पाँच जनालाई अल्जाइमर्स हुने र यो सङ्ख्या ८५ वर्ष उमेर कटेकामा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उनको भनाइ छ। उमेर बढ्दै जाँदा त्यसैगरी अल्जाइमर्स देखिँदै जान्छ।

उमेरबाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, शारीरिक व्यायामको अभावजस्ता कारणले अल्जाइमर्स हुने डा गौतम बताउँछन्। स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उनले भने, “चिल्लोपना, अत्यधिक मद्यपान र धूमपानले पनि अल्जाइमर्सलाई बढाउँछ।”

अल्जाइमर्स् आफैंमा क्रमशः बढ्दै जाने रोग भए पनि यो एकदमै विस्तारै हुन्छ। डा गौतमले भने, “अल्जाइमर्स आफैंबाट मृत्यु चाहिँ हुँदैन, हेरचाह राम्रो भयो भने ज्यानको खतरा हुँदैन।” बुढेसकालमा सबैलाई अल्जाइमर्स हुन्छ नै भन्ने नभएको भन्दै उहाँले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताए।

अल्जाइमर्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उनले भने, “कसैलाई राम्रो फाइदा पनि हुन सक्छ, कसैलाई फाइदा गरेन भने औषधि रोक्नुपर्ने हुन सक्छ।” बिरामीलाई घरपरिवारले राम्रो हेरचाह गर्नुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *