अस्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने

डिसी नेपाल
७ असोज २०८० १२:४७
28
Shares

काठमाडौं। हाल छायांकनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ।

नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर गरिने पक्का भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए।

यस चलचित्रको लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ। प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको चलचित्र टिम त्यहाँ पुग्नेछ । त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्तिहरू, पत्रकारहरू तथा चलचित्रकर्मीहरूमाझ चलचित्रको प्रिमियर गरिनेछ। संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडी नै यसको प्रिमियर हुने बताइएको छ।

सो कम्पनीले ‘वेस्ट भ्यालु’ प्रदान गरी अस्ट्रेलियाको वितरण अधिकार खरिद गरेको ‘रङ्गेली’को निर्माण पक्षले बताएको छ। आम दर्शकको लागि भने अस्ट्रेलियासहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा नेपालको रिलिज मितिमा नै एकसाथ रिलिज हुने खतिवडाले बताए।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन हुनेछ। नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायांकन गर्न लागेको हो ।

सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ। चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *