अमरिका र चीन यात्रा प्रचण्डका लागि भारी सावित

डिसी नेपाल
८ असोज २०८० ६:५०

काठमाडौं। दुई शक्ति राष्ट्र अमेरिका र चीनको लहरे भ्रमण अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहालको लागि भारी सावित हुने अवस्था सृजित भएको छ। राष्ट्र संघको महासभामा भाग लिने क्रममा उनी विफल भइनै सकेका छन्।

चीनको भ्रमणले पनि कुनै सुखद परिणाम दिनेवाला छैन। कुनै पनि नयाँ एग्रिमेन्ट नगर्ने तथा हाङजाउमा भएको भेटवार्ता शिष्टाचारमै सीमित हुने एकथरी विश्लेषकहरूले भविष्यवाणी गरिसकेका छन्।

सूत्रहरूका अनुसार विगतमा जसरी नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुख भ्रमणहरूमा चीनले स्वागत, भेटघाट तथा व्यवहार गर्ने गर्दथ्यो यसपटक त्यो शैली प्रयोग हुनेवाला छैन।

कारण नखुलाए पनि अमेरिका हुँदै चीन जाने भएकोले चीनको व्यवहार पनि फरक हुने भएको हो। यस्तो दावी गर्ने सूत्रका अनुसार यसपटक कुनै पनि खालको नयाँ एग्रिमेन्ट हुनेवाला छैन। विगतमा भएका कया एग्रिमेन्ट नेपाली पक्षको कारणले अलपत्र परेका छन्।

एग्रिमेन्ट गर्ने तर कार्यान्वयन नगर्ने नेपाली प्रवृत्ति चीनलाई मन परेको छैन। यसबाट चीन यसै पनि भित्रभित्रै रुष्ठ थिया त्यसमाथि अमेरिकी भ्रमणको बास्केटमै चीनको भ्रमण गरिएबाट कुरा बिग्रिएको छ।

यस्तो दावी गर्ने सूत्रहरूका अनुसार यस पटकको चीनको भ्रमणमा उल्लेख्य उपलब्धि हुनेवाला छैन। उता, अमेरिका भ्रमणको क्रममा पनि धेरै महत्वपूर्ण काम गरिने सत्तासीनहरूले दावी गर्दै आएका थिए। परिणाम तदनुरूप आएको छैन।

एमसीसी प्रकरणमा प्रधानमन्त्री दाहालबाट खेलिएको दोहोरो भूमिकालाई अमेरिकाले गम्भीर रूपमा लिँदै आएकौ थियो। खासगरी संसदबाट पारित भइसकेपछि अनेकथरी शर्त राखिएकोमा अमेरिका रुष्ठ छ। यसलाई कायम राखेर प्रधानमन्त्री दाहाल अमेरिका जाँदा कुरो झन् बिग्रिएको छ ।

एमसीसीको विरोध गर्नेलाई शान्त पान आफूहरूले त्यो पूरक प्रस्ताव तयार पारेको बताएर दाहालले अमेरिकी रुष्ठता घटाउने प्रयास नगरेका थिएनन् । आखिर त्यो “फर्मुला” पनि काम लागेन। प्रधानमन्त्री दाहाललाई स्वागत गरिँदा नै त्यसको संकेत आएको थियो।

अमेरिकी राष्ट्रपति जोय वाडेनसँग विशेष वार्ता गरेर कुरो मिलाउने तर्फको पहलसमेत विफल भएको सूत्रहरूले दावी गरेका छन्। उल्लेख्य कुनै उपलब्धि देखिएको पनि छैन। एमसीसीकै कारणले प्रधानमन्त्री दाहालप्रति चीन थप रुष्ठ थियो।

त्यसमाथि अमेरिकाबाट सोझै चीन जानु कूटनीतिक गल्ती भएको सम्बद्धविद्हरूले तर्क गरिरहेका छन्। न्यूयोर्कबाट नेपाल फर्किएर तुरुन्तै चीन प्रस्थान गर्नुपर्ने कुरा पहिले नै नउठेका थिएनन्। तर प्रधानमन्त्री दाहाल सहितका सत्तासीनहरूले त्यो तर्कलाई गम्भीर रूपमा लिएनन्।

यो अर्को गम्भीर त्रुटि भएको सूत्रहरूको दावी छ। कसै कसैले त पहिरन सम्बन्धी कुरासमेत गरेका छन्। नेपाली राष्ट्रिय पोशाकमा नेपालबाट प्रस्थान गरेका दाहाल ‘टाईसूट’ सो अमेरिका पुग्नु आफैंमा एक त्रुटि भएको ठान्नेहरू पनि छन्। हुन पनि औपचारिक भ्रमणको मुख्य पहिचान पोशाक पनि हो।

अमेरिकालाई खुसी पार्न पोशाक वा पहिरन बदल्न हुँदैनथ्यो भन्ने तर्क पनि कम दमदार चाहिँ छैन। कूटनीतिमा औपचारिकताको महत्व आफ्नै किसिमको हुन्छ ।

दुई वा सोभन्दा बढी राष्ट्राध्यक्षहरूको द्विपक्षीय वा बहुपक्षीय भेटवार्तामा सबैले आ-आफ्नै राष्ट्रिय वा आपचारिक पोशाक लगाउँदछन्। अधिकांशले भाषा पनि आ–आफ्नै प्रयोग गर्दछन्। एकअर्काले बुझ्ने भए पनि दोभाषे राखेर आ-आफ्नै भाषामा बोलिनु पनि औपचारिकताको एउटा पाटो हो।

कूटनीतिमा यसको आफ्नै महत्व छ। प्रधानमन्त्री दाहालको यस पटकको भ्रमणमा यो विधामा त्रुटि भएको तर्फ कूटनीतिज्ञहरूले औंल्याएका छन्। यद्यपि, भाषा र भेषको कारणल मात्रै प्रधानमन्त्री दाहालका पछिल्ला दुई “ठूला भ्रमण” सफल भएको मान्न भने सकिँदैन ।

यसले धेरथोर प्रभाव प¥यो होला, त्यो बेग्लै हो। एमसीसीको बारेमा संसदमा छलफल गराएर नयाँ पूरक प्रस्ताव राख्ने निर्णय गरिएको केही दिनपछि प्रधानमन्त्री दाहाल अमरिका प्रस्थान गरेका हुन्। नेपाली पक्षबाट अघि सारिएका ती प्रस्ताव एमसीसीको विधिमा अटाउन सक्ने खालका छैनन्।

ती पनि एमसीसी अर्थात अमेरिकी पक्षसँग कुरा गरेर मिलाइनु पर्ने थियो। यता, प्रधानमन्त्री दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा चीनसँग सम्बन्धित त्यस्तै केही समस्या खडा भएको पनि अहिले चचामा छ।

नेपाल र भारत बीचको आयात-निर्यातको बारेमा चिनियाँ राजदूतले दिएको उदाहरण विवादमा परेको थियो । ती राजदूतको आशयतर्फ कोही जान चाहेनन्। भारत रिसाउँछ कि भन्ने त्रासका कारण सरकारकै तर्फबाट त्यसको हठात “प्रोटेष्ट” गरियो ।

चिनियाँ लगानीमा निर्मित पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टको बारेमा भारतले पृथक अडान लिँदा सरकारले सामान्य प्रतिक्रिया समेत दिएको थिएन । भारतले उडान अनुमति नदिँदा लामो समयसम्म लम्बिनी एयरर्पोट सञ्चालनमा नआएको पनि हो ।

सो विषयलाई चीनले राम्रो वा सुखद मानको थिएन। यसैबीच, चीनले जारी गरेको उसका नक्सामा सीमावर्ति नेपालको नक्साको ‘चूच्चे’ भाग नपरेको सम्बन्धमा अर्को विवाद उब्जियो । सरकारको जिम्मेवार तहमा बसका केहीले चीनको नियतमाथि शंका प्रकट गरे।

सत्तारुढ दलका अधिकांश नेताबाट चीनको नियतमाथि शंका गरियो । यी दुई विवादलाई चीनले सामान्य मानिरहेको थिएन र छैन। यही मौकामा प्रधानमन्त्री दाहालबाट चीनको भ्रमण गरिँदा परिस्थिति धमिलिएकोे प्रतीत हुँदैछ ।

यद्यपि चिनियाँ पक्षबाट त्यस खालको कुनै प्रतिक्रिया दिइएको छैन । सूत्रहरूले भने चीनले दाहाल नेतृत्वको सरकारका थुप्रै गतिविधि माथि शंका गर्दै आएको छ। जनभावना साप्ताहिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *