लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडाैं। निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन्। अभिमन्यु भारतीय मोडल हुन्। यो नै उनको पहिलो फिचर सिनेमा हो।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ।
यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन्। अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड सिनेमामा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ।
एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको सिनेमाका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन्।
अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमाको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन्। निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन रहेको छ।
सिनेमामा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ। अघिल्लो वर्षको जेठमा लण्डनमा सिनेमाको छायांकन सुरु भएको थियो । सिनेमाको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ सिनेमा निर्माण गरिसकेको छ भने नयाँ सिनेमा ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ। यो कम्पनी विदेशी सिनेमा वितरणमा पनि संलग्न छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment