एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?

डिसी नेपाल
१७ असोज २०८० ६:४९

नेपालगन्ज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो ।

ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको ¥यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको र्‍यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा र्‍यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

र्‍याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन कफ्र्यु लगाइएको बताए । हिन्दू ओमकार परिवारले ठूलो संख्यामा श्रीरामको झन्डासहित र्‍याली प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालगन्जको अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश जारी रहने बताउँदै नेपालगन्जको अवस्था प्रशासनले मात्र एक्लै केही गर्न नसक्ने भएकाले सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक अगुवा सबैैले आआफ्नो क्षेत्रबाट पहल गर्न पनि आग्रह गरे ।

बाँके प्रशासनद्वारा जारी कफ्र्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाभित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२० को दफा ६(क) (१) (३) बमोजिम १६ असोज २०८० दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार दिउँसो हिन्दू ओमकार समाजको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झन्डा लिएर न्युरोड, सेतुविकचोक हँुदै सुर्खेतरोड, बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको प्रजिअ आचार्यको भनाइ छ ।

उनले नेपालगन्जमा कफ्र्यु आदेशपछि अवस्था क्रमिक रूपले सामान्य भएको बताउँदै प्रदर्शनीका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । प्रजिअ आचार्यले नगरमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न नागरिक समाज, राजनीतिक दल, धार्मिक सूमह सबैमा अपिलसमेत गरेका छन् ।

कारण यस्तो छ

गत आइतबार मुस्लिम समुदायले आफ्नो धार्मिक आस्थामा चोट पुर्‍याउनेगरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएको थियो । यद्यपि, सो स्टाटसका ’मा ती युवाले नै सामाजिक सञ्जालमा माफी मागेर हटाएको बताइएको छ । विरोध जनाउनेक्रममा उनीहरूले हिन्दू समुदायलाई लक्षित गरी गालीगलौज गरेको भन्दै मंगलबार ओमकार समुदायको अगुवाइमा सो र्‍याली भएको थियो ।

हल्लैहल्लाको पछि लागेर विरोधमा उत्रिएको भन्दै हिन्दू समुदायले आइतबार भएको मुस्लिम समुदायको प्रदर्शनको जवाफ दिन मंगलबार ओमकार समाजले विरोध र्‍याली आयोजना गरेको थियो ।

सो विषयमा सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव र भाइचारा कायम गर्नुका साथै मंगलबार बिहान नेपालगन्जमा सद्भाव र्‍यालीको आयोजना गर्ने निर्णयसमेत भएर बिहान सद्भाव र्‍याली निकालिएको थियो ।

नेपालगन्जमा भएको झडपलाई हिन्दू मुस्लिम धार्मिक रूप लिन नदिन कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबार बिहान मात्र नेपालगन्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै सद्भाव र्‍यालीसमेत निकालिएको थियो ।

सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

पछिल्लो समय नेपालगन्जमा भएको घटनाक्रमलाई सबै समुदायले सामाजिक धार्मिक सद्भाव खलल हुन नदिनका लागि मंगलबार बिहान आयोजना गरिएको सद्भाव र्‍यालीमा सहभागी हुन आएका हिन्दू धर्म गुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले बताए । उनले सामाजिक सद्भाव र भाइचारा नै समाजको सम्पत्ति भएकाले एकले अर्कोलाई सम्मान र आदर गर्नुपर्ने कुरामा जोड दिए ।

यसैगरी, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले धर्मले विभाजन होइन एकता र मित्रताको सन्देश दिने भएकाले एकले अर्काको धर्मप्रति आदरभाव प्रकट गर्नसके समाजमा शान्ति र सद्भाव आफैमा कायम हुने कुरामा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउनेजस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एक अर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *