राष्ट्रका महत्वपूर्ण बिषयमा निर्णय गर्न जनमत संग्रह आवश्यक

पूर्ण ओली
३० असोज २०८० ८:००

बिकसित देश आज बिकासका चरमोत्कर्षमा पुगेका छन्। हाम्रो देश गरिबिको चरमोत्कर्षमा रहेको छ। धनि र सम्पन्न देशका शहरहरु सबैतिर सफा हुन्छ। धुलो फोहोर कहीँ देखिँदैन। तैपनि फोहोर सफा गर्नेहरु लगातार सफा गरिरहेका छन्। हाम्रो देशमा धुलो र फोहोर नभएको ठाउँ कहीँ देखिँदैन।

सफा गर्ने मानिस बिहान एकपटक सफा गरिसकेपछि फेरि देखिँदैनन्। सडक फुटपाथबाहेक सबैतिर घाँस लगाएर हरियाली बनाइएको हुन्छ। बिकसित देशमा सबैतिर अत्यन्त राम्रो ब्यबस्थापन छ। सबैको आ-आफ्नो कर्तब्य गरिरहेका भेटिन्छन्।

हाम्रो देशमा सबैतिर अब्यबस्था मात्र देखिन्छ। सबैजना अधिकार मात्र खोज्छन्। कर्तब्यमा खासै ध्यान दिँदैनन्। कुशासन र भ्रष्टचारले परकाष्ट नाघिसकेको छ। जनताका अत्याबश्यक आबश्यकता सरकारले पूरा गर्दैन। त्यही जनताका आवाज सरकार समक्ष पुर्‍याउन डेलिगेसन बनाएर राजधानी धाउनु पर्छ।

त्यो पनि सरोकारवालाले लामो समयसम्म वास्ता गर्दैनन्। किसानका समस्या सरकारले कहिले पनि पूरा गर्दैन। उनीहरुका उत्पादनले मूल्य पाउँदैनन्। कतिपय अबस्थामा बजारसम्म पनि पुग्न नपाएर त्यसै सडिएका तरकारी फलफूल पनि त्यसै खेर गइरहेका छन्। अष्ट्रेलियाका किसानले अत्यन्त महत्व र सरकारबाट धेरै सहयोग पाएका हुन्छन्।

हालमा म अष्ट्रेलियाको एउटा शहरमा आएको छु। यहाँको सरसफाइ फोहोरको ब्यबस्थापन अत्यन्त राम्रो छ। सडक तथा पार्कमा फोहोर धुलो कहिँ देख्न पाइँदैन। जतासुकै हरियाली, फूलहरुले पार्क भरिएका छन्।

अहिले यहाँका आदिबासी एबोरोजीन जसलाई तात्कालीन बृटिसहरुले नरसंहार गरेर अष्ट्रेलियामा शासन गरेको थियो। उनीहरुलाई र टोरेस स्ट्रेट आइल्याण्डरलाई सांसदमा उपस्थितिको लागि जनमत संग्रह भएको थियो। उनीहरुलाई निःशुल्क शिक्षा स्वास्थ्य दिइएको छ।

यहाँ गरिबहरु बेरोजगारलाई भत्ता दिइन्छ। साथै शिक्षा र स्वास्थ्य पनि निःशुल्क दिइन्छ। यसको अलावा आदिबासी एबोरोजीन जुन यहाँका सबभन्दा पुराना आदिबासी हुन भने टोरेस स्ट्रेट आइल्याण्डर यहाँका २७४ टापुमा बस्ने पुराना आदिबासी हुन्।

उनीहरुलाई संसदमा उपस्थितिको लागि केही कोटा दिन खोजिएको थियो। जहाँ गएर उनीहरुले प्रत्यक्ष आफ्ना आवाज राख्न सकून्। त्यस्ता मतदान दिन सबै नागरिकलाई अनिबार्य गरिएको हुन्छ। यदि मतदान गरिएन भने जरिमाना तिर्नुपर्छ।

त्यो मतदानको परिणाम सोही दिन बेलुका प्रकाशित गरियो। तर परिणाम अनुसार ती आदिबासीले सदनमा जाने छुट्टै कोटा पाएनन्। उनीहरुको आवाजलाई अझै पनि महत्व दिइएन। हाम्रो देशमा कसैलाई खुसी पारेर आफ्नो मत बढाउन कोटा बाँडिन्छ।

त्यो पनि पाएसम्म आफ्ना नजिकका नातेदार, दलका चाकडीवाजलाई दिएर फाइदा लिन्छन्। अष्ट्रेलियामा आदिबासीलाई जनमत संग्रहमा दिइने भनिएको कोटालाई अस्विकार गरियो। यसबाट पनि यहाँ पछि आएर राज गर्ने गोरा जातिले आदिबासीलाई थप अधिकार दिन चाहेनन्। कमसेकम प्रजातन्त्रको उपयोग गर्दै जनमत संग्रह गरेर देखाउन खोजे।

यता हाम्रो देशमा आएको लोकतन्त्रले अत्यन्त महत्वपूर्ण राष्ट्रिय बिषयमा पनि जनमत नगरी केही ठूला दलका नेताको इच्छा अनुसार निर्णय गरियो। जनमत गरिएको भए जेजस्तो निर्णय आएपनि जनताले चित्त बुझाउने थिए।

त्यही भएर जनता अझैपनि राजसंस्थाको आवश्यकता महसुस गरिरहेका छन्। २५० वर्ष पुरानो राजसंस्था जसका पुर्खा पृथ्वीनरायण शाहले एकीकरण गरी विशाल नेपाल बनाएका थिए। नेपाल राष्ट्रको इतिहास बिर्सेर पूर्बाग्रही बनेर राजसंस्थालाई सजिलै फ्याकियो।

राजा समर्थक नेपालीले पनि सक«मणकालमा देशमा अरु अशान्ति होला भनेर धेरै बिरोध गर्न सकेनन्। यसमा खासगरी भारतका तात्कालीन शासकको दवावमा राजा हटाइएको कुरा बाहिर आएको छ। अर्को महत्वपूर्ण बिषय सनातनदेखिको वैदिक धर्म हिन्दु धर्म हटाइयो।

जसलाई ८० प्रतिशत भन्दा बेसी जनताले मानिरहेका थिए। हिन्दु धर्मसँगै रहेका ओमकार परिवारको हिसाब गर्दा ९० प्रतिशत जनता भएको देशका जनतालाई पुरै बेवास्ता गरियो। कमसेकम जनमत संग्रह गर्नु पथ्र्यो।

त्यहिखेर पनि जनताको बिचार बुझिएको थियो। तर जनताले पठाएका सुझाबको मतको झोला नै खोलिएन। त्यतिखेरका शासकलाई जनताको चाहनाअनुसार चल्दा बिदेशी प्रभुको इच्छा पूरा गर्न नसकिएला भनेर पनि जनताको मतलाई बेवास्ता गरियो।

त्यस्तै गरेर संघीयता जस्तो बिषयमा पनि जनतालाई अनभिज्ञ राखी केही समूहको इच्छामा र बिदेशीको सल्लाहमा स्थापना गरियो। जसले देशलाई बिकासमा कुनै फाइदा नपुर्‍याइ शिर्फ खर्चको बोझ मात्र बोकाएको छ।

यस्ता महत्वपूर्ण बिषयमा जनताको चाहना बुझ्न पनि अवश्य पनि जनमत संग्रह गरिनु पथ्र्यो। तर लोकतन्त्रबादी भनाउँदाहरुले नेपाली जनतालाई पूरै अवमूल्यन गरे।

प्रजातान्त्रिक राजा वीरेन्द्रले पञ्चायतको अलिकति बिरोध भएर नारा जुलुस हुनासाथ २०३६ सालमा जनमत संग्रह गरी जनताको मनसाय बुझेका थिए। त्यस्तै गरेर २०४६ सालमा बहुदल ब्यबस्था माग्दै काँग्रेस कम्युनिष्टले बिरोध गरेको केही समयमै राजाले बहुदलीय ब्यबस्थाको घोषणा गरेका थिए।

अहिलेका नेताले जनताको भावना भन्दा बिदेशीको इच्छा अनुसार चलेर नेपालमा धर्मनिरपेक्षता लादे। यही कारण छोटो समयमा नेपालमा इशाइकरण गर्दै धेरै गरिब र तल्लो जातका नेपालीलाई पैसाको लोभमा धर्म परिबर्तन गराउन सफल भए।

यसका कारण समाजमा धार्मिक कलहको अबस्था सृजना हुँदैछ। नयाँ संबिधान घोषणा हुने बेलामा हिन्दुधर्म समर्थक भारतमा नरेन्द्र मोदीको सरकार भरखर आएको थियो। त्यही बेलामा मोदीले आफ्ना सल्लाहकार नेपाल पठाएर एक दुई दिन संबिधान घोषण गर्न रोक्न अनुरोध गरेका थिए।

जसको कारण नेपालमा हिन्दुधर्म कायम गर्नु थियो। शायद नेपालले त्यति कुरा मानिदिएको भए भारतीय प्रधानमन्त्री खुसी हुने मात्र होइन नेपालले धेरै कुरा उनीसँग लिन सक्थ्यो। साथै नेपालमा अहिले बढ्दै गएको धार्मिक असहिष्णुता बढ्ने थिएन।

जबसम्म नेपालमा हिन्दु अधिराज्य थियो। नेपालका सबै धर्ममा हार्दिक सम्बन्ध तथा सद्भाव कायम थियो। इशाइले पनि हिन्दु धर्मालम्बीलाई चलाउन सकेका थिएनन्।

अहिले धर्मनिरपेक्ष आइसकेपछि सत्तामा बस्नेहरु धेरै नेता कृश्चियन भएकाले पश्चिमाको मनोबल बढेर धेरै आर्थिक चलखेल गरेर धेरै गरिब नेपालीलाई इशाइ बनाउन सफल भए। शायद कुनैपनि अरु देशमा भएको भए एउटा अत्यधिक बहुमत भएको कुनैपनि धर्मलाई यसरी चलाउने हिम्मत कुनैपनि दल र नेताले सक्ने थिएन।

यदि जर्बजस्ती अरुका आस्थामा चोट पुर्‍याउँदा गृह युद्ध हुनसक्थ्यो। सत्ताधारीहरु सत्ताबाट बाहिरी सकेका हुन्थे। यहाँ त उनै शासकहरु पालै पालोसँग सत्तामा बसेर लामो समयदेखि जनतालाई शोषण गरिरहेका छन्।

बिकसित देशमा शिक्षित र चेतनशील जनता भएकाले त्यही अनुसारका नेता हुन्छन्। उनीहरुले शिर्फ जनता र देशको हितमा काम गर्छन्। उनीहरु एक दुईपटक भन्दा बढी सत्तामा रहँदैनन्। उनीहरु नैतिकता र विवेकशीलतालाई धेरै महत्व दिन्छन्।

उनीहरुलाई अरु देशको कुनै दवाव रहँदैन पनि। यता हाम्रो जस्तो अशिक्षित र गरिब मुलुकका जनता भने नेताका झुटा आश्वासनमा भुल्छन्। नेता पनि यिनै गरिब जनतालाई आश्वासनमा मात्र भुलाएर सत्ताको सुबिधामा रुमल्लीन चाहन्छन्।

हाम्रा अबसरबादी अनैतिक नेताले गरिब र अशिक्षित जनताको कमजोरीलाई बुझेर उनीहरुका धार्मिक कार्यक्रममा बिदा दिने, केही जनजातिलाई समानुपातिकको नाममा कोटा दिने अनि कसैलाई जातीय राज्य दिने भनेर भुलाउने नेताबाट देशले कसरी निकास पाउन सक्छ।

अनि हामीहरु कसरी बिकसित देशको दाँजोमा पुग्न सकिन्छ? हाम्रा लालबुझक्कड नेता आफ्ना जनताको भन्दा अरु देशका नेताका बिचार र सल्लाहमा चल्न खोज्छन्। जबसम्म देशका जनता शिक्षित र सम्पन्न हुँदैनन् तबसम्म भ्रष्ट, अनैतिक र राष्ट्र बिरोधि नेताको नै हालिमुहाली हुन्छ।

जुन हाम्रा देशका नेताले गरिरहेका छन्। त्यही भएर हाम्रा नेताहरु जनतालाई सधैं गरिब र अशिक्षित राख्न चाहन्छन्। जसले गर्दा जनता सधैं उनीहरुका दास बनुन्। त्यसैले अझैपनि हामीलाई बिकसित देशको दाँजोमा पुग्न निकै समय लाग्छ। जबसम्म अहिलेका नेताहरु पन्छिएर बिवेकशील, इमान्दार तथा सक्षम नयाँ पुस्ताले सत्ताको बागडोर सम्हाल्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *