एनआरएनए अधिवेशन, निर्लज्ज अनुहारहरु बग्रेल्ती

डिसी नेपाल
३० असोज २०८० ९:१२

काठमाडौं। राजधानीको ५ तारे होटल सोल्टीमा एउटा कुम्भ मेला शुरु भएको छ गैरआवासीय नेपाली संघका नाममा आजदेखि।

तीनजना अध्यक्षसहितको एउटा कार्यकाल सिध्याएर अर्को कार्यकालका लागि नेतृत्व चुन्ने मुख्य कामझैं दशैंको यो बेला राजधानीका रेष्टराँहरुमा गैरआवासीय नेपाली संघका उम्मेद्वारहरुले रक्सीको खालो बगाएका छन्।

प्रवासमा बस्ने नेपालीहरुलाई नेपालसँग जोड्ने कार्यक्रमहरु ल्याउने, तिनलाई छलफल गर्नेभन्दा पनि उकास्ने, पछार्ने दाउपेचले यो संस्था नराम्रोसँग थलिएको केही बर्ष भइसकेको छ।

अहिलेको यो कुम्भमेलाको सबैभन्दा टिठलाग्दो पक्ष चाहिं निर्लज्ज अनुहार बोकेर संसारभरका गैरआवासीय नेपालीका प्रतिनिधिसँग भोट माग्नेहरुको हो।

फेसबुकसहित सामाजिक सञ्जालका भित्ताहरुका तिनले दिएका नाराहरुले तिनको लज्जास्पद अनुहार झल्काइरहेको छ तर उनीहरु निर्लज्ज छन् र के गरेर आएको छु भन्ने ढाकछोप गरेर गैरआवासीय नेपालीहरुसँग भावी दिनमा पनि नेतृत्वको माग गर्दै हिँडेका छन्। केही प्रतिनिधि उदाहरणको मात्र चर्चा गरौं।

एक- संस्थालाई विभाजनका मुख्य मतियार बनेकाहरु। यिनीहरुमध्येका केहीले एनआरएनएका प्रमुख पदहरुमा उम्मेद्वारी दिएका छन्। सबैका नारा साझा छन् संस्थागत एकता।

नारा, उम्मेद्वारी दिएका पद र तिनको तस्वीरले विगतमा उनीहरुले नै गरेको कामलाई खिल्ली उडाइरहेको छ तर उनीहरुलाई त्यसको कुनै मतलव गरेको देखिँदैन।

संस्था फुटाउनेहरु नै अहिले एकताको नारासहित चुनावी मैदानमा छन् र राजनीतिक दलका मुख्य र सहायक नेताहरुको आशीर्वाद थापेर तिनै दलको नामबाट टिकट लिएर चुनाव लड्न पाउनुमा उनीहरुले आफ्नो सौभाग्यमात्र सम्झेका छैनन् जितको आधार पनि त्यसैलाई देखेका छन्।

कहिले नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का त कहिले संस्था विभाजनका मुख्य नाइकेमध्येका एक बेलायत निवासी कुल आचार्यको आशीर्वाद थाप्ने र टिकट लिनेहरुको लर्को र कसरत कम रोचक थिएन।

कांग्रेसभित्रकै पनि अर्को समूहलाई बर्जित गरेको परिणाम वागी उम्मेद्वारहरु बर्गेल्ती देखिएका छन्। संस्थाभित्र भाँडभैलो मच्चाएर पद धारणा गर्ने यो समूह कांग्रेसनिकट मात्रै छैन।

यीमध्येका केही एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईकोमा र कोही प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निगाहको कोसिसमा दौडिएका पनि देखिएकै छन्।

दुई-कुकुर विरालालाई पनि एनआरएनएको सदस्यता बाँड्नेहरु। यो समूहमा दलको आशीर्वाद लिने त छँदैछन्। चुनाव जसरी पनि जित्नुपर्छ भनेर विगतमा आफ्नो अनुकूलको परिस्थिति पर्दा एनआरएनएको सदस्यमा फर्जी नाम राखी कुकुर, विरालाका फोटा राखेर आफूले आफैंलाई चुनाव जिताएका निर्लज्जहरु यो समूहमा छन्।

उनीहरु साझा संस्था र परोपकारी संस्थाको निर्माणको नारामा देखिएका छन्। पछाडि बसेर संस्था फुटाउन मुख्य भूमिका खेल्नेमात्र होइन फुटका लागि गुट बनाएर संसार दौडाहा गर्ने राजनीतिक व्यापारीहरु यो समूहमा मज्जाले अटाएका छन्।

एउटा सामाजिक संस्थाका लागि भनेर संसारभर रकम उठाउने र सो संस्थालाई थाहै नदिई रकम अन्तै लैजाने अपरदर्शी काम गर्ने भनेर कहलिएकाको कथा समयक्रममा सार्वजानिक होला नै।

तीन- मुद्रा व्यावस्थापनकर्ताको आरोप खेपेकाहरु। यो समूहमा केही धनाढ्य व्यापारीहरु छन् जसले नेपालमा भ्रष्ट नेता तथा पूर्वप्रधानन्यायाधीशसमेतको रकम अमेरिकातिर सुरक्षित अवतरण गरिदिने र नेपालमा पनि आफ्ना नाममा लगानी गरिदिने कार्यमा निकै सफलतापूर्वक सक्रियता देखाएको आरोप खेपेका छन्।

नियम कानून मिलाएर वा छल्ने योग्यता राखेर यस्तो काम गर्नेहरुले शुद्धिकरण र नेपाली सधैं नेपाली नै रहने नारा दिएका छन्। अपरदर्शी लगानीका कारण एउटै पार्टीभित्रका कार्यकर्ता हुँ भने पनि सोही पार्टीका नेताहरुकै तर्फबाट मुद्दा मामिला खेप्नेहरु पनि यो समूहभित्र पर्दछन्।

संस्थाको नेतृत्वमा रहँदा आफ्नै सहकर्मी अग्रजप्रति तथानाम गाली गर्ने, असहयोग गर्ने र उजुरबाजुर गर्दै कामै गर्न नदिएर हैरान पार्ने गरेका कुराहरु पनि विगतमा सार्वजानिक भइसकेका छन्। युरोप, अमेरिकामा आम्दानीको बाटो छैन तर नेपालमा शेयरहोल्डर भई नाम चलाइसकेकाहरु पनि यो बर्गमा परेका देखिन्छन्।

यी केही क्याटागोरीमात्र हुन्। यस्तो फेहरिस्त लामो बन्न सक्छ। तर, यसपटकको निर्वाचनमा केही नयाँ अनुहारहरु पनि सचिवालयस्तरका पदहरुमा उम्मेद्वार बनेको देखिका छन्।

हालसम्म निर्विवाद र सामाजिक काममा अगाडि सर्ने प्रयास गरेका यी केही व्यक्तिहरु यसपटकका आशाका किरण हुनसक्छन्। तर, समुद्रभित्र छिरेर मोती निकाल्न कठिन भएजस्तै यिनीहरुको पहिचान गरेर जिताउन भने मतदाताहरुलाई निकै कठिन पर्न सक्छ।

यसपटक केही आशालाग्दाहरुलाई सचिवालयसम्म पदहरुमा पठाउन सके अर्कोपल्ट केही सुधार गर्न सकिन्थ्यो कि भन्ने झिनो आशा बोकेर युरोप,अमेरिका र खाडी मुलुकबाट अधिबेशनमा भाग लिन जाने मतदाता प्रतिनिधिहरु सफल होलान् कि नहोलान् अव दुईदिनपछिको परिणामले देखाइहाल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *