कथा : मिदिमको सुसेली

खेमराज पोखरेल
४ कार्तिक २०८० ६:५९

काठमाडौँ। उफ्! काठमाडौँ। मेरो व्यस्त काठमाडौँ । मेरो व्यस्त सम्भ्रान्तता। उफ्! आफैंलाई आफ्नो माया लागेर आयो। आफ्नै जीवनको बिजोगमा दया पलाएर आयो। आजै बिहानकै त कुरा हो। एउटा ब्यागमा लुगा कोचेको थिएँ। बाटोमा निस्केको थिएँ।

‘रत्नपार्क, बसपार्क, आर.एन.ए.सी’ भन्दै माइक्रो आयो। चढेको थिएँ। जमलमा झरेँ। फोहोरको डुङ्गुर नाकै फुट्लाजस्तो गरी गन्हायो। खटारा बसले कालो धुवाँ फ्याँक्यो। त्यो धुवाँ मेरा नाकैको पोराभित्र स्वाट्ट पस्यो। मास्क ल्याउन बिर्सेँछु। हतार हतार हातैले नाक थुनेँ र भनेँः ‘थुइक्क यो गन्धे सहर! किन बाँच्नु पर्ने हो यो सहरमा? किन बस्नु पर्ने हो यो ठाउँमा?’

दरबार हाईस्कुल अगाडि पुगेँ। बिचरा पहाडका श्वेत भानुभक्त ‘अलकापुरी नगरी’ भन्दै धुवाँ धुलोमा कालिएका थिए। एकदम कालो। निक्खर कालो। तर पनि भत्केको भानु माध्यमिक विद्यालयको रखबारी गर्दै थिए, बिचरा भानुभक्त। हिँड्न सक्तैनन् र पो त नत्र कहिलेको चुँदी रम्घा पुगिसक्थे होलान्।

मेरो आइफोनभरि इमेलको रास लागि सकेछ। फेसबुकका नोटिफिकेसनहरु त्यत्तिकै ओइरो। फोनहरु उस्तै। वाक्कदिक्क। मनमा लाग्योः ‘उफ्! यो मोबाइल?’

हतार हतार मोबाइलको डाटा अफ गरेँ र मुक्तिको सास फेरें। मोवाइल नै अफ गर्ने कुरो आएन। फेरि रमाको फोन आयो भनें?

नभन्दै रमाकै फोन थियो। उनी भन्दै थिइन्ः ‘अचम्म, हजुर त कस्तो सनकसिंह मान्छे होला? एक्लै ट्राभलिङ गर्ने, चाँडै आइस्यो, यहाँ घरमा रासका रास काम छन्’

‘हुन्छ, हुन्छ’ भन्दै फोन काटेँ। मोबाइलमा फेरि फोनको घन्टी बज्यो। अफिसको बोसको रहेछः ‘सेवन्तजी, तपाईँलाई पनि यही बेला जानु परेको?, अफिसमा कत्ति काम छ, तिन दिनमै आउनुस् है’

‘हस् सर, हस्’

म लगातार ‘हस्’ मात्रै भनिरहेको थिएँ। जागिरको सवाल थियो। सबै सबालभन्दा जागिरको सबाल डरलाग्दो हुन्छ। त्यो मैले राम्ररी बुझेको थिएँ।
बोस भन्दै थिएः ‘अफिसको इमेल चेक गर्दै गर्नू, रिप्लाइ गर्दै रहनू’
म लगातार ‘हस्’ मात्र भनिरहेको थिएँ। उफ्! काम?
०००००००

लमजुङको भुजुङ गाउँ। हिमालकै काखमा रहेको रहेछ। यो गाउँकै शिरबाट बग्दो रहेछ यो मिदिमखोला। यसमास्तिर कुनै मानव बस्ती छैन। त्यही गाउँको एउटा होमस्टेमा बसेको छु। म एक्लै छु। कहिलेकाहीँ एक्लै हुनुको पनि विशिष्ट मजा हुन्छ।

जिन्दगीमा भुजुङजस्तो नौ वार्डको एउटै गाउँ, फगत एउटै गाउँ पुग्ने भाग्यमानी भएँ म। लमजुङ हिमालको टुप्पो देखिने सुन्दर गाउँ, यो भुजुङ। ठुल्ठुला फाँटहरु, लेकदेखि बेँसीसम्म आँखाले नभ्याउने एउटै गाउँ भुजुङ। गुरूङ सभ्यताको गाउँ। ‘टिपिकल’ गाउँ। म भुजुङमै छु। म भुजुङको लालित्यमा रमेको छु।

होमस्टेकी गुरूङ्सेनी दिदीले बोलाउनु भयोः

‘सार, खाना पाक्यो’

मैले हात धोएँ। हत्केलामा ‘ह्यान्ड स्यानिटाइजर’ दलेँ। र बाहिर निस्केँ। भान्साघर अलग्गै थियो। होमस्टे घर अलग्गै थियो। त्यो सिङ्गो घरमा आज म एक्लै पाहुना थिएँ। बीचमा आँगन थियो। आँगनमा उभिएर आकाशतिर हेरेँ। आकाश सफा थियो।

भुजुङ्का घरहरु गुजुमुज्ज थिए। जुनेली रातमा टिन र ढुङ्गाका छानाहरु टल्किरहेका थिए। आँगनको पल्लो छेउमा मैले एउटी महिलालाई देखेँ। टाटे लुङ्गी सोलारको उज्यालोमा टड्कारो देखिन्थ्यो।

मैले सोधेँः ‘को, घरबेटी दिदी हो?’

‘होइना। मो काइँली, मेरो यै पाल्लो घार हो’

यो रातको समयमा उनले उनको घर किन देखाएकी होलिन्? मैले त सोधेको पनि थिइनँ। तैपनि जवाफ फर्काएँः ‘ए, हो? म खाना खान्छु है त ? तपाईँ पनि जाने हो?’

‘नाइँ । घारैमा खा‘को’ सहज उत्तर थियो काईँलीको।

कोदाको ढिँडो, लोकल कुखुराको मासु र त्यसमाथि भटमाससँग तोरीको गुन्द्रुक साँधेको अचार। खाइ सकेर बाहिर चुठ्न निस्केँ। हिमालतिर फर्किएर लामो सास फेरेँ। मेरो सास बिनाअवरोध रमाई रमाई भित्रबाहिर गर्न थाल्यो। मेरो फोक्सो रमाउन थाल्यो। काठमाडौँमा यसरी सास फेर्न कहाँ पाउनु?

फेरि लामो लामो निर्धक्क सास फेरेँ। आहा! कस्तो स्वर्ग हो यो ठाउँ? राति पनि हिमाल टल्किरहेको थियो। हरियो पाखा कालाम्मे भएर मस्त सुतेको थियो। मिदिम खोला सुसाएको आवाज आइरहेको थियो। शान्त थियो यो भुजुङ। परपर भोटे कुकुर भुकेको आवाज भने आइरहेको थियो। अहा! कस्तो शान्त र सुन्दर यो गाउँ? मैले कहिल्यै कल्पना नगरेको यो सुरम्य गाउँ।

०००००००

हात धुँदै गर्दा मैले दोछायाँमा मानव आकृति देखेँ। काइँली अघिकै ठाउँमा उभिएकी रहिछिन्।

मैले सोधेँः ‘काइँली बहिनी, अझै त्यहीँ? घर जानु भएन?’

उनी त खितिती हाँसिन्। म अलमल्ल परेँ। उनी उज्यालोमा आइन्। उनको शरीर लगभग ढाकिएको थियो। अनुहार मात्र देखिन्थ्यो। चिसो सिरेँटो उनको अनुहारलाई स्पर्श गर्दै बहिरहेको थियो। उनी श्वेत स्फटिकजस्तै चम्केकी थिइन्।

मैले फेरि सोधेँः ‘तपाईँको घर हेर्न जाने हो अहिले?’
उनी त झन बिस्तारो खितिती हाँसिन्। र भनिन्ः ‘ए दाजि, क्या हेर्छौ घार? त्याही ढुङ्गा माटाले बानाको ता हो नि’

म अलि छिल्लिएँः ‘त्यसोभए हिँड्नुस् मेरो कोठा’

‘मो बोजूलाई सुताइ आउँछ’ उनी आफ्नै घरतिर लागिन्।

कोठामा आएँ। केहीबेर पछि मेरो कोठाको ढोका सुस्तरी ढकढक गर्‍यो । मैले सोधेँः ‘को हो?’

‘चिनेना ? मो काइँली हो क्या’

खासमा मलाई उनी यसरी आउँछिन् भन्ने पत्यारै थिएन। मैले ढोका खोलेँ । उनी भित्र पसिन्। मैले मोबाइलमा घडी हेरेँ। रातको ८.३० भएको छ।

कात्तिकको महिना, आधारातजस्तो देखिन्छ । सारा भुजुङ समसाँझै निदाइ सकेजस्तो लाग्छ। सोलारका बत्तीले भने सकीनसकी मधुरो प्रकाश दिइरहेका छन्। मेरो शरीर ढक्क फुल्यो। कसैले देखे भने वा थाहा पाए भने त्यो गुरूङ गाउँमा मेरो हड्डी बाँकी रहन्न भन्ने मलाई डर लाग्यो। उफ्! किन बिच्चैँ जिस्क्याएँ छु?

मैले उनलाई सोधेँः ‘किन आउनु भएको?’

उनी फेरि खितिती हाँसिन् तर सुस्तरी। र भनिन्ः ‘गाफ साप गार्न’।

हामी गफ गर्न थाल्यौँ। उसको गुरूङ भेष, लवज, भाका मलाई रमाइलो लागि रहेको थियो।

मैले कुराको प्रसङ्ग अघि बढाएँः

‘काइँली तपाईँका श्रीमान् कहाँ?’

‘कातारमा’

अनि छोराछोरी नि कति?’

‘याउ्टा छोरा, याउ्टी छोरी छान् क्या’

‘कत्रा?’

‘छोरी सोह्राको भायो, ‘छोरा यै दासैँ देखिन पान्द्राको लाग्यो’

‘कहाँ पढ्छन्?’

‘काठमाडौँमा पाढ्छन्’

‘अनि तपाईँ?’

‘मो बोजूसाँङ, भुजुङमा’

मलाई चाहिँने कुरा जम्मै सोधेँ। उनी निस्फिक्री बताउँदै गइन्। उनी मेरै ओछ्यानकै छेउमा बसेकी थिइन्।
मैले कुरा अघि बढाएँः

‘तपाईँको यो भुजुङ गाउँ संसारकै सबैभन्दा राम्रो र सुन्दर छ। तपाईँ यस्तो सुन्दर गाउँमा जन्मनु भयो। कलकल बग्ने मिदिम छ। सुरम्य हिमाल छ। वनपाखा कति राम्रा छन्। भाग्यमानी हुनुहुन्छ’

उनी फिस्स हाँसिन्। सायद उनलाई मैले भनेकोमा पत्यार भएन। सायद उनी मनमनै सोच्दै थिइन् होलीः ‘चेपारो पार्छन् यी सहरका मान्छेहरु, यिनले भोग्नुपरे थाहा पाउने थिए’

उनी भन्दै थिइन्ः  ‘सार, जास्लाई तोपाईँ केजाति हिमाल भान्छ, त्यो ता हाम्रो सिरेँटो हो। चिसोले काति हातगोडा खान्छा, टाउकै चिसो पार्छा। त्यो सुन्दार भानेको वान ता हाम्रो काल हो दाजि, साधैँको उकाली साधैँको ओराली। साधैँको डोको नाम्लो। साधैँ भारी बोक्ना पार्छा। त्यो मिदिम खोला बाइरी पल्टन्छ। खेतबारी सप्पै बागाइदिन्छा । ए दाजि, यो भुजुङ ता जैलै हो, याताउता गार्न दिन्न क्यारे यासले’

म उनका कुरा सुनेर ट्वाल्ल परेँ। मलाई बेकारमा भने भन्ने लाग्यो।

उनले अझ थपिन्ः ‘याँ बासेर त हेर दाजि, त्यो तापाईँ भान्छा नि हिमाल, पाखा, लेख, बेँसी, मिदिम खोला, तेल्ले तापाईँलाई नै खाइ हाल्छा। आहिले ता तपाईँलाई क्या छा र? खोल्टी भोरी पैसा छा। एक रात बास्नु छा। आँखा मोरो ता रामाइ हाल्छा नि’

म खल्तीमा पैसा बोकेर एकदिन हिमाल हेर्दाको आनन्दको बयान गर्दै थिएँ। मलाई लाग्योः ‘हो त नि, यहाँ बाँच्न गर्नु पर्ने सङ्घर्षको मलाई के हेक्का?, यहाँ पनि सामन्त होलान्। घुसखोर कर्मचारीको राप होला। बहिष्करण होला। मान्छे व्यथा बोकेर बसेको होला। शिक्षाको प्रचुर ज्योति नपुगेको होला। के के होला के के ?’ म चुप लागेँ।

उनले मलाई पो एकाएक जिस्क्याइन्ः ‘आनि तपाईँ भुजुङ्मा काति दिन् बास्छ आरे?’
‘आज मात्रै’

‘थुक्का, दुईचार दिन ता बास्नू ना। भोलि गोठ सार्ना जान्छ, लेखको वानमा गाएर भाले बास्ने होइना ?
मैले जानी जानी सोधेँः ‘के हो भाले बास्ने भनेको?

उनी त हाँस्न थालिन्। उनका आँखामा हेरेँ। मलाई लाग्यो उनी मलाई यौन ऐलान गर्दै छिन्।

यसैबिच उनले भनिन्ः ‘कास्तो राइछ यो दाजि ? भाले बास्ना आउँदैना र?’

मैले भनेँः ‘आउँदैन’

उनले भनिन्ः ‘मो सिकाइ दिन्छा’

म साँच्चै धर्मसङ्कटमा परेँ। म आत्तिएँ। शरीरभरि चिटचिट पसिना आउन थाल्यो। मैले अब भने डराएरै भनेँ।

‘हुँदैन काइँली, यस्तो गर्नुहुन्न, तपाईँ विवाहिता हुनुहुन्छ, तपाईँका छोराछोरी छन्। तपाईँको संसार बिग्रन्छ। मेरो पनि आफ्नो सुरम्य संसार छ’
उनी त झन् अगाडि सरिन् र भन्न थालिन्ः ‘हो दाजि, मालाई था‘छा, मुन्छेले भेउ पायो भाने मेरो सांसार डुब्छा’

मैले अलि आडिलो भएर भनेँः ‘अनि, त्यसो भए किन तपाईँ मसँग ……. ?’

उनले त झन् अझै अघि सर्दै भनिन्ः ‘आइले कोसाइले थाहा पाउँदैन, रा पो ता’ ।

मलाई पनि अलि रिस उठिसकेको थियो। भनेँः ‘गाउँमा कोही छैनन् र म परदेशीलाई…..।’

‘गाउँमा त छा नि लाठेहोरु, लाहुर, कातार, काठमाडौँ, पोखारा, रा बेँसीसाहर पनि जाना नासाक्ने बेकारी मुर्दारहोरु। तार कुरा बुझन दाजि, यो गाउँका साबै मुन्छे, बुटो, बुट्यान, माटो, लेखबेँसी, र गाउँका साबै भित्ताहोरुले मोलाई चिन्छा क्या’

मैले बिचैमा रोकेर भनेः ‘चिनेर के भयो त ?’

उनी न रोकिइ फेरि भन्न थालिन्ः ‘कास्तो दाजि राइछा? चिन्यो भने मो बादनाम हुन्छ। मेरो लोक्ने, छोरो, छोरी, बाजे, बोजू, बाउ, आमा साबै मेरो बाइरी भै हाल्छ। मो ता साप्पै साकिन्छा दाजि, अनि मो काँ जाम् ? पासोमा मोरुँ?’

म चुप लागेँ । उनी भन्दै गइन्ः ‘मेरो लोक्ने मालाई माया गार्छा, पैसा पाठाउँछा। छोराछोरी छा, माया गार्छा। बाजे बोजू छा। आमाबाउ छा। सान्सारै छा नि दाजि। क्यान छाड्ने त्यो राम्रो सान्सार?’

‘अनि अहिले किन मलाई ?’

उनले आफ्नो टाटे लुङ्गी घुँडामाथि सारिन्। पहेँला तिघ्रा टलक्क टल्किए। तिघ्राभित्रका निला नसाहरु मनमोहक देखिए। सिनित्त भुत्लाहरु।
उनी मदहोस हुँदै गएकी थिइन्।

‘आनि क्या नि? आज ता तोपाईँलाई यी भित्ताहोरुले पानि चिन्दैना। हाप्ता दिन ता यो पालाङ र यो भुजुङ गाउँका कासैले चिन्दैना। तोपाईँ गोइ हाल्छा। डार छैना क्या दाजि’

यसोभन्दा उनको अनुहारमा रक्तिम आभा देखिन थालेको थियो।

मैले उनलाई सम्झाउने पारामा भनेः ‘हेर्नुस् काइँली, यस्तो गर्न हुन्न’

उनी झन् आक्रामक देखिइन्ः ‘के भान्छ यो दाजि? कास्तो हुतीहारा कुरा गार्छ?’

उनले अलिकति चोलोको तुनु खोलिन् र भनिन्ः ‘ए दाजि एता हेर् ता, यो मेरो बाँइस होइन? मो काँ जाऊँ? यो भुजुङ गाउँमा साप्पैले चिन्छा। मो क्या गारुँ’

‘लोग्नेलाई बोलाउने नि’ मैले जवाफ फर्काएँ।

मेरो कुरा सुनेर उनी त झन् नजिक आइन्। भन्न थालिन्ः

‘कास्तो नाबुझ्ने यो दाजि? यो भुजुङका बारीपाखाले पाल्छा? हाम्रा छोराछोरी पाढाउना पादैँन? हाम्रो त बालबैँस यातै कुइ्यो। पुर्पुरोको खाटन। गाउँका साबै हुनेखान्या मुन्छे काठमाडौँ, पोखारा झारिसाक्यो। लोक्नेलाई बेलाएर हामी साधैँ याइ भुजुङमा सिनु हुनु?’

‘लोग्नेको सतीत्वमा बस्नु पर्दैन?’ मैले नैतिकता सिकाउने प्रयास गरेँ।

‘उस्, क्या को सातीत्व ? ऊ मेरो सातीत्वमा बासेको छा र ?

याँ पानि ऊ गाउँ चाहारेर बास्थ्यो। मोइले केही भनेन। भान्न पाइन्छा र? लोक्ने मुन्छेले कानुन बानाउँछ, लोक्ने ठिक स्वास्नी बेठिक? ल भन्न साक्छ तोपाईँ ? नइतिकाता भान्छ नि तोपाईँले, सप्पै झुट हो। स्वाङ पार्छा यी लोक्ने मुन्छेहोरु। स्वास्नीमुन्छेलाई मात्र लाग्छा नियम ? लोक्ने मुन्छेमा लाग्दैना? लोक्ने मुन्छेले हुने। लु तोपाईँ भन् त?’

म सोच्दै थिएँ। यो कस्तो आपद् आइ लाग्यो। यो कस्तो झम्पाट बेहोर्नु पर्‍यो। म चुप लागेँ। म चुप लागेको देखेर उनले भनिन्ः ‘कुरो त म पानि बुझ्छा । तोपाईँ ता पाढेलेखेको जस्तो छा, लु भन् ता यो बाइँस हामी क्या गर्छा ? ना आइजा भान्यो आइहाल्छा मुर्दार ।’

म के भनूँ भनूँ भएको थिएँ । उनी लगातार भन्दै थिइन्ः ‘आज ता जासरी भानि’

र उनले आफ्ना लुगा खोेल्न थालिन् । उनी साँच्चिकै सर्लक्क शवेतकमलजस्तै देखिइन् । उनका श्वेत गोलाकार स्तनका मुन्टाहरु लाइट कफी कलरका गुलाबका कोपिलाजस्ता देखिए । उनी साँच्चै अप्सराजस्ती लागिन् मलाई ।

एकमनले सोचेँः ‘एक पत्नीव्रतको पनि केही काम छैन । एक पत्नीव्रतमा छु भन्ने साथीहरुले महिना दिन पनि नपुगेका आफ्नी सुत्केरी श्रीमतीलाई रगतपच्छे पारेको पनि मलाई थाहा छ । बाहिर भौँतारिने पनि साथी छन् । श्रीमतीको इच्छा र स्वास्थ्यको पनि ख्याल गर्छन् । खोइ को राम्रो को न राम्रो ?’

उनी वासनाको चरमोत्कर्षतिर जाँदै थिइन् ।

मैले फेरि सोच्न थालेँः ‘हाम्रा हिन्दुका ‘आइडल’ मानिएका ऋषिहरु पनि परस्त्रीगामी त हुन् नि, उनीहरु कहिल्यै बिटुला नहुने अनि हामी चैँ ?’

अर्धरुपमा नाङ्गी उनी भन्न थालिन्ः ‘मोलाई तोपाईँको क्याइ चाइन्ना । सम्पात्ति, सान्तान क्याइ काम छैन मोलाई । छिटो, दाजि । मो आब चुप बास्दैना’

मचैँ फेरि सोच्न थालेँः ‘हो त नि यो सात डाँडापारि आएको छु, कसैले थाहा पाउन्न । फेरि यो उन्मत्त बैँसको पनि के काम ? यो मौका हो । मेरा जीवनका यौनिक उत्तेजनाहरु लाखौँपल्ट ‘युजलेस’ भएका छन् । म शनैशनै पग्लिन थालेँ ।

‘ए दाजि, क्यान छिटो गार्दैना ?’ उनी अधैर्य भइसकेकी थिइन् ।

म भने आफूलाई मनोवैज्ञानिक रुपले तयार गर्दै थिएँः ‘कम्मल ओडेर घिउ खान्छन् यी सभ्य भनाइने मान्छेहरु। बाहिर सभ्य देखिन्छन् भित्र कुरुप । अस्ति मात्र धर्म सिकाउने गुरूजीले आफैँसँग सत्सङ गर्न आएकी बालिकालाई करणी गरे । मेरै हाकिम पनि आफ्नै कार्यालयकी परिचारिकालाई नियुक्ति गर्दा करणी काण्डमा परेर भागी यहाँ सरूवा भई आएकै हुन् । मन्त्रीले त तरूनी लिएर भागेको अस्तिजस्तै लाग्छ । म मात्र के र ? कसैले थाहा पाउने होइन । जे जे पर्ला पर्ला ।

‘ए दाजि, छिटो गार्ने कि, अाँठ्याऊँ’ उनले मलाई च्याप्प समाइन् । उनी भोको सिंहिनीजस्तै गर्जन थालेकी थिइन् । मैले उनको हात छुटाउन बल गरेँ । भिरपाखा गरेकी बलिस्ठ काइँलीको हात मैले फुकाल्न सकिनँ । कलम चोबेर खाएका यी पिलन्धरे हातहरु, यी लुते औँलाहरु काइँलीका दर्बिला पक्र्याइले खुत्रुक्कै भए ।

मैले आफूले पढेका भौतिकवाददेखि हिन्दुका वेद, इस्लामका कुरान र येसुका बाइबल सम्झने प्रयास गरेँ । कहीँ कतै काइँलीको समस्याको समाधान थिएन । फ्रायडले कारण र परिणाम बताएका थिए तर सोल्युसन थिएन ।

म उसको समस्यामा घनिभूत सोच्न थालेँ । उनको बैँसको उन्मत्तताको आदर्श समाधान के ?, के उनले गुम्सिनै पर्ने ? गरिबीमा पिल्सिएका अभिशप्त बिदेसिएका नेपालीहरुको जोई पोइको यौन अधिकार के ? यो गरिबीको नियतिको समाधान के ?, सहरले सुन्दर गाउँ भनेको भुजुङका गाउँलेको भोगाइको पीडा के ? यो कसले सुन्ने ?

म उनीसँग विषय गम्भीरतामा शनैशनै पराजित हुँदै थिएँ । मेरा कुनै ज्ञानका पोथीले काइँलीका अभिशप्त नियतिको समाधान निकालेनन् । मेरा तर्कलाई, मेरो नैतिकतालाई स्थापित गर्न सकिरहेका थिएनन् । म पग्लन थालेँ । उनको सिद्धान्तले जित्यो । यौन प्राकृतिक कुरा हो । प्राकृतिक आवश्यकता हो । प्राकृतिक सिद्धान्त हो । यी मान्छे किन अप्राकृतिक कानुन बनाउँछन् ? स्वार्थै स्वार्थले भरिएको एकलकाँटे नियम लाद्छन् ?, किन ? किन ?? र एकलासमा नियमको उलङ्घन गर्दछन् ।

उनले मलाई भन्न थालिन्ः ‘आइले मोइले कारायो भने, तोपाईँको क्या हुन्छा ? था‘छा ?’

म तयार भएँ । उनको शरीर मखमली कपडाजस्तो नरम थियो । उनको जिब्रो रसिलो थियो।  उनका गालाबाट रगत चुहिएलाजस्तो थियो । स्तन हुङ्कार गरिरहेका थिए । म कामदेव भएको थिएँ।

उनी मसँग जुको टाँसिए झैँ टाँसिने उपक्रममा थिइन्। हामी टु इन वन हुँदै थियौं। हामी समाधि उन्मुख हुँदै थियौँ । हामी हराउँदै थियौँ र हामीले बिर्सेका थियौँ कि योभन्दा पर पनि हाम्रो संसार छ ।

यत्तिकैमा बाहिर कोही कराएजस्तो लाग्यो । काइँलीकी बोजू रहिछन् ।
बोजू उनकै घरबाट कराइन्ः

‘ए काइँली, काता गायो हो ता नि, रातै पारि साक्यो’

टाटे लुङ्गी बेर्दै उनी कुदिन् । उनी बिस्तारै भन्दै थिइन्ः भोलि एकदिन ता बास्नू ना’
र कराएर बोजूलाई भन्दै पनि थिइन्ः

‘ताल्लाघारे भौजूकोमा हो बोजू । आयो, आयो’

०००००

म फर्कनका लागि भुजुङमै खटारा ल्यान्डरोभर कुरिरहेको थिएँ । उनी गोठ सार्न त्यही बाटो आइन् । हिजो रातिकै टाटे लुङ्गी लगाएकी थिइन् । थुन्से बोकेकी थिइन् । पाखी ओडेकी थिइन् । हिजोझैँ हाँस्तै थिइन् । हिजोझेँ चम्केकी थिइन् ।

तर मैले उनलाई बिहानको उज्यालोमा नियालेर हेरेँ । उनको शरीरको कुनै भाग उदास लाग्यो, विदीर्ण लाग्यो । अर्जी गरेझैँ लाग्यो । नियतिले उत्पीडित भएझैँ लाग्यो । सायद भनिरहेको थियो होलाः ‘ममाथिको यो अन्याय किन ?’

उनी म नजिकै आइन् र लगभग कानैमा भनिन्ः ‘आर्कोपाल्टा हाप्ता दिन बास्ने गारी आउनू है !’ उनले अन्तिम विदाइका दुबै हात हल्लाइ रहेकी थिइन् । परपरसम्म मिदिम खोला सुुसाएको सुनिन्थ्यो । गुम्सिएर सुसाइ रहेको थियो । अनवरत सुसेली रहेको सुनिन्थ्यो । अतृप्त सुसेली रहेको सुनिन्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *