डाँडा र चौतारा सुनसान : हराउँदै लिंगे पिङ

डिसी नेपाल
३ कार्तिक २०८० ७:१८
100
Shares

बागलुङ। केही वर्ष अगाडिसम्म दशैं नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिंगे पिङ देखिन्थे।

बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे। पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो। वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो। दशैं सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे।

तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन्। अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ। कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन्।

गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन्। दशैंको मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैंको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ।

बडिगाड गाउँपालिका-४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिंगे पिङ बनाउनेप्रति चासो घटेको बताए। वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताए।

मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिंगे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउँछन्। पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उनको भनाइ छ।

थापाले दशैं आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिंगा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा संकटमा परेको बताए।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उनले भने, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिंगे पिङ त देख्न पनि छोडियो, पाँच/छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन्।”

गलकोटन नगरपालिका-३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका संगीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताए। दशैंका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उनको भनाइ छ।

पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउँछन्। आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाए। पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उनको भनाइ छ।

“दशैं आयो, तर पिङ बिनाको दशैं त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच/छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उनले भने।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताए। अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उनको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *